शेयर बजारमा उछाल: विश्लेषकहरु भन्छन्- अझै केही दिन कायम रहनसक्छ – Nepal Press

शेयर बजारमा उछाल: विश्लेषकहरु भन्छन्- अझै केही दिन कायम रहनसक्छ

काठमाडौं । लामो समयपछि नेपालको शेयर बजारमा उछाल आएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीति लिएको थियो । त्यसलगत्तै आज शेयर बजारमा २ पटक सकारात्मक सर्किट लागेर बजार बन्द भयो ।

राष्ट्र बैंकले ल्याएको नयाँ नीतिगत व्यवस्थाले बजार चलायमान हुने अपेक्षा गरिएको थियो । सोहीअनुसार नै बजार आज वृद्धि भएको दाबी गरिएको छ ।

राष्ट्र बैंकले समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाइ १२५ प्रतिशत कायम गरेको थियो । यो नयाँ व्यवस्था हो ।

के भन्छन् लगानीकर्ता र विश्लेषकहरु ?

अहिले एकाएक बढेको शेयर बजार बुझेर नबढेको शेयर विशलेषक केशव श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘लामो समयदेखि बजार ओरालोतिर मात्रै गइरहेको थियो । अहिले एक्कासि बढ्नु भनेको लगानीकर्ताहरुको सेन्टिमेन्ट पोखिनु हो । समग्रमा हेर्दा यसले त्यस्तो असर पार्दैन । शेयरकर्जामा र रियल स्टेटतर्फ केही हदसम्म राहत प्रदान गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रदान गरेको खुकुलोपनले लगानीकर्ताहरुलाई उत्साहित बनाएको हो भन्न मिल्छ ।’

राष्ट्र बैंकले रियल स्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशत बनायो । तर, यसलाई १०० प्रतिशतमा झर्दा पनि केही फरक पर्ने श्रेष्ठ बताउँछन् । ‘खासमा १०० प्रतिशतसम्म जोखिमभार राख्दा लगानीकर्ता र ऋणीहरुलाई धेरै राहत मिल्ने देखिन्छ’, उनले भने, ‘तर, मौद्रिक नीतिले १२५ प्रतिशत पुर्‍याएको कुरालाई नकारात्मक भन्न मिल्दैन ।’

उनका अनुसार अहिले बढिरहेको शेयर बजार केही दिनसम्म कायम नै रहनसक्छ ।

‘हाम्रो मार्केट हल्लाको पछि लाग्ने रहेको छ । जसले गर्दा साना लगानीकर्ताहरुले अलिक सजक रहनुपर्ने हुन्छ । मारमा रहेका अथवा फसेका लगानीकर्ताहरुलाई अहिले बाहिर ‘इक्जिट’ हुने राम्रो मौका हो’, विश्लेषक श्रेष्ठले भने, ‘अहिलेको बजारबाट सबैले फइदा उठाउन सकिन्छ ।’

राष्ट्र बैंकले गरेको परिवर्तनले शेयर बजार केही हदसम्म बढेको र त्यसलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिनुपर्ने लगानीकर्ता डुपेन्द्र भट्टराई बताउँछन् ।

भट्टराई भन्छन्, ‘लामो समयदेखि शेयर बजार निकै तल खस्केको देखिन्छ । अहिले अधिकांश बैंकले आफ्नो ब्याजदर घटाउँदै गएका छन् । यससँगै पहिलो मौद्रिक नीतिको समीक्षामार्फत लगानीकर्तालाई केही प्रेरित गर्ने गरेको देखिन्छ । जसको प्रत्यक्ष असर आजको बजारलाई देख्न सकिन्छ ।’

उनका अनुसार शेयर बजारलाई प्रभाव पर्ने तत्व भनेको राष्ट्र बैंकको नीति हो । जुन अहिले देखिरहेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत घर कर्जाको जोखिम भार घटाएको छ । बैंकदर, नीतिगत दर र निक्षेप संकलन दरलाई पनि घटाएको छ ।

आज नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३ बिन्दुमा कायम भएको छ । जहाँ १३ लाख ६७ हजार ६१५ कित्ता शेयरको खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर