धितोपत्र बोर्ड अध्यक्ष बन्न दौडधुप सुरु, आकांक्षी भन्छन्- नेतालाई भन्दा बढी व्यापारीलाई रिझाउनुपर्ने रहेछ – Nepal Press

धितोपत्र बोर्ड अध्यक्ष बन्न दौडधुप सुरु, आकांक्षी भन्छन्- नेतालाई भन्दा बढी व्यापारीलाई रिझाउनुपर्ने रहेछ

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पद अहिले रिक्त छ । रमेशकुमार हमालको कार्यकाल पुस २० गते सकिएपछि सो पद रिक्त भएको हो । अहिले नयाँ अध्यक्ष बन्ने दौडमा आकांक्षीहरु उत्रिएका छन् ।

अध्यक्षको आवेदन कहिले खुल्छ भनेर चासोका साथ हेरिरहेका डा. गोपाल भट्ट आफूलाई बोर्डको आगामी अध्यक्षको दाबेदार भएको बताउँछन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका भट्टले धितोपत्रमै पीएचडी गरेकाले आफू एकमात्र सक्षम उम्मेदवार भएको दाबी गर्छन् । भट्टले यसअघि पनि आवेदन दिइसकेका छन् ।

आवेदन दिएकामध्ये अन्तिम ३ मा परेका भट्ट अन्ततः छनोट भएनन् । त्यतिबेला रमेश हमालले बाजी मारेका थिए । भट्ट कांग्रेस निकट मानिन्छन् । उनले यस विषयमा भने खुलाएका छैनन् ।

अर्का आकांक्षी निरज गिरी पनि आवेदन खुलेपछि भर्ने मनसायमा छन् । उनले यसअघि पनि तीन पटकसम्म आवेदन दिएका थिए । तर, छनोट भएनन । गिरीले यसपटक पनि आवेदन खुलेपछि भर्ने बताए ।

उनी भन्छन्, ‘छनोट गर्दैनन् । तर, आवेदन भर्न छोडिन्न ।’

यसअघि आवेदन दिएपछि उनी नेताहरुलाई भेट्दै हिँडेका थिए ।  उनी आफूलाई कोही निकट नभएको बताउँछन् । तर, गिरी कांग्रेस निकट मानिन्छन् । गिरी बोर्डबाटै कार्यकारी निर्देशकबाट अवकाश पाएका हुन् ।

यस्तै नेपाल स्टक एक्सचेन्जका पूर्व सीईओ चन्द्रसिंह साउद पनि आकांक्षीको लाइनमा उभिएका छन् । उनले आवेदन खुलेपछि मात्र आकांक्षी हुने नहुने निर्क्योल गर्ने भने पनि सेबोनको अध्यक्ष बन्न रुचि देखाएका छन् ।

बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंको नाम पनि सेबोनको अध्यक्षको आकांक्षीमा चर्चा छ । तर, यस विषयमा उनी खुल्न चाहेनन् । नेपाल राष्ट्र बैंकबाट रिटायर्ड भएर बीमा प्राधिकरणमा अध्यक्ष बनेका चापागाईं माओवादी निकट मानिन्छन् ।

तत्कालीन अध्यक्ष हमालको कार्यकाल सकिए पनि अर्को कार्यकाल दोहोर्‍याउने चर्चा चलेको थियो । तर, संघीय संसदको लेखा समितिले हमालको व्यक्तिगत सम्पत्तिलगायत उनको कार्यकालमा भए/गरेका विविध काम कारबाहीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

यसकारण पनि विवादित व्यक्तिलाई अध्यक्ष दोहोर्‍याउने सम्भावना न्यून देखिएको छ । तत्कालीन बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा अख्तियार दुरुपयोग गरी छोरीको नाममा शेयर नामसारी गरेका कारण बर्खास्तीमा परेपछि बाँकी कार्यकालको लागि २०७८ साल फागुन ५ गते नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा हमालले कार्यभार समालेका थिए । उनले २१ महिना काम गरे ।

तर, हमालले अझै अर्को कार्यकाल दोहोर्‍याउन पाउँ भन्दै सीधै प्रधानमन्त्रीलाई पत्र पठाएको स्रोतले बताएको छ । यद्यपि उनलाई दोहोर्‍याउने सम्भावना न्यून भएको स्रोत बताउँछ ।

धितोपत्र बोर्डकै मुक्ति श्रेष्ठ, पूर्वडेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिव श्रेष्ठलगायतको नाम पनि चर्चामा छ ।

आकांक्षी भन्छन्- नेतालाई भन्दा बढी व्यापारीलाई रिझाउनुपर्ने रहेछ

बोर्डको अध्यक्ष बन्न शैक्षिक योग्यतामात्र भए पुग्दैन । बोर्डको अध्यक्षका लागि आवेदन खुल्नुअघि नै उम्मेदवारहरुको दौडधुप सुरु हुन्छ । विशेषगरी आफू निकट नेतामार्फत लबिङ चलाउने प्रचलन नै छ ।

धितोपत्र बोर्डको अध्यक्षको लागि नेताभन्दा पनि व्यापारीलाई बढी रिझाउनुपर्ने एक आकांक्षी बताउँछन् । ती आकांक्षी भन्छन्, ‘अध्यक्ष बन्न पावर र पैसा दुबै चाहिँदो रहेछ । नेतालाई भन्दा व्यापारीलाई भेट्न बढी दौडधुप चलाउनुपर्छ ।’

बिजनेस ग्रुपले नेतालाई चलाउने गरेको आकांक्षीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर