‘संविधान चोक’ मा राजा महेन्द्रको सालिक पुनःस्थापना गरिँदै: आठ दलको आपत्ति, पत्रकारले दिए तोड्ने धम्की – Nepal Press

‘संविधान चोक’ मा राजा महेन्द्रको सालिक पुनःस्थापना गरिँदै: आठ दलको आपत्ति, पत्रकारले दिए तोड्ने धम्की

शान्तिपूर्ण रुपमा सालिक स्थापना गर्छौं- राप्रपा, मुठभेड हुनसक्छ- आठ दल

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कञ्चनपुरको महेन्द्रनगरस्थित ‘संविधान चोक’मा आगामी २८ गते स्वर्गीय राजा महेन्द्रको सालिक ठड्याउने तयारी गरेको छ । राप्रपाको सो तयारी विथोल्न गणतन्त्रवादी ८ दल एकजुट भएका छन् ।

राप्रपाले महेन्द्रनगरमा बृहत आमसभासहित राजा महेन्द्रको सालिक पुनःस्थापना गर्न लागेको हो । यहाँ पहिले पनि महेन्द्रको सालिक थियो । तर, २०६२/६३ को आन्दोलनमा प्रदर्शनकारीले सालिक भत्काइदिएका थिए । त्यसयता यो चोकलाई ‘संविधान चोक’ नामाकरण गरिएको थियो भने राजाको सालिक रहेको स्थानमा नेपालको झण्डा राखिएको थियो । अहिले यही ठाउँमा राजाको सालिक पुनःस्थापना गर्न लागिएको हो ।

अघिल्लो दिन कैलालीको पहलमानपुरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरुको उपस्थितिमा भव्य कार्यक्रम गर्ने राप्रपाको तयारी छ । भोलिपल्ट महेन्द्रनगरमा महेन्द्रको सालिक पुनःस्थापना गरिनेछ ।

‘हामीले सम्पूर्ण तयारी गरेका छौं । महेन्द्रनगरमा २८ गते राजा महेन्द्रको सालिक हामी स्थापना गर्छौं’, राप्रपाका सुदूरपश्चिम प्रदेश प्रवक्ता छत्र शाहीले भने, ‘पार्टी अध्यक्षलगायतका नेताहरूबाट सालिक स्थापना हुनेछ ।’

सालिक लगभग निर्माण भइसकेको र अरु तयारी पनि भइरहेको प्रवक्ता शाहीले जानकारी दिए ।

राप्रपाले महेन्द्रको सालिक स्थापनाको तयारी गर्दा यहाँका विभिन्न ८ दल भने विरोधमा उत्रिएका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गरेको सर्वदलीय बैठकमा राप्रपा अध्यक्षले राजा महेन्द्रको सालिक स्थापना गर्ने बताएपछि बैठकमै अन्य दलले आपत्ति जनाएका थिए । त्यसपछि त्यहाँ सहमति हुन सकेन ।

कांग्रेसलगायतका दलहरूले सालिक स्थापना गर्न नदिने भन्दै विरोध गरे । राप्रपा भने सालिक स्थापना गर्ने अडानमा उभियो । ‘त्यो संविधान चोक हो । त्यहाँ महेन्द्रको सालिक राख्ने कुरा राम्रो होइन’, कांग्रेस कञ्चनपुर जिल्ला सभापति पदम बोगटीले भने, ‘व्यवस्थाविरोधी कदमको हामी विपक्षमा छौं ।’

कांग्रेसको नेतृत्वमा यहाँका ८ दलले सालिक राख्न नदिने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका छन् । कांग्रेससहित, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संयुक्त विज्ञप्ति निकालेका हुन् ।

विज्ञप्तिमा संविधान चोकमा महेन्द्रको सालिक राख्ने काम संविधानको बर्खिलाप र व्यवस्थाविरुद्ध रहेको दाबी गरिएको छ । आठ राजनीतिक दलले सालिक राख्ने विषयको निन्दा गर्दै उक्त काम रोक्न स्थानीय सरकार र प्रशासनसमक्ष मागसमेत राखेका छन् ।

त्यो क्षेत्रमा अहिले कुनै व्यक्तिको सालिक राख्न नसकिने कांग्रेस सभापति बोगटीको भनाइ छ । उनले त्यस्तो गर्दा प्रशासन र राप्रपाबीचमा मुठभेड हुनसक्ने उनी बताउँछन् ।

‘जनआन्दोलनपछि त्यसलाई संविधान चोक घोषणा गरिएको हो । त्यहाँ कसैको सालिक राख्न पाइँदैन’, उनले भने, ‘प्रशासन पनि यो विषयमा गम्भीर छ । मुठभेडको अवस्था पैदा हुनसक्छ ।’

राप्रपाका प्रदेश प्रवक्ता शाहीले भने सालिक स्थापना गर्ने तर मुठभेड नगर्ने स्पष्ट पारे ।

‘सबै जनताको खुशीका साथ त्यहाँ सालिक राख्ने तयारी गरेका हौं । अहिले केही व्यक्ति र पार्टीले विरोध गरेको पनि सुन्न आएको छ । तर, आमनागरिक हाम्रो कदमको पक्षमा हुनुहुन्छ’, उनले भने, ‘अहिले हामीविरुद्ध प्रशासन प्रयोग गर्न खोजेको जस्तो देखिएको छ । हामी मुठभेड चाहन्नौं । शान्तिपूर्ण रुपमा सालिक स्थापना गर्छौं ।’

सालिक तोड्ने पत्रकारको धम्की

कञ्चनपुरका एक गणतन्त्रवादी पत्रकारले राजा महेन्द्रको सालिक स्थापना गरिएको खण्डमा तोड्ने धम्की दिएका छन् । उनले सामाजिक सञ्जालमै लेखेर यस्तो धम्की दिएका हुन् ।

पत्रकार खेम भण्डारीले लेखेका छन्, ‘महेन्द्रको सालिक स्थापना भए तोडिन्छ, किन भने सामन्ती अवशेष स्वीकार्य छैन । जनताका छोराले २३५ वर्षको राजतन्त्रको अँध्यारो सम्झिनुपर्छ र पश्चगमनलाई दासता ठान्नुपर्छ । गणतन्त्रवादी एकजुट होऔं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर