कांग्रेसमा महासमिति बैठकको चटारो: देउवा उदासीन, गगन-विश्वले कसरी डोर्‍याउलान् ? – Nepal Press

कांग्रेसमा महासमिति बैठकको चटारो: देउवा उदासीन, गगन-विश्वले कसरी डोर्‍याउलान् ?

काठमाडौं । नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी थालेको छ । कांग्रेसमा महाधिवेशनपछि महासमितिलाई शक्तिशाली अंग मानिन्छ । यसै बैठकको आन्तरिक तयारी सुरु भए पनि सभापति शेरबहादुर देउवा भने उदासीन देखिएका छन् ।

असोज पहिलो साता बसेको केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति तय गर्दै सभापति देउवाको नेतृत्वमा महासमिति मूल आयोजक समिति गठन गरेको थियो । तर, आयोजक समिति गठन भएको दुई महिना बित्दासमेत एउटा पनि बैठक बस्न सकेको छैन ।

देउवाको उदासीनताले केन्द्रीय समिति बैठकले पारित गरेको महामन्त्री गगन थापाको क्यालेण्डरअनुसार पार्टी चल्न सकेको छैन । अझै विभागहरुले पूर्णता पाएको छैन । भ्रातृ संगठनहरुको अवस्था पनि उस्तै छ ।

पार्टीको नीति र आगामी कार्यदिशालाई केन्द्रित गरेर बस्न लागेको बैठकमा महामन्त्री थापाले पार्टीको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्ने जिम्मेवारी पाएका छन् । त्यहीअनुसार महामन्त्रीद्वय पार्टीलाई गति दिनेगरी प्रस्तावको गृहकार्यमा छन् ।

केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको लागि हल बुक गरिसकेको बताउँछन् ।

उनले भने, ‘हाम्रो यो नीति अधिवेशन पनि हो । त्यसैले यहाँ पेश गर्न प्रस्तावहरु तयार भइरहेका छन् । नीति अधिवेशन भएकाले मुलुकमा अहिले विद्यमान विकृति र विसंगतिहरुको अन्त्य गरेर सिंगो मुलुकलाई दिशानिर्देश गर्ने ढंगले बैठक जान्छ ।’

यो बैठकपछि अहिले जनतामा देखिएको निराशा अन्त्य गर्नेगरी निष्कर्ष निकाल्ने उनको भनाइ छ । उनले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टीका सबै पदाधिकारी र आवश्यक पर्ने विषय विज्ञहरुलाई समेटेर कमिटी बनाएर काम गरिरहेको बताए ।

मुख्य सचिव पौडेलले भने, ‘उपसभापतिले आवश्यक पर्ने बैठक गरिराख्नुभएको छ । आज पनि थियो । त्यहाँ पनि प्रस्तावहरु तयार हुँदैछ ।’

उनले १६५ निर्वाचन क्षेत्रमध्ये १५० बाट महासमिति सदस्य निर्वाचित भइसकेको दाबी गरे । उनले भने, ‘करिब १५० क्षेत्रमा सदस्य निर्वाचित भइसकेका छन् । बाँकी क्षेत्रमा चाँडै टुंग्याउन भनेका छौं ।’

कांग्रेसको विधानमा हरेक निर्वाचन क्षेत्रबाट ११ जना महासमिति सदस्य हुने व्यवस्था छ । तर, उनले सभापति देउवाको नेतृत्वमा गठन भएको मूल आयोजक समितिको बैठक अहिलेसम्म एक पटक पनि नबसेको बताए । सभापति देउवाकै नेतृत्वमा गठन भएको समितिको बैठक आवश्यकताको आधारमा बस्ने उनको भनाइ छ ।

उनले प्रचार, आवास र खानालगायत आवश्यक विभाग गठनको तयारीमा रहेको सुनाए । बैठकको तयारी तीव्र रुपमा आफूहरुले गरिरहेकाले सर्ने कुनै सम्भावना नरहेको मुख्य सचिव पौडेलेको जिकिर छ ।

उनले भने, ‘बैठकमा एउटा महामन्त्रीबाट सांगठनिक र अर्कोबाट समसामयिक प्रस्ताव बैठकमा आउँछन् । त्यसमा राजनीतिक, सामाजिक, आर्थिक, परराष्ट्रलगायतका विषय समेटिएका हुन्छन् ।’

त्यसो त महामन्त्रीद्वयले महासमितिको बैठकबाट पार्टीलाई ट्रयाकमा ल्याउनेगरी प्रस्ताव ल्याउने तयारी गरेका छन् । पार्टीलाई नीति र विधिअनुसार अगाडि लानुपर्नेमा उनीहरुको जोड हुनेछ ।

पार्टीलाई कार्यतालिकाअनुसार चलाउन १५औं महाधिवेशन २०८२ भित्रै गर्ने प्रस्ताव लाने तयारी गरिएको छ । देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित युवा पंक्तिलाई अगाडि सारेर आफूले नेतृत्व लिन खोजेका गगनले तोकिएकै समयमा महाधिवेशन गर्न नेतृत्वमाथि दबाब बढाउन थालेका छन् । सोहीअनुरुप महासमितिको बैठकमा पनि प्रस्तुत हुने तयारी थालेका छन् । उनीहरुलाई युवा पंक्तिको साथ पनि छ ।

कांग्रेसको विधानअनुसार ४ वर्षमा महाधिवेशन गर्नुपर्नेछ । तर, सभापतिलाई आफ्नो कार्यकाल थप डेढ वर्ष लम्ब्याउन सक्ने अधिकार छ । देउवाले आफ्नो कार्यकाल विगतमा झैं बढाउनसक्ने भएकाले पार्टीका गतिविधि नियमित गर्न भन्दै २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव ल्याउने तयारी गरेको महामन्त्री थापा निकट नेताहरु बताउँछन् । तर, कांग्रेसमा क्रियाशील सदस्यता विवादको कारणले यसअघि तोकिएको समयमा हुन सकिरहेको छैन ।

महामन्त्री थापा १५औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै छाड्ने दाबी गर्छन् । ‘यस पटक विधानले तोकेको समयभन्दा महाधिवेशन पछि सर्दैन । २०८२ मा महाधिवेशन गर्नैपर्छ । २०८२ सालको मंसिर उता महाधिवेशन एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन । जान दिइन्न’, महामन्त्री थापाले भन्दै आएका छन् ।

त्यसो त केन्द्रीय सदस्य नैनसिंह महर पनि पार्टीको कमीकमजोरीलाई सुधार गरेर महासमितिको बैठकपछि नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिन्छन् ।

उनले भने, ‘हाम्रा कमी कमजोरी छन् । कांग्रेसले आफैंबाट सुधारको प्रक्रिया थाल्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ । प्रजातान्त्रिक आचरणअनुसार अगाडि बढ्ने वातावरण आफैंभित्र सिर्जना गर्न जरुरी छ ।’

नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूले गरेको संघर्षबाट प्राप्त संविधानलाई पूर्ण कार्यान्वयन गराउन, व्यवस्थाको रक्षा गर्न, अहिले जनताको निराशा अन्त्य गर्न बैठकले ठोस योजना अख्तियार गर्नुपर्ने उनको बुझाइ छ ।

कांग्रेसमा पछिल्लो समय निर्वाचन प्रणाली सुधारदेखि हिन्दू राष्ट्रको पक्षमा पार्टीलाई उभ्याउन नेताहरूले दबाब बढाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर