प्रदीप ज्ञवालीको प्रश्न- सरकार र दुर्गा प्रसाईंको अराजकताको ‘नेक्सस’ के हो ? – Nepal Press

प्रदीप ज्ञवालीको प्रश्न- सरकार र दुर्गा प्रसाईंको अराजकताको ‘नेक्सस’ के हो ?

‘राजावादीसहित नेपाललाई अस्थिरतातर्फ धकेल्न चाहनेहरुले ट्रायल गर्दैछन्’

काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले आफ्नो आर्थिक असफलतालाई राजनीतिक आवरण दिएर उन्मुक्ति खोजिरहेको टिप्पणी गरेका छन् । प्रसाईंको पर्दा पछाडि बसेर व्यवस्थाविरुद्ध केही तत्वहरुले ट्रायल गर्न खोजे जस्तो देखिएको उनको भनाइ छ ।

उनले नेपाल प्रेससँग भने, ‘नेपाललाई अनन्तसम्म अस्थिरतामा कायम राखिराख्ने, नेपाल बलियो, एकताबद्ध बनेको देख्न नचाहनेहरुले पनि माहोल सिर्जना भयो भने आफूहरुलाई खेल्न पाइने भएकाले यस्ता खालका शक्तिहरु पनि लागेको देखिन्छन् ।’

उनको भनाइ जस्ताको तस्तैः

उहाँ (दुर्गा प्रसाईं)ले आफ्नो आर्थिक असफलतालाई राजनीतिक आवरण दिएर उन्मुक्ति खोजिराख्नु भएको छ । उहाँको आवरणमा पर्दा पछाडि विभिन्न पात्रहरु लागेको देखिन्छ । अहिले स्वार्थ समूहहरु जोडिएका छन् । एउटै विचारबाट निर्देशित देखिँदैन । केही राजावादीहरु छन् । तर, सबै राजावादीहरु छैनन् । राप्रपा आफैं त्यसमा असहमत देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएका मान्छेहरुलाई आन्दोलन सफल भयो भने मिनाहा हुन्छ भनेर भ्रम दिइराख्नुभएको छ ।

विभिन्न राजनीतिक दलहरुमा महत्वाकांक्षा नपुगेका व्यक्तिहरुको पनि छहारी बन्न खोजे जस्तो देखिन्छ । कुनै संगठित अभियान होइन । आफ्नो अभियानलाई राजनीतिक आवरण दिएर भोलिका दिनमा कुनै कानूनी अफ्ठ्यारो आइपर्‍यो भने पनि लेपन लगाउने उद्देश्य देखिन्छ ।

अहिले समाजलाई अराजकतातिर लैजाने प्रयास भइरहेको छ । गणतन्त्र, लोकतन्त्र र वर्तमान व्यवस्थाकै विरुद्धको माध्यम बनाउन सकिन्छ कि भनेर पर्दा पछाडि लागेको पनि देखिन्छन् । दुर्गा प्रसाईं आफैंमा अविश्वसनीय र आर्थिक अपारदर्शी भएका मान्छे भएकाले आफ्नो सारा गल्ती ढाकछोप गर्न राजनीतिक आवरण दिन खोजे जस्तो देखिन्छ । व्यवस्थाविरुद्ध उहाँलाई अगाडि ल्याएर पर्दा पछाडि बसेको मान्छेहरुले ट्रायल गर्न खोजे जस्तो देखिन्छ । वर्तमान संविधानप्रति हामीले बुझेको हो, तीनचार खालका मान्छेहरु असन्तुष्ट छन् । कतिपय बाह्य पक्षहरु नेपालले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर आफैं संविधान बनायो, त्यसअघि नेपालको राजनीति बाह्य शक्तिको नियन्त्रणमा थियो । तर, संविधान बनाउने बेलामा आफ्नो निणन्त्रणमा रहेन ।

नेपालको राजनीतिक दलहरुले आफ्नो संविधान आफैं बनाए । कतिलाई चित्त बुझेको छैन । ती शक्तिहरु अहिले संविधान च्यातियोस् भन्ने चाहन्छन् । अब राजालाई त आफ्नो गुमेको स्वर्ग फर्काउन पाए हुन्थ्यो भन्ने छँदैछ । दरबारको वरिपरि रहेका मान्छेहरु पनि जवाफदेहीविना नै सत्ता चलाइरहन्थे । तिनीहरु पनि यसका पछाडि हुने नै भइहाले ।

यस्तै नेपाललाई अनन्तसम्म अस्थिरतामा कायम राखिराख्ने, नेपाल बलियो, एकताबद्ध बनेको देख्न नचाहनेहरुले पनि माहोल सिर्जना भयो भने आफूहरुलाई खेल्न पाइने भएकाले यस्ता खालका शक्तिहरु पनि लागेको देखिन्छन् ।

अब अनौठो लागेको चाहिँ वर्तमान सरकार र गठबन्धन प्रतिक्रियाविहीन छ । प्रधानमन्त्रीले शपथ खानुभएको छ, म संविधानको रक्षा गर्छु भनेर । एउटा पात्र र उनका केही अनुयायीहरु चाहिँ खुलेयाम यो संविधान जलाउँछु भन्छन्, पुरानो राष्ट्रिय गान बजाउँछन्, दिन नै तोकेर यो दिनमा राजा फर्काउँछु भन्छन् । सारा नेताहरुलाई बद्नाम गराएर भ्रम प्रचार गरिरहेका छन् ।

तर, सरकार मौन छ । त्यसैले सरकार र गठबन्धनले यो चाहिँ एमालेको समस्या ठानेका हुन् कि ? अथवा योबारे बेखबर रहेको हो कि ? सरकारको मौन सहमति हो कि त्यो चाहिँ थाहा भएन । तर, सरकारको रेस्पोन्स राम्रो देखिँदैन । सरकारले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्‍यो । पोलिटिकली सामना गर्ने हो ।

अब ठाउँठाउँमा निषेधाज्ञा गर्ने कुरा प्राविधिक हो । सरकार र गठबन्धनको दृष्टिकोण के हो त ? एउटा पक्ष खुलेआम अराजकतामा उर्लिंदा अरु बेलामा भागबन्डा मिलाउन कति छिटोछिटो गठबन्धनको बैठक बस्छन्, यत्रो ठूलो राजनीतिक मुद्दामा नेताहरु बोल्नुपदैन ? प्रधानमन्त्री बोल्नुपर्दैन ? सरकार र यो अराजकताको नेक्सस के हो ? प्रश्न खडा भएको छ ।

यो स्थिति सिर्जना हुनुमा सरकारले पछिल्लो दुई वर्षयता गरेका कामहरुले समाजमा उत्पन्न गरेको निराशालाई ठाउँ दिएको छ । कतिपय त्यही मुद्दाहरुलाई उनीहरुले अगाडि सारेका छन् । सरकारको डेलिभर कम भागबन्डामा बढी केन्द्रित हुँदा जनतामा निराशा बढेको छ । त्यही निराशालाई अहिले दुरुपयोग गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “प्रदीप ज्ञवालीको प्रश्न- सरकार र दुर्गा प्रसाईंको अराजकताको ‘नेक्सस’ के हो ?

  1. दुर्गा उकास्ने सरकार हो , गठबन्धन हो । एमालेलाई गालि गरेको भनेर सन्चो मानेर उकासेका होलान । दुवैको मालिक एकै हुन् । सबै जनताले प्रदिप ज्ञावालीजस्तो महान नेताको चिन्ता सुन । यस्ता नेताको, उनको पार्टीको पो पछि लाग्ने । दुर्गा, प्रचण्ड, देउवाले देश बर्वाद पार्ने भए । यी सबैका निर्देशक एउटै दक्षिण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर