खेत घट्दा पनि कसरी बढ्यो धानको उत्पादन ? – Nepal Press

खेत घट्दा पनि कसरी बढ्यो धानको उत्पादन ?

काठमाडौं । चालू आर्थिक वर्षको धानबाली उत्पादन ४.३३ प्रतिशतले बढेको छ । तर, धानखेतीको क्षेत्रफल भने ०.६१ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षमा धानको कुल उत्पादन गत वर्षभन्दा ४.३३ प्रतिशतले बढेर ५७ लाख २४ हजार २३४ मेट्रिक टन पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाएको हो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो ।

तर, धानखेतको क्षेत्रफल ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टरले घटेर १४ लाख ३८ हजार ९८९ हेक्टर पुगेको छ । धानखेत गत चार आर्थिक वर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले घटेको मन्त्रालयको आँकडाले देखाएको छ ।

मन्त्रालयले सातै प्रदेशका कृषिसँग सम्बन्धित मन्त्रालयहरुबाट जिल्लागत रुपमा संकलन गरेको प्रारम्भिक आँकडाअनुसार यस वर्ष धान उत्पादन बढेको देखिएको हो ।

पछिल्लो वर्षको तुलनामा यस वर्ष किसानहरुले हाइब्रिड बीउ बढी लगाएको र मौैसमले साथ दिँदा धानको उत्पादन बढेको धानवालीविज्ञ रामवरण यादव बताउँछन् ।

यादवका अनुसार समयमै मलको उपलब्धता र मौसमको साथले धान उत्पादन बढेको हो ।

‘अहिले समग्र देशमा धानको उत्पादनलाई हेर्दा मधेश प्रदेशमा त्यति बढ्न सकेन । अन्त सबैतिर उत्पादन बढेको छ । पछिल्लो समय किसानहरुमा हाइब्रिड धान लगाउने प्रतिस्पर्धा बढेको देखिएको छ’, उनले भने, ‘यस वर्ष अधिकांश मध्यपहाडी र पहाडी क्षेत्रमा हाइब्रिड धान लगाउने संख्या बढेको छ । जसले गर्दा उत्पादन पनि बढेको हो ।’

मन्त्रालयले सातै प्रदेशका कृषिसँग सम्बन्धित मन्त्रालयहरुबाट जिल्लागत रुपमा ‘आईसीएमओडी’ सँगको सहकार्यमा ‘सेटलाइट इमेज’ को प्रयोगबाट प्राप्त तराईका जिल्लाहरुमा लगाइएको मुख्य धानबालीको क्षेत्रफल, चालू आर्थिक वर्षमा भएको रोपाइँको आँकडालाई प्रमुख आधार मानी धानबालीको उत्पादन तथ्याङ्क संकलन गरिएको बताएको छ ।

धान उत्पादन बढ्नुमा उन्नत बीउ उपलब्ध हुनु र प्रयोग तथा रोगकीराको प्रकोपमा कमी, बाढीपहिरोबाट धानबालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको सहज उपलब्धता, कृषि औजार र प्रविधिको प्रयोग र मौसमीअनुकूलता रहेको मन्त्रालयले जनाएको छ ।

धानबालीको औसत उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा ४.९७ प्रतिशतले बढेर ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो । तर, कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आर्थिक वर्षको तुलनामा ०.६१ अर्थात ८ हजार ८०० हेक्टरले कमी भई १४ लाख ३८ हजार ९८९ हेक्टर कायम हुन पुगेको छ । धानबाली क्षेत्रफल गत चार आर्थिक वर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले घटेको मन्त्रालयको आँकडा छ ।

अहिले कृषिमा युवा पुस्ताको बढ्दो आकर्षण र नयाँ प्रविधिको प्रयोगले यस वर्ष धान उत्पादन बढेको सुनसरी जिल्लामा कार्यरत वरिष्ठ वैज्ञानिक सन्तोष त्रिपाठी बताउँछन् ।

त्रिपाठीका अनुसार उन्नत बीउ बढी लगाइनु र प्रविधिको प्रयोगले कम क्षेत्रफलमा पनि बढी उत्पादन भएको हो ।

‘चालू आर्थिक वर्षमा सबै कुराको म्याच भएको छ । समयमै मल उपलब्ध भयो । मौसमले पनि साथ दिएको थियो । त्यसैले धानबालीको क्षेत्रफल घट्दा पनि उत्दपानमा प्रभाव परेन’, उनले भने, ‘यसको अर्को कारण भनेको पछिल्लो समय कृषिमा प्रविधिकोे प्रयोग बढ्नु र नयाँ पुस्ता पनि आकर्षित हुनु हो । यसलाई सबैले सकारात्मक रुपमा हेर्नुपर्छ ।’

चालू आर्थिक वर्षमा धानको उत्पादन कोशी प्रदेशमा उच्च हुँदा कर्णालीमा न्यून रहेको छ । उत्पादकत्वतर्फ कोशी प्रदेश ४.४३ मेट्रिक टन प्रतिहेक्टर सहित अग्रस्थानमा रहेको छ । मधेश प्रदेश ३.४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा रहेको छ ।

यता मुख्य बाली धानको तुलनामा विगतका आर्थिक वर्ष जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ । गत आर्थिक वर्षको तुलनामा उत्पादन र उत्पादकत्वका वृद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा छ । मधेश प्रदेशमा भने उत्पादन र उत्पादकत्व ऋणात्मक रहन पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *