लाेचनले किड्नी दिन चाहिन्, नारायणगाेपालले मानेनन् – Nepal Press

लाेचनले किड्नी दिन चाहिन्, नारायणगाेपालले मानेनन्

काठमाडौं । ‘माया गर्नेको चोखो माया पनि देखियो’

गायिका लोचन भट्टराईका दर्जनौं गीत छन्, ‘रिटरिटिङ बजाउ बिनायो’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘ए दाजु नसमाउ नाडीमा’, ‘तिहारै आयो लौ झिलिमिली’ लगायत । तर, ‘माया गर्नेको’ गीत उनको सांगीतिक करियरमा विशेष छ । जो गायक नारायणगोपालसँग जोडिन्छ ।

एक दिन लोचन नारायणगोपालको घर गएकी थिइन् । नारायण गोपाल गीत रियाज गरिरहेका थिए । लोचनलाई नारायणगोपालले भने, ‘विश्वविद्यालयको एउटा कार्यक्रम छ । म दुईचार वटा गीत गाउँदैछु । एउटा नयाँ युगल गीत कम्पोज गरेको छु ।’

अनि लोचनलाई सुनाए, ‘माया गर्नेको चोखो माया पनि देखियो ।’

कालीप्रसाद रिजालले लेखेको यस गीतमा नारायणगोपाल स्वयंको संगीत थियो । यही गीतमा लोचनले पनि रियाज गरिन् ।

छुट्ने वेला नारायण गोपालले भने, ‘अर्को एकजना साथी पनि खोज न गाउनलाई ।’

लोचनले गायिका सुनिता सुब्बालाई भनिन् । सुनिताले एक वचनमै मानिन् । दुवैले गीत रियाज गरे । कार्यक्रम भयो । दुवैले गीत गाए र त्यही कार्यक्रम नै नारायणगोपालको जीवनको अन्तिम कार्यक्रम भयो । यसपछि २०४७ मंसिर १९ गते उनको निधन भयो ।

नारायणगोपाल बिते पनि लोचनले यो गीतलाई हरेक स्टेजमा गाइन् । उनलाई फर्माइस पनि यही गीतको धेरै हुन्थ्यो । गीत रेकर्ड त भएको थिएन । तर, ज्यादै पपुलर बनिसकेको थियो ।

एक दिन लोचनलाई नारायणगोपालकी धर्मपत्नीले भनिन्, ‘तपाईंको आवाजमा रेकर्ड गर्नुस् यो गीत ।’

अनि लोचनले २०४९ सालमा रेडियो नेपालमा यो गीत पहिलो पटक रेकर्ड गराइन् ।

‘म कसैको आभारी भएर बाँच्न चाहन्नँ’

नारायणगोपाल सिकिस्त बिरामी थिए । उनको मृगौलाको डाइलाइसिस भइरहेको थियो । सुगरले निकै साह्रो गरी च्यापेको थियो । खुट्टाहरु सुन्निएका थिए । तर, गायनमा भने सक्रिय नै थिए । २०४७ सालको एक दिन गायिका लोचन भट्टराई नारायणगोपालको घरमा गइन् । नारायणगोपालसँग दिनभरि बसेर गफ गरिन् ।

र, अन्त्यमा लोचनले भनिन्, ‘दाइ अहिले त धेरै सजिलो छ, हजुरलाई म किड्नी दिन्छु ।’

नारायाणगोपालले भने, ‘म कसैको आभारी भएर बाँच्न चाहन्नँ ।’

बरु आफू तराईको कुनै ठाउँमा थोरै जग्गा लिएर बस्न चाहेको बताए । जहाँ केराघारी होस् । लिचीका बोटहरु होऊन् । आँपका बोटहरु होऊन् । माछा पोखरी होस् । गाईको हुल होस् । सबै गाईहरुको घाँटीमा घण्ट होस् । गाईहरु लस्करै हिँड्दा घण्टहरु बज्छन्, मधुर आवाज निस्कन्छ । जसले आफूलाई शान्ति दिनेछ ।

नारायणगोपालले भनेका थिए, ‘गाईहरु लाम लागेर हिँड्छन् । उनीहरुको घण्ट बज्छन् । कस्तो मधुर आवाज आउँछ होला ।’

नारायणगोपालसँगको त्यो भेट

नारायणगोपालसँग लोचनको पहिलो भेट २०४५ सालमा भयो, रेडियो नेपालमा ।

२०४४ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा लोचन प्रथम हुँदा जज थिए नारायणगोपाल । तर, उनको औपचारिक भेट भने भएको थिएन । देखभेट भने भएको थियो ।

२०४५ सालको एक दिन संगीतकार भूपेन्द्र रायमाझी लोचनकहाँ आए । भूपेन्द्रकै संगीतमा लोचनले रेडियो नेपालमा गीत गाएकी थिइन् । भूपेन्द्रले लोचनलाई भने, ‘नारायणगोपालले रेडियो नेपालमा फर्स्ट हुने गायिकालाई बोलाऊ भनेर भन्नुभएको छ ।’

सुरुमा त लोचनले भूपेन्द्रको कुरालाई पत्याइनन् । रेडियोमा सुनेको नारायणगोपाल । क्यासेटको कभरमा मात्रै देखेको नारायणगोपाल । उनैले आफूलाई भेट्न बोलाएको कुरा उनले पत्याइहाल्न सकिनन् । तर, भूपेन्द्रले कन्भिन्स गरेपछि भने लोचन नारायणगोपाललाई भेट्न गइन्, कालिकास्थानमा ।

म्युजिक नेपालको स्टुडियो भर्खरै खुलेको थियो । साढे तीन वर्षको छोरालाई लिएर लोचन कालिकास्थान पुगिन् । तर, नारायणगोपालको अघि के बोल्ने केही मेसो थिएन । उनले सिर्फ नमस्कारमात्रै गरिन् । नारायणगोपालले बस्न इशारा गरे । अनि सोध्न थाले-

‘तिमीलाई यो गीतको कोरस आउँछ ?’ लोचनले टाउको हल्लाइन् ।

नारायणगोपालले फेरि अर्को गीतबारे सोधे । लोचनले टाउको हल्लाइन् । सोध्ने र टाउको हल्लाउने क्रम केहीबेर चलिरह्यो । तबलावादक राजु अग्रवाललाई समोसा लिन न्युरोड पठाए नारायणगोपालले । सबैले समोसा खाए । छुटे । रिहर्सल नै भएन ।

त्यसपछि एकै पटक प्रज्ञाभवनमा कार्यक्रम भयो । लोचनले कोरसमा नारायणगोपाललाई साथ दिइन् । यसपछि कहिले पोखरा, कहिले धनगढी, कहिले दार्जिलिङका कार्यक्रमहरुमा लोचन नारायणगोपालसितै गइन् । युगल गीतहरुमा नारायणगोपाललाई साथ दिइन् ।

ती भित्तामा टाँसिएका शुभेक्षाहरु

२०४७ साल ।

नारायणगोपाललाई वीर अस्पतालमा राखिएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आईसीयुमा राखिएको थियो । लोचन अस्पताल पनि गइरहन्थिन् ।

अहिले आएर लोचनलाई थकथक लाग्छ, ‘नारायणगोपाल दाइको जीवनको कति महत्वपूर्ण कुरा क्यामेरामा कैद हुनै पाएन ।’

नारायणगोपाल बिरामी भएको थाहा पाएपछि शुभचिन्तकहरुले अस्पतालको भित्ताभरि चिठी र सन्देशहरु कागजमा लेखेर टाँसेका थिए । कति कागजमा लेखिएका थिए, ‘म किड्नी दिन्छु ।’

लोचन अस्पतालको त्यो दृश्य सम्झिन्छिन्, ‘यति धेरै कागजहरु टाँसिएका थिए कि म शब्दमा भन्न सक्दिनँ । मेरो आँखामा झलझली छ । बाहिर बाटोदेखि नै नारायणगोपालको स्वास्थ्यको कामना गर्दै ठूलो भीड लागेको हुन्थ्यो ।’

मृगौलाको बिरामीलाई खानै मन नलाग्ने । अनि नारायणगोपालको परिवार भने झोल तरकारी भए पनि खुवाउन चाहने । एक दिन लोचनलाई नारायणगोपाल पत्नीले भनिन्, ‘दाइले खानुहुन्छ कि बहिनी, एक पटक दाइलाई भन्नू न !’

तर, लोचनलाई नारायणगोपालले भन्थे, ‘तिमीलाई भाउजूले पठाएकी हो ?’ अनि खानै मान्थेनन् ।

लोचनका अनुसार नारायणगोपाल एकदमै सिकिस्त हुँदा उनको एउटै चाहना थियो, आफ्नो तत्कालको अवस्थाको कुनै पनि फोटो नखिचियोस् । हुन पनि त्यसवेलाको नारायणगोपालको फोटो पनि छैन । बरु आफूलाई दर्शक, स्रोताले जुन रुपमा देखेका छन्, त्यही रुपमा नै सधैं उनीहरुको मनमा बस्ने चाहना लोचनलाई सुनाएका थिए ।

लोचन भन्छिन्, ‘तर, उहाँका शुभचिन्तकहरुले हातले लेखेका कागजका चिर्कटोहरु भित्ताभरि नै थियो । पछि उप्काएर कता फालियो होला ? कसैले क्यामेराले भिडियो पनि खिचेन । संकलन गरेको भए अहिले पुस्तककै रुपमा तयार हुन्थ्यो ।’

जनवादी गीतबाट संगीतको दुनियाँमा

लोचनको बाल्यकाल धरानमा बित्यो । घाँस-दाउरा गर्दा नै गीत गाउन सिकिन् । उनलाई लता मंगेशकर, मोहम्मद रफीदेखि नारायणगोपाल, तारादेवी, अरुणा लामासम्मको गीत कण्ठस्तै हुन्थ्यो । सानै उमेरमा गलाका कारण धरानमा चिनिएकी थिइन् ।

यही सिलसिलामा लोचनको भेट भयो कवि तथा लेखक मन्जुलसँग । सँगै जनवादी गायक रामेशसँग । यो २०३१/३२ सालतिरको कुरा हो । एक दिन लोचनले चिनेको एक जना दाइले मन्जुलसँग भेटाए । लोचन र उनका भाइ निशान भट्टराईले केही गीत सुनाए ।

अनि मन्जुलले भने, ‘मसँग पनि गीत छ, गाउँछौ त ?’

लोचन र निशान गाउने भनेपछि हुरुक्क हुने । उनीहरुले हुन्छ भने ।

पञ्चायतकालको उत्कर्षको वेला राल्फा समूहमार्फत् मन्जुल, रामेशहरु गाउँगाउँमा गीत गाउँदै हिँडेका थिए । गीतमार्फत् जनतामाझ चेतना पनि फैलाउँदै गएका थिए । लोचन पनि मन्जुल र रामेशसँग गीत गाएर हिँड्न थालिन् । पहिलो गीत उनलाई ठ्याक्कै थाहा छैन । तर, स्थायीको दोस्रो लाइन भने अझै याद छ, ‘नमार गरिबलाई, नजाउ अंग्रेजी पल्टनमा’ ।

धरानमा लाहुर जानेहरुको लाइन लाग्ने भएकाले पनि गीत ज्यादै चर्चित बन्यो । यसपछि लोचन राल्फाले गर्ने कुनै कार्यक्रममा पनि छुटिनन् । तत्कालीन मालेअन्तर्गत रहेर विभिन्न कार्यक्रमहरुमा जनवादी गीत गाउँदै हिँडिन् । मन्जुल गीत लेख्थे, रामेश कम्पोज गरिहाल्थे । गाउन लोचन छँदै थिइन् ।

मन्जुल बारबार भन्ने गर्थे, ‘मान्छेले सुखसुविधा र भोगप्रति ध्यान दियो भने उसको विचार कमजोर भएर जान्छ । मान्छेले आफ्नो जीवन र विचारलाई कतै गएर पनि धमिलिन दिनु हुँँदैन ।’

जनवादी गीत गाउने क्रममै २०१९ सालमा लोचनको विवाह भयो । उनी काठमाडौं आइन् । यसपछि भने लोचनले मूल प्रवाहको बाटो पक्रिइन्, रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा भिडेर ।

काव्य भुल्दै गएको नेपाली संगीत

लोचनले गाएको एउटा गीत छ, ‘ए दाजु नसमाउ नाडीमा ।’

श्याम नेपालीसित लोचनले गाएको यो गीत केही समयअघि ‘छक्कापञ्जा-२’मा समावेश भएको थियो । आफूसित सल्लाह नगरी फिल्ममा गीत राखिएपछि लोचनले गुनासो पनि गरेकी थिइन् ।

यो गीतको कथा भने श्यामको हजुरबासित जोडिन्छ । श्यामको पुर्ख्यौली विरादरी रहेको यो गीत कुनै समय श्यामका हजुरबुवाले गाउने गर्थे । सारंगीको साथमा हजुरबाले गाउने गरेको यस गीतलाई श्यामले लोचनसँग रेकर्ड गराएका थिए ।

लोचन भन्छिन्, ‘दीपकराग गिरीको छक्कापञ्जामा यो गीत राख्दै गर्दा मलाई सोधेको भए पनि हुन्थ्यो जस्तो लाग्छ । तर, जब हामी अध्यात्म चिन्तनतिर लाग्छौं, त्यहाँ पुगेपछि यी सारा चिज झिनामसिना लाग्छन् । ओहो ! पुग्नुपर्ने गोधुली कहाँ छ, कहाँ यता हराइरहे जस्तो लाग्छ ।’

जनवादी गीत, आधुनिक गीत, लोकदोहोरी, झ्याउरे, सोरठी, चर्या हुँदै अलिपछि लोचन कविता गीततिर लागिन् । लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, यज्ञनिधि दाहाललगायत दर्जनौं कविका गीत बनाइन् ।

कवितालाई गाउनुका पछाडि लोचनको आफ्नै तर्कहरु छन् । गीत गाउने क्रममै उनले थाहा पाइन्, विकसित देशहरुमा गायकगायिकाहरु त्यतिवेला स्थापित हुन्छन्, जतिवेला उनीहरुले कविता गाउँछन् । प्रसिद्ध पप गायक माइकल ज्याक्सनले नै प्रसिद्ध कमेडियन चार्ली च्याप्लिनको गीत ‘स्माइल’ गाएका छन् ।

लोचन थप्छिन्, ‘हामी सानो कुरामा रमाउँछौं । यति भए पुगिहाल्छ भन्छौं । तर, उनीहरुलाई यतिले पुग्दैन । म विदेशका धेरै कार्यक्रमहरुमा गएँ । त्यहाँका कलाकारले यो ३०० वर्ष पुरानो कविता भनेर प्रस्तुति दिनुहुन्छ । तर, हामी त दर्शकले जति बुझ्नुहुन्छ, त्यति मात्रै गाउँछौं । पछिल्लो समय त दर्शकले साहित्य बुझ्दैन भन्ने चरणमा पुगेका छौं, तर ।’

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम, सयौं दिनको पानी

लोचनलाई लाग्छ, यति दुई लाइनमै कति ठूलो काव्य छ ! अनि अहिले आएर गहिरो काव्य कसले बुझ्छ र भनेर भन्छौं ? कलाकारसित स्रोता÷दर्शककै हातमा हुन्छ, कुन बाटोमा लाने ? त्यो कलाकारको गलामा हुन्छ ।

लोचन भन्छिन्, ‘यहाँ त बजारमा जे आउँछ, त्यही पस्कने संस्कृति छ । तर, त्यस्ता गीतहरु स्वीकार्नुभएको दर्शकले काव्यलाई अस्वीकार गर्ने भन्ने त हुँदैन नि ! हामी हल्काफुल्का चिज गाएर मान्छेको माझमा रमाइलो गरेर आयआर्जन गर्दै मात्रै बाँचिरहने ?’

कविता गाउनुको मज्जा !

कविता गाउँदै गर्दा लोचनलाई काव्यभित्र चुर्लुम्म डुब्नुको मज्जाको अर्कै अनुभूति हुन्छ । काव्यभित्रको रस लिने, स्वाद लिने पनि आदत हो भन्ने उनलाई लाग्छ । त्यो आदत लगाउने काम स्रष्टाहरुको हो भन्ने उनको तर्क छ । विशेषतः कविताहरुको ह्रश्व, दीर्घ हुन्छन् । विश्राम र नियम हुन्छन् । भाषाको आफ्नै खाले नियम हुन्छन् ।

अहिले भानुभक्तको ‘रामायण’लाई गाएर आफ्नो युट्युबमा पनि लगातार हालिरहेकी छन् लोचन । आफ्नो बहुविधा गायकीबारे लोचन भन्छिन्, ‘जीवन त सप्तरंगी छ नि ! एउटा रंगमा मात्रै जीवन देख्नु हाम्रो बुझाइको सीमितता हो ।’

उनको एकै चासो छ, कविता, पप, लोक, आधुनिक, छन्द गाउँदा भाषाको गलत उच्चारण हुनु भएन । व्याकरणले पनि कि कथ्यमा जाउ, कि लेख्यमा जाउ भन्छ । तर, भाषाको उच्चारण भने शुद्ध हुनुपर्छ ।

लोचन भन्छिन्, ‘हाम्रो राष्ट्रिय गान नै गलत छ । फुटकर गीतको त कुरै नगरौं ।’

उनको भनाइ छ, खासमा ‘सयौं थुँगा हुन्छ । तर, गीत गाउँदा स्वर तानेर सSSSयौं थुङ्गा भनिएको छ । तर, सयौं भनेको कहिल्यै सSSSयौं हुँदैन । गीतमा तSSSराई, पSSSहाड, हिSSSमाल भनिएको छ । तर, भाषागत रुपले त तराई, पहाड, हिमाल नै भन्नुपर्छ ।’

संसारमा यति धेरै गीतहरु र गायकगायिका छन्, उनीहरुले गीत बिगारेका छैनन् । गलत उच्चारण गरेका छैनन् । तर, नेपालमा राष्ट्रिय गान नै गलत तरिकाले उच्चारण गरिएकोप्रति लोचनको विमति छ । राष्ट्रिय गानमा अम्बर गुरुङको संगीत छ । राजेश पायल राईलगायत दर्जनौं गायकगायिकाले स्वर दिएका छन् ।

अनि राष्ट्रिय गानमा भएको यो गल्ती गायकगायिकाहरुको कि अम्बर गुरुङको ?

लोचन हाकाहाकी भन्छिन्, ‘अम्बर दाइकै हो । कि त गीत गाउनेहरु सचेत हुनुपर्थ्यो । यसौं गरौं न त भन्नेहरु हुनुपर्थ्यो । जहाँसम्म लाग्छ, अम्बर दाइले त्यो सल्लाह पनि पाउनुभएन । तर, अम्बर दाइका अघिल्ला धेरै गीतहरुमा गलत उच्चारण छन् । त्यो भनेको उहाँलाई भाषाको ज्ञान नभएरै हो । उहाँ भाषाविद् पनि हुन जरुरी थियो । राष्ट्रिय गान भनेको त संसारभर बज्छ । यसले देशको मात्रै होइन, भाषाको पनि प्रतिनिधित्व गर्छ । भाषासँगै लिपिको पनि गर्छ । अनि लिपिको त उच्चारण सही हुनुपर्छ होला नि !’

लोचनलाई लाग्छ, भाषाको सही उच्चारणमा सबैभन्दा बढी ख्याल संगीतकारले गरिदिनु पर्‍यो । संगीतकारले नै भाषाको उच्चारण मिलाएर कम्पोज गरिदिएको छ भने समस्या आउँदैन । तर, त्यसका लागि संगीतकार राम्रो भाषाविज्ञसमेत हुन जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर