बम्जनको बचाउमा पूर्वराज्यमन्त्री लामा भन्छिन्- भगवान जस्तो मान्छे मानव लोकमा आएर दुःख पाउनुभयो – Nepal Press
नेपाल टक

बम्जनको बचाउमा पूर्वराज्यमन्त्री लामा भन्छिन्- भगवान जस्तो मान्छे मानव लोकमा आएर दुःख पाउनुभयो

‘गुरुले एउटा कमिला पनि नमार्नु भनेर आज्ञा गर्नुभएको छ, जे पनि आरोप लगाउने ?’

काठमाडौं । तपस्वी रामबहादुर बम्जन पक्राउ परेको भोलिपल्ट बिहानै उनलाई भेट्न सीआईबी पुगेर विवादमा आइन् पूर्वराज्यमन्त्री यशोदा लामा । २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार राज्यमन्त्री थिइन् ।

विभिन्न जिल्लामा आश्रम चलाएर अनुयायीलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको जस्ता गम्भीर आरोप खेपिरहेका बम्जनको प्रतिरक्षामा उत्रिन लामालाई कुनै संकोच छैन । उनले बम्जनलाई आफूहरुको ‘आस्थाको धरोहर’ बताउँदै उनीबाट गलत कार्य हुनै नसक्ने जिकिर गरिन् ।

लामाका अनुसार बम्जनले बुद्ध धर्मभन्दा फरक मैत्री धर्मको विकास गरेका छन् । यो धर्मका विश्वभर ३५ लाख अनुयायी पुगेको समेत उनको दाबी छ । पूर्वराज्यमन्त्री यशेादा लामासँग गरिएको संक्षिप्त कुराकानीः

– बम्जन पक्राउ गरेको भोलिपल्टै सीआईबी पुग्नुभयो । प्रहरीलाई दबाब दिन जानुभएको हो कि बम्जनलाई भेट्न ?

उहाँ एउटा धर्मगुरु हो । हुन त अन्य धर्मका गुरुहरुलाई पनि अनेक आक्षेप लगाइएको हुन्छ । कोही ढोंगी धर्मगुरुहरुले बलात्कार गरे होलान् । तर, हाम्रा धर्मगुरुले त ६ वर्षसम्म निराहार, निर्जल भएर ध्यान बसेर ज्ञान प्राप्त गरेको व्यक्तिले बलात्कार गर्‍यो, बेपत्ता पार्‍यो भनेर जुन आरोप लगाइएको छ, त्यो हुनै सक्दैन । सत्यतथ्य बाहिर ल्याउनुपर्‍यो नि ! भएको भए त सूर्यलाई एकछिन पनि हत्केलाले छेकेर छेक्न सकिँदैन ।

– बम्जन पक्राउ पर्नु हुँदैनथ्यो भन्ने तपाईंको भनाइ हो ?

म मैत्री धर्म मान्छु । यो धर्मका प्रतिपादक उहाँ नै हो । हाम्रो आस्थाको धरोहर हो उहाँ । उहाँप्रति हामीलाई विश्वास छ । हामी विश्वस्त छौं । गुरुले त्यस्तो गर्न सक्नुभएको छैन । गुरुले विनाकारण एउटा पात पनि नटिप्नुस् भन्नुहुन्छ । त्यस्तो गुरुले मान्छे मार्नुभयो होला त ?

विश्वमा शान्ति फैलाउँछु भनेर हिँडेको गुरु, जात, धर्म, लिङ्ग पदको आधारमा विभेद नगर्नु भन्ने गुरुले त्यस्तो गर्न सक्नुहुन्न । उहाँ एउटा तामाङको कोखमा जन्मिनुभयो होला । तर, उहाँले तामाङ जातिको लागि मात्रै बोल्नुभएको छैन, विश्वको मानव जातिको कल्याण होस्, जगतका जुनसुकै प्राणीको मुक्ति होस् भनेर हिँड्नुभएको छ । उहाँको आशीर्वादले मोक्ष प्राप्त गर्छ । उहाँ भगवान जस्तो मान्छे यहाँ मानव लोकमा आएर दुःख पाउनुभएको छ । अनुसन्धानको नाममा धर्मगुरुलाई समातेर हत्कडी लगाउनु कुनै धर्ममाथिको प्रहार होइन त्यो ?

– तर, उहाँमाथि धेरै ठूला आरोपहरु लागेका छन् नि ?

यही धर्म र व्यक्ति भनेर अहिले भन्दिनँ । केही त्यस्ता तत्व, झुण्ड र समूहहरु छन्, जसको रोजीरोटी गुरुका कारणले बन्द हुन्छ । उनीहरुको दोकान बन्द हुने डरले सत्य कर्ममा हिँड्नुभएको गुरुमाथि आरोप लगाएका छन् । अहिले विश्वमा धेरै देशमा यो धर्मको प्रचार भइसकेको छ । नेपालमा ३० देखि ३५ लाखसम्म अनुयायी भइसकेका छन् । त्यही डरले गुरुमाथि आरोप लगाएर थन्काउने मेलोमात्रै हो । अरु केही पनि होइन ।

उहाँ एउटा जातको मात्रै धर्मगुरु होइन । विश्वभरिका जगत प्राणीको रक्षाको लागि हिँड्नुभएको छ । उहाँले धेरै अध्ययन गर्नुभएको छैन । दुई कक्षामात्रै पढ्नुभएको छ । तर, उहाँले सबै धर्मको सम्मान गर्नुहुन्छ । त्यसैले हाम्रो धर्मगुरु भएकाले हामी विश्वस्त छौं । मानवहरुलाई शान्ति गराएर सही बाटोमा लाग्छु भन्दा उहाँले यत्रो दुःख पाउनुभएको छ ।

आजसम्म कुनै धर्मको लिपि तयार पारिएको छैन । पहिला म पनि बुद्ध धर्मको अनुयायी थिएँ, अहिले यो धर्ममा छु । गुरुले मैत्री भाषा, मैत्री लिपि प्रतिपादन गर्नुभएको छ । उहाँमाथि जुन आरोप लगाइएको छ, ती सबै मिथ्या हुन् । धेरै देशहरुमा उहाँका अनुयायीहरु छन् । उनीहरु कुरै नबुझी लागेका होलान् त ? अरु कोही मान्छे भोकै बसेर देखाओस् न ! उहाँले ६ वर्षसम्म तपस्या गरेर ज्ञान प्राप्त गर्नुभएको हो । उहाँले एउटा कमिला पनि मार्न हुँदैन भनेर आज्ञा गर्नुभएको छ । आरोप लगाउँदैमा हुन्छ ? २०७३ सालमा बलात्कार गर्‍यो भनेर २०७७ मा आएर मुद्दा दायर गर्न मिल्छ ? त्यो बेलासम्म कहाँ गएकी थिई त्यो ?

त्यसैले प्रमाणसहित आउनुपर्छ । मेरो गुरु भनेर भनेको होइन । उहाँले एउटा कीरा पनि मार्नुहुन्न । विनाकारण एउटा पात पनि टिप्नुहुन्न । विधि र प्रक्रिया होला कारबाही गर्न, न्यायालय छन् । तर, जे मनलाग्यो यही आरोप लगाउन पाइँदैन । अनुसन्धानको विरोध गर्दैनौं । अदालत छ, कानून छ, न्यायालय छ । तर, तथ्यहीन कुरा गरेर मान्छेलाई भ्रममा पार्नु हुँदैन ।

निर्मला पन्तदेखि त्यत्रा बलात्कार गर्नेहरुलाई कारबाही गर्न किन नसकेको ? अनि धर्मगुरुमाथि प्रहार गर्ने ? यहाँका भ्रष्टहरुलाई छोड्ने, ज्ञान बाँड्ने गुरुलाई चाहिँ हत्कडी लगाउने ? त्यस्तो पनि हुन्छ ? यस्तो पनि कानूनी राज्य हो । अदालती प्रक्रियामा गइसकेपछि अनुसन्धान गर्नुपर्छ । तर, उहाँलाई समातिसकेपछि फेरि पुलिस घरमा किन गइरहेका छन् ? बच्चाहरुलाई दुःख दिन ? तिनीहरुलाई पनि कानून लाग्छ होला नि ! मानव अधिकारकर्मीहरु कहाँ गइरहेका छन् ? किन बाल्दैनन् ?

– सीआईबीले सार्वजनिक गर्नुअघि भेट गर्नुभएको थियो क्यारे, उहाँले के भन्नुभयो ?

म गएको थिएँ । हामी त्यहाँ बोल्न नसकेर मौन भएका होइनौं । त्यहाँ गुरुबाट आज्ञा भयो । उहाँलाई भेटेपछि मैले गुरु हामीले के गर्नुपर्‍यो भनेर सोधेको थिएँ । तर, उहाँले केही गर्नुपर्दैन भन्नुभयो । पहिला पनि भन्नुहुन्थ्यो, यो आरोप हो, समय आएपछि ठीक हुन्छ भनेर । उहाँ लुकेर हिँडेको होइन । ध्यानमा जानुभएको हो । अनेक हल्ला गरिए बाहिर ।

– उहाँलाई पक्राउ गरेसँगै ठूलो परिमाणमा पैसा बरामद भएको छ । तपस्वीसँग यत्रो पैसा कहाँबाट आयो ?

पशुपति होस् वा अन्य कुनै धार्मिक स्थलमा जानुस्, भगवानलाई भक्तजनले पैसा चढाउँछन् । आर्थिक अवस्थाले भ्याएसम्म दान पनि गर्छन् । त्यस्तै हामीले पनि दैनिक पूजापाठमा पैसा गुरुलाई अर्पण गर्छौं । ती अर्पण गरेको पैसा हुन् ।

नेपालको मात्रै कुरा गर्ने हो भने पनि ३० देखि ३५ लाख अनुयायी छन् । ३५ लाख अनुयायीले दिनको एकएक रुपैयाँ चढाए पनि कति हुन्छ ? तर, अहिलेको अवस्थामा कसैले एक रुपैयाँ मात्रै चढाउँदैन ।

– उहाँको घर पनि निकै आसिलान रहेछ नि ?

उहाँले घर पनि अनुयायीहरुले उठाएर दिएको पैसाले बनाएको हो । सरकारी जग्गा एक इन्च पनि हड्पेको छैन । सबैले आफ्नो विश्वासले दान गर्छन् । ती दानका पैसा हुन् । गुरुले कुनै धर्महरुको खण्डन नगर्नुस् भन्नुभएको छ- सबै धर्म एउटै हो, आफूअनुकूल मान्ने हो ।

– अब तपाईंहरु कसरी अगाडि बढ्नुहुन्छ ?

गुरुलाई जे आक्षेप लगाइएको छ, कानूनअनुसार नै जानुपर्छ । अनुसन्धान गर्नुपर्छ । गतल हो भने गलतलाई त कारबाही गर्नुपर्छ । मैले अघि पनि भनें, एउटा पात टिप्न हुँदैन भन्ने धर्मगुरुले कसैलाई बलात्कार गर्नसक्छ ?

हराइएको भनेका मान्छेहरु पनि यतै छन् । कोही पासपोर्ट लिएर विदेश उडेको प्रमाण हामीसँग छ । हामी नबोलेको मात्रै हो । गुरुले सत्य कुरालाई किन प्रचार गर्नुपर्‍यो भन्नुभएको छ । सत्यलाई लुकाउन पर्दैन । आफैं बाहिर आउँछ भन्नुभएको छ । उहाँलाई पक्राउ गरेपछि लाखौं भक्तहरु आउन तयार थिए । हामीले रोकेका हौं ।

मैले गुरुलाई भेट्दा उहाँले मलाई समात्यो भनेर बाहिर हड्ताल, झगडा गर्लान्, केही नगर्नु भन्नुभयो । यो कानूनले चलेको मुलुक हो, संसार चलाउन एउटा नियम हुन्छ, त्यहीअनुसार चल्नुपर्छ, हामी आक्रोशित हुनुहुँदैन भन्नुभएको छ । संयम भएर काम गर्नुस् । वकिल राखेर काम गर्नुस् । सत्यको जीत हुन्छ । केही नडराउनुस् भन्ने गुरुबाट आदेश भएपछि हामीले सबैलाई फर्काएका हौं । हामी निर्धो भएर मौन बसेका होइनौं । के बालकुमारी काण्ड दोहोर्‍याउन पर्ने हो त ? यिनीहरुले के खोजिरहेका छन् ? हामीले गर्न चाह्यौं भने ३० लाख मान्छेलाई थेग्न सक्छन् यिनीहरुले ? तर, हाम्रो त्यो सिद्धान्त होइन । गुरु भनेको शान्तिको प्रतीक हो । शान्ति फैलाउनुपर्छ । त्यसैले हामी संयम भएर संसार बचाउनुपर्छ भन्ने गुरुलाई यस्तो आरोप लगाउने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर