‘गीतमा पनि कमेडी, थ्रिल, सुखदुःख सबै कुरा मिसाउँदा एउटा प्याकेज बन्दोरहेछ’ (भिडिओ) – Nepal Press

‘गीतमा पनि कमेडी, थ्रिल, सुखदुःख सबै कुरा मिसाउँदा एउटा प्याकेज बन्दोरहेछ’ (भिडिओ)

काठमाडौं । गायक, नायक तथा रचनाकार यशकुमारले पछिल्लो समय ‘तिमी छौ र त मेरो अर्थ छ’ बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक गरे । गीतमा स्वर, शब्द र संगीत यशकुमारको आफ्नै छ । भिडिओको कथा, पटकथा, संवाद र कन्सेप्ट पनि यशकुमार स्वयंकै छ ।

भिडिओमार्फत् उनले जात व्यवस्थाले प्रेममा पुर्याएको अप्ठ्यारालाई प्रस्तुत गरेका छन् । २०५८ सालमा ‘मैले छोएको पानी चल्दैन’ बोलको गीतबाट जातीय विभेदविरुद्ध आफ्नो आवाज मुखरित गरेका उनले जातीय विभेदका कारण परिवार, प्रेम र समाजमा निम्तिने समस्याहरुलाई पर्दामार्फत उतार्दै आएका छन् ।

यसपटक भने जात व्यवस्थाले सृजना तल्लो र माथिल्लो जातबीचको विभेद भन्दा पनि अथित् उच्चजीय वर्गमा पनि जातीय अहंकार छ भनेर देखाउन खोजेका छन् । ४ मिनेटको गीतलाई १८ मिनेट लामो भिडियो बनाएर उनले चलचित्र झैं कथालाई प्रस्तुत गरेका छन् ।  यसै गीतमा केन्द्रित भए उनै गायक एवं सर्जक यशकुमारसँग नेपाल प्रेसले गरेको कुराकानी-

– अहिले गीत र भिडिओ किन लामो हुन थालेको हो ? के गीतबाटै सन्देश भन्न मिल्दैन ?

खासमा यति लामो बनाउँछु भन्ने नै थिएन । तर, कथा प्रष्ट्याउन त्यति समयले पुगेन । त्यसैले तन्काउनु पर्‍यो । त्यही भएर पनि हामीले यसलाई गीति चलचित्र भनेका छौं । मतलब यो दुई घण्टाको चलचित्र होइन । तर, चलचित्र जस्तै हो । जसको लागि दुई घण्टा समय खेर फाल्न परेन । १८ मिनेटमै तपाईंले चलचित्रको मज्जा लिन सक्नुहुन्छ । अहिले मान्छेसँग समय पनि छैन । दुई घण्टा खर्च गर्नुभन्दा १८ मिनेटमै एउटा सन्देशमूलक कथा प्रस्तुत गरौं भन्ने मेरो मनसाय हो ।

– गीतका शब्दभन्दा लामा लामा डाइलग भएका भिडिओ छ । ती सबैलाई अभिनयमार्फतै देखाउन सकिँदैन थियो र ?

गीतमात्र ४ मिनेटको छ । त्यो चार मिनेटमा सबै कुरा देखाउन सम्भव नै भएन । चलचित्रजस्तै गीतमा पनि कमेडी, थ्रिल, सुखदुःख सबै कुरा मिसाउँदा एउटा प्याकेज बन्दोरहेछ । त्यसरी मिसाउँदै गर्दा भिडिओ लामो बन्यो ।

– अनु थापालाई फेरि दोहोर्‍याउनुको कारण ?

उहाँको काम, अभिनय र अनुहारका कारण । मेरो कथाको मागले उहाँँ दोहोरिनु भएको हो । भिडिओले मंगोलियन फेस माग्छ, जुन उहाँको छ । हाम्रो जोडी पहिला पनि बाधिँएकाले गर्दा फेरि उहाँ नै दोहारिनु भएको हो भन्ने धेरैलाई लाग्ला । तर, होइन । खासमा हाम्रो मार्केट पनि त्यस्तै छ । यहाँ कुन अनुहार वा जोडी चलेको छ भनेर खोज्ने चलन छ ।

तर, यस विषयमा मेरो धारणा केही भिन्न छ । दर्शकले जोडी मन पराएर त्यही जोडी पुनः दोहोरिनु स्वाभाविक हो । तर, मलाई के लाग्छ भने जोडीले कथावस्तु खोज्ने होइन, कथावस्तुले जोडी खोज्ने हो । कथामा को म्याच गर्छ, को पोख्त छ, कसले गीत र भिडिओलाई न्याय दिन्छ, उसलाई राख्नुपर्छ ।

– आगामी आउने गीतहरुमा फेरि अनुजी नै दोहोरिने सम्भावना कति छ ?

एकदमै कम छ । तर, कुनै कथावस्तुले फेरि पनि अनुजी नै माग्छ भने उहाँ दोहोरिन सक्नुहुन्छ । एउटा कुरा के प्रष्ट्याउन चाहन्छु भने यशकुमारले अब सबै भिडिओमा अनु नै राख्छ भन्ने धारणा चाहिँ विल्कुलै गलत हो ।

– १० लाख भ्युजमै खुशी साटासाट कार्यक्रम राख्नुभएको थियो । खासमा सफलताको मापन कसरी गर्ने ?

भ्युजमा भर पर्छ । भ्युज कतिको अर्गानिक हो, आएका लाइक्स र कमेन्ट्सबाट थाहा हुन्छ । दर्शकको मायालाई जोख्ने तराजु छैन । तर, मासले जुन कुरालाई बढी स्वीकार्छ, त्यसैलाई हामीले पनि स्वीकार्ने हो । त्यसरी नै मापन गर्ने हो ।  पहिला क्यासेटको जमाना थियो । क्यासेटको अर्डर हेरेर यति सफल भयो भनेर मापन गरिन्थ्यो ।

अहिले भ्युज नै हो । भन्नेले अब यति छिटो खुशी किन सोटेको वा १ करोडसम्म पर्खेको भए हुन्थ्यो भन्नुहोला । तर, यो गीत करोडमा छिरिसक्यो भन्दा हुन्छ । १०० ले हजार पुर्‍याउँछ, हजारले एक लाख, लाखले १० लाख र १० लाखले करोड । गीतमा जुन १० लाख भ्युज आएको छ, त्यो मेरो लागि करोडभन्दा माथि छ । भ्युजमा करोड पुग्नैपर्छ भन्ने छैन । यो भनेको मेरो सिर्जनाले माया पायो है भन्ने खुशी हो ।

– भिडिओमा देखाइए जस्तो निःस्वार्थ प्रेम अहिलेको समय र व्यक्तिमा सम्भव छ कि छैन ?

सम्भव होस् भनेर देखाएको हो । सम्भव हुन्छ जस्तो लाग्छ पनि । जसले मायालाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ, उहाँहरुमा निःस्वार्थ प्रेम सम्भव छ । माया भनेको दौडिन सक्दा वा पूर्ण रूपमा सबै कुरामा सक्षम हुँदा मात्रै गरिने कुरा होइन । एक-अर्काको दुःखमा सँगै उभिन सक्नु माया हो । अप्ठेरो पर्दा वा बेसहारा हुँदा सहारा बन्न सक्नु माया हो ।

– एउटा कथा दिमागमा बन्न तपाईंलाई कति समय लाग्छ ? कस्तो बेला दिमागमा गीत र कन्सेप्टको सिर्जना हुन्छ ?

यो कथा पहिल्यै फिक्स थियो । ‘सुस्तरी’को बेलामै मैले अनुजीसँग यो प्रोजेक्टबारे सल्लाह गरिसकेको थिएँ । तर, अडियो तयार थिएन । जब मलाई कुनै विषयले छुन्छ, तब मेरो दिमागमा कन्सेप्टको सिर्जना हुन्छ । संस्कृतिमा लिम्बूहरुको संस्कृति एकदमै धनी छ । उहाँहरुको संस्कृतिलाई पर्दामार्फत देखाउने प्रयास धेरैले गर्नुभएको छ ।

तर, दुई वटा बहुमूल्य संस्कृतिहरु एकअर्कामा जुध्दाखेरि बीचको माया कसरी सकिन्छ भन्ने कुरालाई मैले देखाउन खोजेको हो । यसको लागि म अरु जातिको कथा पनि उठाउन सक्थें । तर, गीतमा पाथीभरा जोडिएको छ । पाथीभरासँग हामी सबैको आस्था छ । तर, लिम्बू समुदायको अझ ठूलो आस्था छ । त्यही भएर यो कन्सेप्ट मेरो दिमागमा आएको हो ।

– लिम्बू संस्कृतिबारे बुझ्न तपाईंले के के गर्नुभयो ?

गाह्रै थियो । लिम्बू संस्कृतिबारे बुझ्न म उहाँहरुसँग बसें । उहाँहरुको विज्ञहरुसँग बसें । मुन्धुमबारे ज्ञान भएको व्यक्तित्वहरुसँग बसेर सल्लाह गरें । तबमात्र यो भिडिओ बनेको हो । यो म एक जनाले मात्र गर्नसक्ने कुरै होइन । धर्म अनि संस्कृतिको विषयमा बुझ्दै नबुझी म एक जनामात्रै बसेर केही गर्न पनि मिल्दैन । त्यही भएर समय लाग्यो कन्सेप्ट र भिडिओ बन्न ।

– भिडिओ बन्न कति दिन र लगानी लाग्यो ?

ठ्याक्कै ९ दिन । (हाँस्दै) राम्रै खर्च लाग्यो । ७ लाख भेट्यो ।

– अधिकतमले आफ्नो कुनै न कुनै प्रोजेक्टमा जातीय विभेद झल्कने कन्सेप्ट प्रस्तुत गर्नुको कारण के हो ?

अरुको मलाई थाहा भएन । तर, मैले भने यो पहिलेदेखि नै गर्दै आएको कुरा हो । विभेद कहाँबाट सुरु भएको छ, कहाँसम्म छ र कताकता छ भन्ने कुरा महत्वपूर्ण छ । पहिला पहिला एउटै समुदायको मात्र विभेद देखाइन्थ्यो । अहिले देशभरि छरिएर रहनुभएकाहरुको समस्या देखाइन्छ । जुनसुकै जात र धर्मको भए पनि त्यो कुराले समस्या निम्त्याउँछ भने देखाउने हो ।

– भिडिओमा एउटा जातले अर्को जातलाई प्रयोग गरको शब्द अपाच्य छ जस्तो लाग्दैन ?

विवादित संवाद राखेको वा भिडिओलाई विवादित बनाउन खोजेको हैन । न अपाच्य बनाउन नै खोजेको हो । ती संवादहरु नै त्यहाँको मौलिकता हो । अहिले हलिउड, बलिउडदेखि लिएर सबै तहका दर्शकले मौलिक कुराहरु खोजिरहेका छन् । भिडिओमा प्रयोग भएका भाषाहरु राखिएन भने हाम्रो लिम्बू संस्कार नै झल्कँदैन । भिडिओबाट सुंगुर, तोङ्बा र डाइलगहरु सबै हटाइयो भने उहाँरुको मौलिकता र संस्कारसँग कसरी नजिक हुने ? मंगोलियनदेखि बाहिरको संस्कारबाट हेर्दा त्यो अपाच्य लाग्छ । तर, राई, लिम्बूहरुको संस्कृतिमा यो सामान्य कुरा हो । चिया, कफी खाए जस्तै हो ।

– यस्ता खालका गीतले जातजातिबीच झन् फाटो ल्याउने हो कि ?

जसले बुझ्नुभएको छ, उहाँहरुले यो विवाद बनाउने कुरा होइन भन्ने बुझिहाल्नु हुन्छ । जसले बुझ्नुहुन्न, उहाँहरुलाई भने यो अनौठो र अपाच्य लाग्नसक्छ । म तराईमा जन्मे हुर्केको मान्छे । मेरो राई, लिम्बू साथीभाइहरुसँग संगत छ । उहाँहरुले कसरी बोल्नुहुन्छ भन्ने मलाई थाहा छ । त्यसैले मलाई यो कुराहरु खासै अनौठो लाग्दैन । भिडिओमा आएका कमेन्ट्सहरु नै हेर्नुहोस् न ! जजसले भोग्नुभएको छ र थाहा छ उहाँहरुले खुलेर तारिफ गर्नुभएको छ । विरोध कसैले गर्नुभएको छैन ।

– भिडिओ र गीतको भाव मिले जस्तो लाग्छ त ?

देखाउन लिम्बू भाषीकै पालमहरु राख्न मैले सक्दिनँ । उहाँहरुकै सबै संस्कृति भिडिओमा ढाल्न अझै धेरै अध्ययन गर्नुपर्छ । त्यही भएर आधुनिक गीतबाटै कथा पस्किएँ ।

– ब्याक टु ब्याक प्रकाश सपूत र तपाईंका गीतहरु आइरहेका छन् । के तपाईंहरुबीच प्रतिस्पर्धा चलिरहेको हो ?

त्यस्तो केही हैन । प्रकाश सपूतजीको आफ्नै तरिकाको सिर्जना छ । उहाँले लोक संगीतलाई अगाडि बढाउने काम गरिरहनु भएको छ भने मैले आधुनिकलाई अगाडि बढाउने काम गरिरहेको छु । हामी एउटै क्षेत्रमा रहेर दुई भिन्न प्याटर्नलाई ढकेल्ने काम गरिरहेका छौं । एकअर्कामा हाम्रो कुनै प्रतिस्पर्धा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर