गगनको रणनीतिक योजना- शेखरलाई प्रधानमन्त्रीको ललिपप, १५ औं महाधिवेशनमा आफैं सभापति ! – Nepal Press

गगनको रणनीतिक योजना- शेखरलाई प्रधानमन्त्रीको ललिपप, १५ औं महाधिवेशनमा आफैं सभापति !

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहमा देखिएको विवाद केही हदसम्म साम्य भएको छ । आगामी फागुनका लागि तय भएको महासमितिको बैठकमा एकजुट भएको सन्देशसहित सभापति शेरबहादुर देउवालाई दबाबमा राख्ने जमर्को इतर पक्षका नेताहरुले गरेका छन् ।

नेताहरुको चर्को दबाबमा परेपछि डा. शेखर कोइराला र महामन्त्री गगन थापाले बुधबारको बैठकमा आफूहरु एकै ठाउँमा रहेको सन्देश दिएका हुन् । बैठकपछि उनीहरुको भनाइ थियो– एजेण्डामा हामीबीच कुनै मतभिन्नता छैन । त्यो बैठकपछि इतर पक्षका नेताहरु केही हदसम्म उत्साहित छन् ।

लामो समयको संवादहीनता तोड्दै महामन्त्री थापाले रणनीतिक रुपमा शेखरलाई दलको नेतामा प्रस्ताव गरे । गगनको प्रस्ताव थियो, ‘पहिला म संसदीय दलको नेता उठेँ, सफल हुन सकिनँ । अब नयाँ ढंगले जानुपर्छ । शेखर दाइलाई अगाडि सारेर दलको नेता फेर्ने प्रयत्न गरेर पार्टी बचाउनुपर्छ ।’

दलको नेता फेर्ने प्रयास सफल नभए आलोपालो सहमतिअनुसार प्रचण्डपछि देउवा नै प्रधानमन्त्री हुने भएकाले २०८२ मा पार्टीको महाधिवेशन सम्भव नहुने उनको भनाइ थियो । गगनको भनाइले संकेत गर्छ, शेखरलाई दल नेता जिताएर प्रधानमन्त्री बनाउन सके २०८२ को महाधिवेशनमा आफूलाई सभापतिको ढोका खुल्छ । त्यसैले गगनको यो प्रस्तावलाई लिएर कांग्रेसवृत्तमा विभिन्न कोणबाट चर्चा भइरहेको छ ।

१४ औं महाधिवेशनमा महामन्त्री जितेपछि सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेता भिडेका गगन आगामी महाधिवेशनमा सभापतिको दौडमा हुनु स्वभाविक हो । तर, देउवासँग पराजित भएका कोइराला पनि १५ औं महाधिवेनमा आफू सभापति भएरै छाड्ने उद्देश्यमा छन् । गगनले कोइरालालाई प्रधानमन्त्रीको ललिपप देखाएर आफूलाई सभापति बन्ने बाटो खोल्न खोजेको कतिपय नेताहरुको बुझाइ छ ।

गत पुसमा भएको संसदीय दलको निर्वाचनमा देउवाले ६४ मत ल्याउँदा गगनले २५ भोट मात्रै ल्याएका थिए । आफ्नो समूहकै सबै सांसदहरुको मत नपाएपछि उनी शेखरसँग शशंकित भएका थिए । तर, अहिले आफ्नो टीमभित्रका र संस्थापन पक्षको असन्तुष्टिलाई समेटेर शेखरलाई अघि सार्न सके सफल हुनसक्ने गगनको बुझाइ छ ।

देउवालाई दलको नेताबाट हटाएर शेखरलाई सभापति बनाउन कम्तिमा ४४ सांसद आवश्यक पर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर थुनामुक्त भएका बालकृष्ण खाणसहितका नेताहरुलाई समेट्न सके देउवालाई हटाउन सक्ने इतर पक्षका नेताहरु बताउँछन् । शरणार्थी प्रकरणमा आफूलाई पक्राउ गर्दा सभापति देउवाले सहयोग नगरेको भन्दै खाण असन्तुष्ट छन् । खाण जेलमा हुँदा शेखर पटक–पटक कारागारमै पुगेर भेट गरेका थिए ।

गगनका साथमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल पनि छन् । तर, उनीहरु अहिलेसम्म इतर समूहमा छैनन् । उनीहरुलाई पनि समूहको बैठकमा बोलाउन गगनले प्रयास गरेपनि कोइराला सकारात्मक भएनन् । रणनीतिक रुपमा गगन एक्लै हाबी हुन खोजिरहेको बेलामा शर्मा र पौडेललाई पनि भित्र्याउँदा युवा जमातलाई समेटेर आफूलाई अप्ठ्यारो पार्नसक्ने कोइरालाको बुझाइ छ ।

गगनले शेखरलाई दलको नेता प्रस्ताव गर्नु सकारात्मक भएको नेता मधु आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘फेरि पनि शेरबहादुर दाई प्रधानमन्त्री भएर मुलुकलाई नयाँ केही दिन सकिँदैन । त्यसैले संसदीय दलको नेता परिवर्तन गरेर नयाँ नेतृत्व स्थापित गराउन सोच्नुपर्छ । अहिले पार्टीमा चुनौती देखिइसकेको छ । त्यसैले अहिल नै केही नयाँ दिनसक्यौं भने कांग्रेसलाई ट्र्याकमा ल्याउँन सकिन्छ भन्ने उहाँहरुको ठम्याइ रह्यो ।

अर्का इतर पक्षका एक नेताले कांग्रेसमा देउवाको विकल्प अघिल्लो महाधिवेशनले नै शेखरलाई संकेत गरेको दाबी गरे ।

ती नेताले भने, ‘अघिल्लो चोटी गगनजी दलको नेतामा प्रतिस्पर्धा गरिसकेकाले अब शेखर दाईलाई सहयोग गर्न तयार छु भनिसक्नुभयो । शेखरजीलाई अगाडि सार्दा नतिजाको नजिक पुगिन्छ या अलिक मेहनत गर्यौं भने सफल पनि हुनसक्छ ।’

तर, गगनले आफूलाई १५ औं महाधिवेशनमा सभापतिको ढोका खुला राख्नको लागि शेखरलाई दलको नेतामा प्रस्ताव गरेको हुनसक्ने सम्भावनालाई ती नेताले नकारेनन् ।

ती नेताले भने, ‘त्यो पनि विकल्प हो । अहिले मुलुकभर साथीहरुले नयाँ अपेक्षा गरिराख्नुभएको छ । त्यो सम्भावना पनि हुनसक्छ । नेतृत्व कांग्रेसले परिवर्तन गर्नुपर्छ कि नत्र कांग्रेसलाई अगाडि लैजान सकिँदैन भन्नेमा एकमत छौं ।’

गगनको प्रस्तावमा शेखरले असहमति पनि नजनाएको भन्दै ती नेताले सुनाए, ‘त्यो विषयमा उहाँले मुख खोल्नुभएको छैन । अनिच्छा व्यक्त पनि गर्नुभएजस्तो लाग्दैन । अब चाँडै फेरि बैठक बस्छ । उहाँ पनि सकारात्मक हुनुहुन्छ ।’

शेखर निकटका नेता गोविन्द पोखरेलले गगनको प्रस्तावबारे अहिले कुनै प्रतिक्रिया नजनाएको बताए ।

उनले भने, ‘गगनजीको प्रस्तावले हामी एकैठाउँमा छौं भन्ने सन्देश दिएको छ । तर, उहाँको प्रस्तावको विषयमा अहिले कुनै छलफल भएको छैन ।’

तर, गगनको रणनीतिक प्रस्ताव हुनसक्ने भएकाले कोइराला अहिले केही नबोलेको उनी निकट एक नेताले बताउँछन् ।

ती नेताले थपे, ‘गगनजी पनि पहिला दलको नेतामा उठेको बेलामा नतिजा हामीले पनि देखेका हौं । संसदीय अंकगणित देउवा दाईको पक्षमा स्पष्ट छ, त्यसैले अहिले त्यता नलाग्ने कि भन्ने उहाँको मूड मैले बुझेको छु ।’

शेखर र गगनलाई मिलाउन भूमिका खेलेका नेता अर्जुननसिंह केसी समूहमा देखिएको समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताउँछन् ।

उनले भने, ‘उहाँहरुबीच कार्यशैलीलाई सुधार गरेर पार्टीलाई सही ढंगले अघि बढाउने नीति तयार गर्नुपर्छ भन्नेमा सहमत हुनुहुन्छ । त्यही अनुसार आगामी महाधिवेशनबाट पार्टीलाई रुपान्तरण गर्नुपर्छ ।’

अहिले आफ्नो टीमलाई बलियो बनाएर जानेबारे सहमति बने पनि आगामी महाधिवेशनको नेतृत्वबारे अहिले कुनै सहमति नभएको उनको भनाइ छ ।

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर