खाली चौरमा मन्त्रीको भाषण प्रकरण: आयोजकलाई सोधियो स्पष्टीकरण – Nepal Press

खाली चौरमा मन्त्रीको भाषण प्रकरण: आयोजकलाई सोधियो स्पष्टीकरण

पोखरा । गत पुस १३ गते कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा खाली चौरमा भाषण गरेको विषयमा गण्डकी प्रदेश खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समिति कास्कीलाई स्पष्टीकरण सोधेको छ ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन सत्रमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले खाली चौरमा भाषण गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त विषयमा मन्त्री सिम्खडाको अध्यक्षतामा रहेको गण्डकी प्रदेश खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समिति कास्कीलाई स्पष्टीकरण सोधेको हो । जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख तोरण बानियाँले माघ १० मा प्रदेश खेलकुद परिषद्को स्पष्टीकरण पत्र प्राप्त गरेको जानकारी दिए ।

परिषद्ले कास्की र स्याङ्जाका जिल्ला खेलकुद विकास समितिलाई स्पष्टीकरण सोधेको हो । ‘उद्घाटन सत्रमा प्रमुख अतिथि नै बोल्नु अगाडि नै मार्च पासमा रहेका खेलाडीहरू त्यहाँबाट पठाइयो भन्ने विषयमा स्पष्टीकरण सोधिएको छ’, खेलकुद विकास समिति कास्कीका प्रमुख बानियाँले भने ।

खेलको प्राविधिक समितिले तोकेको समयअनुसार खेलाडीहरू खेल खेल्न गएको प्रमुख बानियाँले सुनाए ।

‘खेलाडीलाई हामीले पठाएको होइन । प्राविधिक समितिले तोकेको समयअनुसार खेलाडी आफैं गएका हुन् । भलिबल, कबड्डीदेखि धेरै खेलको मैदान छुट्टै छ । हामीले त्यति याद पनि गरेनौं । खेलाडीहरू प्राविधिकले भनेअनुसार खेल मैदानमा पुगे’, उनले भने ।

उक्त उद्घाटन सत्रमा आसन ग्रहणको मर्यादा क्रम नमिलाएको विषयमा समेत परिषद्ले स्पष्टीकरण सोधेको छ । प्रदेश खेलकुद परिषद्का पदाधिकारीलाई भन्दा पहिला राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई किन छिटो आसन ग्रहण गराएको भनेर सोधिएको छ’, बानियाले भने, ‘हामी नै अन्योलमा छौं । पहिला कसलाई आसन ग्रहण गराउने भनेर ।’

परिषद्ले सोही विषयमा छानबिन गर्न समितिसमेत गठन गरेको छ । प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा परिषद्का सदस्य केशव पाठक र शुभ कन्या गुरुङ छन् । उनीहरूलाई १ महिनाको समय दिइएको परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

‘राष्ट्रपति रनिङशिल्डमा देखिएका कमीकमजोरीलाई सुधार गर्न र राम्रो गर्ने जिल्लालाई पुरस्कृत गर्ने निर्णय परिषद्को बैठकले गरेको छ । सोहीअनुसार छानबिन समिति गठन गरिएको हो’, शर्माले भने ।

मर्यादा क्रम नमिलाउने र असम्बन्धित व्यक्तिलाई बोलाएर वक्ता बनाउने विषयमा दुई जिल्ला खेलकुद विकास समितिलाई स्पष्टीकरण सोधिएको परिषद्का सदस्य सचिव शर्माले बताए ।

उनले भने, ‘कार्यक्रम लामो नराख्ने, प्रमुख अतिथि नबोली खेलाडी निस्किए । तालमेल भएन । अलिकति शोभा रहेन । मर्यादा क्रम नमिलाउने, असम्बन्धित व्यक्तिलाई बोलाएर वक्ता बनाउने विषयमा सोधिएको हो ।’

खाली चौरमा भाषण गरेको फोटो भाइरल भएपछि मन्त्री सिम्खडाकै निर्देशनमा परिषद्ले स्पष्टीकरण सोधेको हो । परिषद्का सदस्य सचिव शर्मा मन्त्री सिम्खडाको निर्देशनमा मात्रै स्पष्टीकरण नसोधिएको जिकिर गरे ।

उनले भने, ‘त्यस्तै होइन । एउटा जिल्लामा होइन । धेरै जिल्लामा मर्यादा क्रम मिलाइएको छैन । कमजोरीलाई सुधार गर्ने र उत्कृष्टलाई पुरस्कृत गर्ने हाम्रो उद्देश्य हो ।’

याे पनि पढ्नुस् : फुटबल मैदानमा मन्त्रीको भाषण सुन्ने कोही थिएनन्, फोटो खिच्ने श्रीमान् मात्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *