पुनर्निर्माणमा जुटेका एमाले स्वयंसेवक भन्छन्- सरकार नपुगेका ठाउँमा हामी खटिएका छौँ – Nepal Press

पुनर्निर्माणमा जुटेका एमाले स्वयंसेवक भन्छन्- सरकार नपुगेका ठाउँमा हामी खटिएका छौँ

पूर्वी रुकुम । नेकपा एमालेले तयार गरेको युवा स्वयंसेवक दस्ता अहिले जाजरकोट र रुकुममा खटिएको छ । विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको दस्ताले विगत पाँच दिन देखी जाजरकोट र रुकुममा पुनर्निर्माण तथा भग्नावशेष व्यवस्थापन गरिरहेको छ ।

‘यी बस्तीमा अहिले सम्म सरकार पुगेको छैन । हामी पुग्दा पीडितहरूले केही राहत महसुस गरेका छन्’, स्वयंसेवक दस्ताका प्रमुख पौडेलले भने ‘यो विषम परिस्थितिमा हामीले एमाले जनताको सुख दुखको साथी हो भन्ने देखाएका छौँ । ’

अहिले जाजरकोट र रुकुममा एमालेका ११०० स्वयंसेवक दस्ता खटिएका छन् । यो दस्ताले अहिले सम्म सयौँ घरको भग्नावशेष व्यवस्थापन गरेको र दर्जनौँ घर पुर्न निर्माण गरेर जनता हस्तान्तरण गरिसकेको छ ।

घर भत्किएर छोरा गुमाएका राम बहादुर ओलीले केही दिनमै आफ्नो लागि स्वयं सेवक दस्ताले राम्रो घर बनाइदिएपछि खुसी भएका थिए । उनले भने, ‘सरकारले केही गरेन तपाइहरूले घर बनाइदिनु भयो धन्यवाद छ हजुरहरूलाई ।’

अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । २५ जनाको दरले ४० समूहमा विभिन्न स्थानमा व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ ।

केही दिनदेखि भइरहेको पुर्न निर्माणले जनताको भावनामा एमाले प्रतिको विश्वास अझै बढेको जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ कल्पथमा श्रमदान गरिरहेको राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमका अध्यक्ष अरुण कँवरले बताए ।

अध्यक्ष कँवर नेतृत्वको टीममा प्रदेश महिला विभाग प्रमुख श्रेया राज्य लक्ष्मी सिह,कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापा,प्रदेश सदस्य बिराज धमला लगायत २३ जना छन् । उनीहरु अहिले सरकारले समेत गर्न नसकेको र नगरेको पुर्न निर्माण आफूहरूले गर्न पाएकोमा उत्साहित भएको बताउँछन् ।

‘यहाँ धेरै जनधनको क्षति भएको छ’, अध्यक्ष कुवरले भने, ‘कोही नहुनेहरूको लागि हामी छौँ भन्ने सन्देश दिने गरि हामीले काम गरिरहेका छौँ । अहिले सम्म सरकार पुगेको छैन तर, हामी लागिरहेका छौँ ।’

सानी भेरी गाउँपालिकामा खटिएका अनेरास्ववियु केन्द्रीय सदस्य किशोर शाह र सुदूरपश्चिम अध्यक्ष मनोज राई पनि अहिले आफूहरूले जनतालाई मलहम लगाउने काम गरिरहेको बताउँछन् ।

‘घरहरू भत्किएका छन् मान्छेहरू त्रसित छन् सरकार पुगेको छैन’, शाहले भने, ‘सरकार भन्दा पहिले हामीले पुनर्निर्माण गरिरहेका छौँ जनता पनि अहिले हामीसँगै लागेर ढलेको घर उठाउन लागिरहनु भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर