डोटीमा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता, प्रसूति सेवा दिन नसक्नुमा जनसंख्यालाई दोष – Nepal Press

डोटीमा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता, प्रसूति सेवा दिन नसक्नुमा जनसंख्यालाई दोष

डोटी । डोटीको बडीकेदार गाउँपालिका–५ की रमिता घर्तिमगरलाई पुष ११ गते बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । स्वास्थ्य संस्था नजिक नहुँदा उनी घरमै छटपटाइरहिन् । मध्यरातमा उनले छोरा जन्मिइन् । बल्ल उनी र परिवारका सदस्यहरुले लामो श्वास फेरे ।

यसरी आफ्नो ज्यान जोखिममा राखेर घरमै बच्चा जन्माउने रमिता एक्ली भने होइनन् । ‘साउनयता ६ जनाले घरमै बच्चा जन्माएका छन्’, महिला स्वास्थ्य स्वयंसेविका भावना मगर भन्छिन्, ‘म स्वयंसेविका भएको आठ वर्ष भयो, यस अवधिमा एक जनाले मात्रै स्वास्थ्य संस्थामा गएर बच्चा पाएका छन् ।’

स्वास्थ्य संस्थामा जाउँ भन्दा टाढा भएकोले नजाने भन्दै घरमै बच्चा पाउने गरेको भावनाको भनाइ छ ।

बोगटान फुड्सिल गाउँपालिकाले वडा नं. १ को सेउडेखेतमा स्थापना गरेको सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटनका कार्यक्रममा भेटिएका महिलाहरुले स्वास्थ्य ईकाईबाट प्रसुति सेवा पनि सञ्चालन हुनु पर्ने माग गरे ।

‘सामान्य टाउको दुख्दा समेत हामीले चार घण्टा पैदल हिडेर स्वास्थ्य संस्था जानुपर्ने बाध्यता थियो’, बडीकेदार–५ केदारमाण्डौंकी निसा पुनमगर भन्छिन्, ‘यो स्वास्थ्य ईकाई स्थापना भएपछि सामान्य स्वास्थ्य सेवाबाट त राहत हुने भयो, तर प्रसुति सेवा पनि सञ्चालन हुनु जरुरी छ’, उनले थपिन्, ‘रात बिरात व्यथाँ लाग्यो भने जङ्गलको बाटो पैदल हिडेर जानु पर्छ, त्यति टाढा कसरी लैजानु !’

दुई वर्ष पहिले स्थानीय देवीसरा घर्तिमगरले स्वास्थ्य संस्था जाने क्रममा बाटोमै बच्चा जन्माएको सम्झिन्छन् तुलक्षा घर्तिमगर । ‘सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चा जन्मियो, बाटोबाटै फर्काएर घर ल्याउनु पर्यो’, तुलक्षा भन्छिन्, ‘घरमै सुत्केरी हुनु यहाँका महिलाहरुको बाध्यता हो ।’

उनी यो स्वास्थ्य ईकाईबाट प्रसुति सेवा सञ्चालन हुन सके मात्रै महिलाहरुप्रति न्याय हुने बताउँछिन् । उनी थप्छिन्, ‘केही नहुनु भन्दा आधारभूत स्वास्थ्य सेवा पाउने गरी सामुदायिक स्वास्थ्य ईकाई स्थापना हुनु पनि हाम्रा लागि धेरै ठूलो कुरा हो, तर प्रसुति गृह अझ महत्वपूर्ण छ ।’

आफुहरु बडीकेदार गाउँपालिकाबासी भएपनि स्वास्थ्य सेवा लिनका लागि यो स्वास्थ्य ईकाई नजिक पर्ने वताउँछिन् स्थानीय चन्द्रादेवी घर्तिमगर । उनी पनि प्रसुति सेवा छिटो सञ्चालन हुनु पर्ने बताउँछिन् । उनी भन्छिन्, ‘बच्चा जन्माउनु आफैमा जोखिम हो, त्यसैमाथि असुरक्षित तरिकाले घरमै बच्चा जन्माउनु त झनै गारो हुन्छ ।’ घरमै सुत्केरी हुँदा हालसम्म त्यसो अप्रिय घटना नहुनुमा भगवानको कृपा ठान्छिन् चन्द्रादेवी ।

प्रसुति गृह स्थापनाका लागि आफुले पटक पटक कुरा उठाएको तर जनसंख्या थोरै भएको कारण देखाउँदै यहाँ प्रसुति गृह सञ्चालन गर्न नसकिने भनी जवाफ आउने गरेको बताउँछिन् महिला स्वास्थ्य स्वयंसेविका भावना ।

यो सामुदायिक स्वास्थ्य ईकाई बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको सिमानामा पर्ने भएका कारण दुवै पालिकाका बासिन्दाले सेवा प्राप्त गर्ने बताउँछन् बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलवहादुर गड्सिला । ‘प्रसुति सेवा सञ्चालन गर्नु पर्ने माग आएको छ, दुर्गम क्षेत्रका महिलाहरुका लागि अति आवश्यक पनि हो’, अध्यक्ष गड्सिलाले भने, ‘हामी बडीकेदार गाउँपालिकासंग समन्वय र सहकार्य गरेर यस विषयमा निर्णय गर्छौं ।’

शिक्षा र स्वास्थ्य जनताको पहिलो अधिकार भएकाले यसका लागि तीनै तहका सरकारहरुले सहकार्य गर्नु पर्ने अध्यक्ष गड्सिला वताउँछन् ।

सामुदायिक स्वास्थ्य ईकाई स्थापना भईसकेपछि बडीकेदार गाउँपालिका–५ का ५३ र बोगटान फुड्सिल गाउँपालिका–१ का ५९ गरी ११२ जनाले शुलभ तरिकाले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने बोगटान फुड्सिल गाउँपालिका–१ का वडाध्यक्ष खेमवहादुर घर्तिमगरले वताए ।

‘दुई पालिकाको सिमानामा भएका कारण हामीले स्वास्थ्य ईकाईको उदघाटन कार्यक्रममा बडीकेदार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा नं. ५ वडाध्यक्षलाई पत्रचार गरी आमन्त्रण गरेका थियौं’ वडाध्यक्ष घर्तिमगरले भने ‘कार्य व्यस्तता भएर होला, उहाँहरु आउनु भएन ।’

दुवै पालिकाको सिमानामा भएका कारण यस स्वास्थ्य ईकाईबाट प्रदान हुने सेवा नियमित र बिस्तार गर्नमा बडीकेदार गाउँपालिकाको पनि उत्तिकै जिम्मेवारी रहेको घर्तिमगर बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *