फुटबल मैदानमा मन्त्रीको भाषण सुन्ने कोही थिएनन्, फोटो खिच्ने श्रीमान् मात्र – Nepal Press

फुटबल मैदानमा मन्त्रीको भाषण सुन्ने कोही थिएनन्, फोटो खिच्ने श्रीमान् मात्र

पोखरा । मन्त्रीले भाषण गरिरहेकी थिइन् । दर्शक हातको औँलाले गन्ने संख्यामा थिए । ती दर्शक पनि आ-आफ्नो गन्थनमा व्यक्त थिए । मन्त्रीको भाषण सुन्ने चौर नै खाली थियो । मन्त्री बोलेको फोटो, भिडियो खिच्ने उनका श्रीमान् मात्रै थिए । यो दृश्य शुक्रवार पोखरा रंगशालामा सुरु भएको कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन सत्रको हो ।

उद्घाटन सत्रमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले भाषण गर्दै गर्दा पोखरा रंगशालास्थित फुटबल मैदान खाली जस्तै भएको थियो । अर्थात् करिब दर्शनविहीन बनेको थियो ।

उनले बोल्दै गर्दा अतिथिदीर्घामा जति अतिथि थिए । त्यति नै मात्रामा दर्शक दीर्घामा दर्शक थिए । मन्त्री सिम्खडाले भाषण गर्दै गर्दा ती दर्शकहरू पनि आफै गन्थन गरिराखेको थिए ।

केही दर्शकमा (खेलाडी र रेफ्री) बाँकी थिए । भने ४ जना पत्रकार र उनको भाषण खिच्न उनको श्रीमान् अर्थात् स्वकीय सचिव जनक बिसी मात्र थिए । श्रीमान् जनक नै मन्त्री सिम्खडाको स्वकीय सचिवको रूपमा कार्यरत छन् ।

करिब १० मिनेट गरेको भाषणमा मन्त्री सिम्खडाले खेलाडीमा अनुशासन हुनुपर्ने र यसलाई जीवनको अंग बनाउनुपर्ने बताउँदै गर्दा उनको भाषण सुन्ने कोही थिएनन् ।

‘खेल क्षेत्र कहिले पनि हरेस नखाने क्षेत्र हो । तपाईँहरू यो हिमाल र देश चिनाउने कर्णधार हो । त्यसैले पनि अनुशासन आवश्यक छ,’ उनले भनेकी थिइन् ।

प्रतियोगिता उद्घाटन हुनुअघि सबै स्थानीय तहले मार्च पास गरेको थिए । मार्च पासमा कास्कीका ५ स्थानीय तहका करिब ५ सय खेलाडी सहभागी थिए । मार्च पासमा सहभागी दर्शनले मन्त्रीको भाषण सुन्ने धैर्यता देखाउन सकेनन् र मन्त्रीले भाषण गर्ने बेला उद्घाटन सत्रको दर्शक दीर्घा खाली हुन पुग्यो ।

प्रतियोगिताको उद्घाटन सत्र ११ बजे सुरु भएको थियो । मन्त्रीले मन्तव्य राख्ने बेला १२ बजिसकेको थियो । मन्त्रीले सम्बोधनका क्रममा खेलाडीलाई हौसला दिइरहेकी थिइन् । तर, उनको हौसला ग्रहण गर्ने खेलाडी त्यहाँ थिएनन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाले खेलाडीहरू मार्च पास र उद्घाटन सकेर खेल खेल्न जाँदा मन्त्री बोल्दा दर्शक कम भएको बताए । बिहानबाटै खेलकुद गतिविधि चलेको थियो । ट्राई सिट निस्किसकेको थियो । खेलाडीहरू उद्घाटन र मार्च पासको लागि आउनुभएको थियो । संघहरुले समय मै खेल गर्ने निर्णयअनुसार आआफ्नो ठाउँमा जानुभएको हो,’ उनले भने, ‘खेलाडीलाई मार्च पास सकेर खेल स्थलमा जानुभएको हो ।’

मन्त्री बोल्दा मैदान पुरै खाली भने नरहेको बानियाले जिकिर गरे । ‘निर्धारित समयमा खेल हुने हुनाले खेलाडी खेल हुने स्थानमा गएका थिए । एथलेटिक्सका खेलाडी त्यतै थिए । उनीहरू तयारीका लागि प्याराफिटको चेन्जिङ रुममा थिए । केही दर्शक प्याराफिट थिए । मन्त्री बोल्ने बेला खाली नै थियो भन्ने कुरा चाहिँ होइन,’ उनले भने ।

कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कास्कीको पोखरा महानगरपालिका र अन्य ४ गाउँपालिकाका खेलाडी सहभागी छन् । प्रतियोगितामा ६ खेलका ३० पदकका प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि १ सय ९ जना खेलाडी छनोट गरिने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बानियाले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “फुटबल मैदानमा मन्त्रीको भाषण सुन्ने कोही थिएनन्, फोटो खिच्ने श्रीमान् मात्र

  1. मंत्री पनि समयमा आउनु पर्यो नि , ठालु पल्टेर समयमा नआउने, अनि खली चौरमा भाषण नगरेर कहाँ गर्ने त ठीक्क परेछ , खुच्चिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर