आफ्नै ठूलोबुवाको घरमा गोली प्रहार गर्दै एक करोड मागेपछि… – Nepal Press

आफ्नै ठूलोबुवाको घरमा गोली प्रहार गर्दै एक करोड मागेपछि…

हेटौँडा । आफ्नै ठूलोबुवाको घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ माग्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले रकम माग्ने योजनाकार हेटौँडा ९ का ३३ वर्षीय निश्चल पौडेलसहित ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई सार्वजनिक गरेको हो ।

गत मंसिर १९ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का स्थानीय सूर्यप्रसाद पौडेलको घरको भित्तामा एक्कासि गोली प्रहार भएको थियो ।

रातको समयमा घरको भित्तामा एक्कासि गोली वर्षात गर्दै घटनाका मुख्य योजनाकार निश्चलले उनका सहोदर ठूलोबुबा सूर्यप्रसादलाई आतङ्कित बनाएका थिए ।

गोली प्रहारपछि निश्चलले नयाँ नम्बरबाट फोन गरेर हिन्दी भाषाको प्रयोग गर्दै एक करोड रुपैयाँ माग गरेका थिए ।

हिन्दी सिनेमामा जस्तै आवाज निकालेर उनले यो ‘ट्रेलर’ मात्र भएको भनेको समयमा रकम नदिए अर्को पटक जस्तोसुकै घटना हुने चेतावनी समेत दिएका थिए ।

उनले मोबाइल मार्फत धम्की दिँदै ‘यो संकेत मात्र हो, दिएनौ भने जे पनि गर्छु’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

एक्कासि घरको भित्तामा गोली प्रहार र आफूसँग एक करोड नगद मागेपछि आत्तिएका सूर्यप्रसादले तुरुन्त प्रहरीलाई खबर गरे । प्रहरी पनि उक्त घटनाको सूक्ष्म अध्ययनमा लाग्यो ।

मकवानपुरका प्रहरी प्रमुख समेत रहेका एसपी सिताराम अर्याल आफै उक्त घटनाको अनुसन्धानमा सक्रिय बने र प्रहरीले सिसिटिभी फुटेजको आधारमा सूर्यप्रसादका सहोदर भतिजो निश्चलको संलग्नता देखेपछि उनको खोजीकार्य सुरु भयो ।

प्रहरीले हेटौँडा ९ घर भए पनि हेटौँडा ४ मा डेरागर बस्ने निश्चल सहित संलग्न ३ जनालाई हेटौँडा १० बाट पक्राउ गर्न सफल पनि बन्यो ।

तीन दिन लगाएर उक्त घटनाको अनुसन्धान पछि घटनाको सत्यतथ्य पत्ता लागेको प्रहरी उपरीक्षक रिजालले बताए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरू बस्ने कोठामा छापा मार्दा २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलिग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाउने जनाएको छ ।

यो निकै गम्भीर किसिमको घटना भएको भन्दै प्रहरीले यस घटनासँग जोडिएको थप विषयमा समेत अनुसन्धान जारी राखेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *