श्रीमतीलाई हटाएर आफैं पार्टी अध्यक्ष बन्ने तयारीमा रेशम, भन्छन्- आयोगलाई सोधिसकेका छौं – Nepal Press
नेपाल टक

श्रीमतीलाई हटाएर आफैं पार्टी अध्यक्ष बन्ने तयारीमा रेशम, भन्छन्- आयोगलाई सोधिसकेका छौं

‘८४ सालमा चुनाव लड्छु र प्रधानमन्त्री बन्छु भनेकै हो’

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी अहिले पार्टीको पहिलो महाधिवेशनको चटारोमा छन् । पुस २६, २७ र २८ गते कैलालीको टीकापुरमा सम्पन्न हुने महाधिवेशनमा देशभरबाट ८ हजार प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनबाट ३९ जना पदाधिकारीसहित ५०१ केन्द्रीय सदस्य चयन हुने छन् ।

अहिलेसम्म नाउपाको अध्यक्षमा रेशम चौधरीको पत्नी रन्जिता श्रेष्ठ चौधरी छिन् । तर, अबको महाधिवेशनबाट उनले नै निरन्तरता पाउँछिन् वा रेशम चौधरी अध्यक्ष बन्छन् भन्ने विषयमा अन्योल छ । उच्च स्रोतकाअनुसार रेशम चौधरी अध्यक्ष बन्ने सम्भावना बढी छ । तर, चौधरी भने यस विषयमा अहिल्यै भन्न हतार हुने बताउँछन् ।

प्रस्तुत छ संरक्षक चौधरीसँग नाउपाको आगामी नेतृत्व , टीकापुर घटना र अदालतको फैसला र आममाफीपछिको अवस्थामा विषयमा गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा

– महाधिवेशनको तयारी तीव्र देखिन्छ । अरु भन्दा केही फरक गर्दै हुनुहुन्छ भन्ने चर्चा छ नि !

हो । धेरै फरक छ । यहाँ पहिचानको संस्कृति खुल्ने वाला छ । अरूले कुरा गर्छन् हामी नयाँ गरेर देखाउन लागि रहेका छौँ ।

– सबैभन्दा ठूलो पदाधिकारी बनाएर रेकर्ड बनाउने योजना हो ?

त्यो सत्य हो । रेकर्ड बनाउनको लागि भने हामीले गरेका होइनौं । तपाईँहरूले नै भन्दिरहनु भएको छ । रेकर्ड बन्दैछ भनेर । हामी ३९ सदस्यीय पदाधिकारी बनाउने योजनामा छौं । हाम्रो विधानमा त्यही छ ।

– तपाईँ अध्यक्ष बन्दै हुनुहुन्छ रे हैन ?

(हाँस्दै) हेर्नुहोस् । चोक चोकमा मान्छेको भीड साथीभाइहरू भेटिँदा जथाभाबी बोल्नु हुँदैन । हामी ओजस्वी भएर जानुपर्छ । महाधिवेशनको प्रतिनिधीहरूले, बहुमत साथीहरूले के निर्णय गर्नु हुन्छ त्यो त्यसमा भर पर्छ । निश्चय पनि नागरिक उन्मुक्ति पार्टी हाँकिरहेको नाताले उहाँहरूले त्यो देख्नु स्वाभाविक हो ।

– तपाईँ अध्यक्ष बन्दा फेरि निर्वाचन आयोग बाधक हुने हो कि ?

निर्वाचन आयोग बाधक बन्दैन । त्यो हामीले सोधेर आइसकेका छौँ । त्यो बन्ने कुरा पनि भएन । अहिलेसम्म त्यस्तो केही छैन ।

– अघिल्लो पटक त बाधक बन्यो नि !

होइन ।

– तपाईँकै अध्यक्षतामा पार्टी गठनको तयारी भएर पनि कारागार बसिरहेको व्यक्तिलाई अध्यक्ष बनाउन मिल्दैन भनेपछि तपाईँको श्रीमतीलाई अध्यक्ष बनाएको कुरा त सबैलाई थाहा छ त !

मान्छेहरू त्यस्तो भन्लान्, तर एउटा पत्रमा हाम्रो अपरेटरले अध्यक्ष रेशम चौधरी, उपाध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भनेर लेख्नुभयो । जेलको गेटका कागज राख्नुपर्थ्यो नि ! त्यो बेला त्यो कागज पत्रकारको हातमा फेला पर्‍यो । त्यसरी त्यो कुरा बाहिर आएको हो ।

– प्रष्ट भन्दिनुहोस् न, अब तपाईँको अध्यक्षमा दाबी रहन्छ कि रहँदैन ?

नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरीले दाबी गरिरहनु पर्ने छैन । त्यसकारणले सबै साथीभाइले अहिलेसम्म मलाई मान्नुभएको छ । किन भने जेलबाट नागरिक उन्मुक्ति पार्टी बनेको सपना देख्ने सबैभन्दा पहिलो व्यक्ति म थिएँ । त्यसकारणले विरोध आउने वा दाबी गर्नुपर्ने अवस्था छैन ।

– केन्द्रमा मन्त्रिमण्डल हेरफेरको कुरा आइरहन्छ । नागरिक उन्मुक्तिको बटमलाईन के हो ?

प्रधानमन्त्रीज्यूले क्याबिनेट हेरफेर गर्दिनँ भनेर भन्दै आइरहनुभएको छ । म गठबन्धन दलमा बसेर उहाँको भाषालाई यहाँबाट फरक भन्न सक्दिनँ । मैले थाहा पाएसम्म यो कुरा गठबन्धनको दलमा चलेकै छैन ।

– राष्ट्रपतिबाट आममाफी पाएर रिहा हुँदा प्रधानमन्त्रीले ६ महिनाको लागि मन्त्री बन्न आग्रह गर्नुभएको थियो रे अब त्यो सम्भावना टरेको हो कि बाँकी छ ?

हाँस्दै, यति धेरै जनताको असन्तुष्टि छ । राजनैतिक दलहरूप्रति वितृष्णा बढिरहेको छ । म जनताभन्दा पर हुन नरुचाउने मान्छे हुँ । त्यसो भएको हुँदा मैले अहिले त्यो पनि सपना देखेको छैन । सम्भव पनि छ जस्तो लाग्दैन मलाई ।

– कैलाली कारागारमा बन्दीहरूलाई भेटेर फर्किएपछि ‘०८४ मा चुनाव पनि लड्न्या हो , प्रधानमन्त्री पनि बन्या हो ’ भन्नु भएको थियो नि ? पत्रकारहरूलाई अगाडि देखेपछि उत्साहित भएर भन्नु भएको हो कि योजना के छ ?

साथीभाइहरूले के गर्छस् कसो गर्छस् चुनाव लड्ने कि नलड्ने भनेर सोध्दै हुनुहुन्थ्यो । मैलै चुनाव पनि लड्न्या हो प्रधानमन्त्री पनि बन्या हो भनेकै हो । भाषा बोलीसबे । शब्दमा बदलाव छैन । अन्तरहृदयबाट सर्वस्वीकार्यको कुरा म गर्दिनँ ।

– नेपालगञ्जका रिगल पुन: कारागार चलान भएपछि तपाईँलाई फेरि कारागार जानुपर्ने भयो भनेर डर कत्तिको लागेको छ ?

लाग्दैन डर । यति धेरै पीडा यति धेरै तनावका बीच मैले साढे आठ वर्ष बिताएँ । साढे आठ वर्षसम्म धैर्यता राख्नेले यस्ता कुरासँग डराउने कुरा हुँदैन । यो सामाजिक राजनैतिक मुद्दा हो । कानून पनि त नागरिकहरूकै लागि हो । दु:ख दिएर नागरिकलाई सताउने, नागरिकहरूलाई अनागरिक बनाइदिने कानूनको उल्झनमा जनतालाई फसाउनु हुँदैन ।

– राष्ट्रपतिले माफी दिएर छुटेपछि तपाईँले टीकापुरलाई छुट्टै जिल्ला बनाउनुपर्छ पनि भन्नु भयो । त्यो बेला लोकप्रिय बन्न बोलेर अहिले त्यो अडानबाट पछि हट्नु भएको हो ?

मैले बोलेको कुरा कहिले पनि लोकप्रियताको लागि हुँदैन । टीकापुर जिल्ला बनाउने सपना स्वर्गीय पूर्वगृहमन्त्री खड्कबहादुर सिंहको थियो । म उहाँको धेरै कुराहरू मन पराउँछु । त्यस कारणले गर्दा टीकापुर छुट्टै जिल्ला बन्नु पर्छ भन्ने व्यक्ति हिजो पनि म हुँ आज पनि म हुँ र भोलि पनि मै हुँ ।

– हिजो शक्ति र सत्तामा हुनुहुन्थेन तपाईँले बोलेको कुरा भाषणमात्रै हुन्थे होला तर, आज प्रदेश र संघमा गरेर तपाईँको पार्टीका चारजना मन्त्री छन् खै त उहाँहरूले तपाईँको कुरालाई सरकारी ढङ्गबाट वैधता दिएको ?

अहिलेसम्म सरकारी तवरबाट त्यस्तो कुराले प्रशय नै पाएको छैन । बेला बखतमा त्यसले प्रशय पाउँछ र स्थापित हुन्छ ।

– तपाईँको पुस्तक ‘चिरफार’ मा ‘टीकापुर घटनाका दोषी हामी कि विजय गच्छदार र रामजनम चौधरी ?’ भनेर प्रश्न गर्नुभएको छ । अदालतले तपाईँलाई दोषी ठहर गरिसक्यो । तपाईँको भन्दा ठूलो भूमिका अन्यको पनि छ ?

त्यस्तो होइन । साउन २५ गतेको टीकापुरको आमसभामा सबैभन्दा नम्र मैले बोलेको थिएँ । सबैलाई सम्झाएको थिएँ । अरूलाई सद्भाव बिगार्न यहाँ नआउनुहोस् भनेर गाली गर्ने मान्छे नै मै हुँ । अनि मलाई मुद्दा लगाएको कुरा न्यायोचित भयो त ? जसले त्यहाँ चिच्याएर गयो, खुँडा बन्चरो उठाउनुपर्छ भन्यो त्यसलाई मन्त्रीको पुरस्कार दिइयो । मुद्दा लगाउनुपर्ने हो । छालले सबैभन्दा पहिले लपेट्नुपर्ने मान्छेलाई छुँदै छोएन । जसलाई नछुनुपर्ने हो ऊ परको बगरको मान्छेलाई बगाइदियो । यहाँ छालले बेइमानी गर्‍यो ।

– तपाईँहरू समस्यामा पर्दामात्रै लाल आयोगको प्रतिवेदनको कुरा गर्नुहुन्छ अहिले सरकारमा हुँदा प्रतिवेदन सार्वजनिक गर्न किन दबाब दिनुहुन्न ?

अहिले पनि प्रत्येक बैठकमा मेरो बोली त्यही छ । तर, हामीले भनेका कुरा सबै ठाउँमा लागू हुनुपर्छ भन्ने पनि छैन । प्रचण्डजीले सबै कुरा स्वीकार गर्नुहुन्छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आफ्नो इच्छा भएको कुरा पनि सुनाउनु हुन्छ । चाँडै सार्वजनिक गर्नुहुन्छ भन्ने हाम्रो आशा छ ।

– अन्त्यमा, राष्ट्रियसभाको उम्मेदवारमा तपाईँको पनि चर्चा चलिरहेको छ नि ?

१९ गते हाम्रो आफ्नो बैठक बस्छ त्यो बैठकले के निर्णय छ त्यसका भर पर्छ । पार्टी चलाएपछि एकात्मक हुनुहुँदैन । साथीहरूको मनोभाव पनि बुझ्नु पर्छ । साथीहरूले कसलाई अगाडि सार्छन् भन्ने कुरा हो मेरो इच्छा छैन राष्ट्रियसभामा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर