भगवान राम पहिलो पटक मिथिला आएको सम्झनामा जनकपुरमा मनाइयो ‘नगर दर्शन’ – Nepal Press

भगवान राम पहिलो पटक मिथिला आएको सम्झनामा जनकपुरमा मनाइयो ‘नगर दर्शन’

जनकपुरधाम । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज पहिलो दिन ‘नगर दर्शन’ गरिएको छ ।

त्रेता युगमा भगवान श्रीराम भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग आजकै दिन पहिलो पटक मिथिला राजधानी जनकपुरधाम आएर घुमेको सम्झनामा ‘नगर दर्शन’ कार्यक्रम गरिएको हो ।

तीन बालकलाई गुरु विश्वामित्र, श्रीराम र लक्ष्मणको पहिरन तथा साजसज्जा गरी जानकी मन्दिर परिसरमा पसलहरुको स्टल राखेर सांकेतिक रुपमा नगर भ्रमण अर्थात् ‘नगर दर्शन’ गराइएको छ ।

नगर दर्शन समारोहमा हजारौं श्रद्धालु तथा सर्वसाधारण सहभागी छन् । नगर दर्शनको अवसरमा भइरहेको ‘गितनाद’ र भजनकीर्तनमा श्रद्धालु झुमेका छन् । अहिले जानकी मन्दिरको माहोल अलौकिक बनेको छ ।

राम-जानकी विवाह महोत्सवअन्तर्गत दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौं दिन मटकोर गरिनेछ । छैटौं दिन अर्थात् पुस १ गते सीताराम स्वयम्वर तथा शुभविवाह र सातौं दिन रामकलेवा कार्यक्रम तय गरिएको छ ।

सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरलाई झकिझकाउ पारिएको छ । साताव्यापी महोत्सवमा सहभागी हुन भारत र नेपालका विभिन्न स्थानबाट श्रद्धालु आउनेक्रम जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *