युवा संघको प्रदर्शन शान्तिपूर्ण, दुर्गा प्रसाईंको तनावपूर्ण – Nepal Press

युवा संघको प्रदर्शन शान्तिपूर्ण, दुर्गा प्रसाईंको तनावपूर्ण

प्रहरीले दुर्गा प्रसाईंको जनप्रदर्शनमा बल प्रयोग गर्दै भीडलाई दिनभरि तितरबितर बनायो

काठमाडौं । एमाले निकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको फरक दुई स्थानमा समानान्तर रुपमा आज आआफ्नो शक्ति प्रदर्शन गरे । दुवै प्रदर्शनमा बाक्लो जनसहभागिता थियो ।

व्यवसायी प्रसाईंले प्रदर्शनका लागि काठमाडौंबाट मानिसहरु उतारेका थिए । प्रहरीले तोकेअनुसार उनको जनप्रदर्शन बल्खु आसपासमा केन्द्रित थियो । युवा संघको प्रदर्शनमा उपत्यकाभित्रैको शक्ति खन्याइएको थियो । तीनकुनेदेखि कोटेश्वरसम्म उनीहरुले आफ्नो शक्ति प्रदर्शन गरेका थिए ।

दुवै प्रदर्शनको चरित्र र अवस्था नितान्त फरक रह्यो । युवा संघको प्रदर्शन शान्तिपूर्ण रह्यो । प्रहरीले कुनै हस्तक्षेप गरेन । प्रदर्शनकारीहरु सुरुमा तीनकुनेमा जम्मा भए । त्यहाँबाट कोटेश्वरसम्मको फन्को लगाएर फेरि तीनकुनेमै फर्किए । त्यसपछि त्यहाँ कोणसभा गरियो, जसमा महेश बस्नेतसहित एमालेका विभिन्न जनवर्गीय संगठनका नेताहरुले भाषण गरे ।

प्रसाईंको प्रदर्शन भने व्यवस्थित थिएन । मानिसहरु हजारौंको संख्यामा भए पनि एकै ठाउँ केन्द्रित हुन सकेनन् । बल्खुमा कार्यक्रम हुने भनिएको थियो । तर, कहाँनेर भन्नेमा प्रदर्शनकारीहरु नै अन्योलमा थिए । प्रहरीले बल्खुबाट परीक्षा नियन्त्रण कार्यालयपट्टिको सडकमा अलि पर कोणसभाका लागि तोकेको थियो । तर, त्यहाँ कुनै स्टेज बनाइएको थिएन । त्यसैले कुनै जुलुस कता, कुनै कता भइरहेका थिए ।

प्रहरीले तोकिदिएको स्थानबाट दुर्गा प्रसाईंले भाषण गरे । उनले अब निषेधित क्षेत्र तोडेर अगाडि बढ्ने भनेपछि प्रहरी सतर्क भयो । प्रसाईंको भाषणपछि प्रदर्शनकारीहरु कालिमाटीतर्फ अघि बढ्न खोजे । त्यसपछि उनीहरुलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीहरुमाथि अश्रुग्यास र पानीको फोहोरा हानियो । उनीहरु तितरबितर भए । कोही बल्खुको पुलपारि पुगे । कोही पनिका अगाडि त कोही कालिमाटीतिर छरिए ।

त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई बल्खु चोकमा ढिम्किन दिएन । जुन समूह जता छन्, त्यतै रोकिए । बल्खु चोकमा सर्वसाधारणलाई आवागमन गर्न दिइए पनि प्रदर्शनकारीलाई आउन दिइएन । बीचमा एकाध पटक प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा पनि गरे ।

यसअघि दिउँसो केही युवा संघका कार्यकर्ता मोटरसाइकलमा आएपछि दुर्गा प्रसाई‌ंका प्रदर्शनकारीसँग एकछिन झडप भएको थियो । दुवै पक्षले एकअर्कालाई ढुंगा हानेका थिए । त्यस क्रममा केही सवारीसाधनमा क्षति पुगेको छ ।

प्रहरीको नजरमा युवा संघ र दुर्गा प्रसाईको प्रदर्शन
एमालेका युवा विद्यार्थीहरुको प्रदर्शन शान्तिपूर्ण र व्यवस्थित देखिएको थियो भने दुर्गा प्रसाईको प्रदर्शन नेतृत्वविहीन देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् । कसैको पनि कमाण्ड नहुँदा तोडफोड र ढुंगामुढामा प्रदर्शनकारी उत्रिएका थिए । त्यसक्रममा बाध्य भएर बल प्रयोग गर्नु परेको र अश्रु ग्याँस प्रहार गरेर भीड तितरवितर नपारेको भए सार्वजनिक र व्यक्तिका सम्पत्तिमा थप क्षति हुने काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताएका छन् ।

एमालेका युवा विद्यार्थीको प्रदर्शनमा भने विभिन्न जनवर्गीय संगठन र पार्टीका सम्पर्क मन्चहरुले आ आफ्नो कमिटीमा आबद्ध कार्यकर्ताको हाजिरीसहित व्यवस्थित गरेकाले कसैले पनि कमाण्डबाहिर गएर अवान्छित गतिविधि गर्न पाएनन् ।

कार्यक्रम सम्पन्न भइसकेपछि सडकमा रहेको फोहोर समेत संकलन गरी सरसफाइ गरेर प्रदर्शनकारीहरु फर्किएको युवा संघका प्रवक्ता निरोज पौडेलले बताए । प्रहरीले दुर्गा प्रसाईको कार्यक्रममा अपेक्षित मान्छे नआएको जनाएको छ ।

एक अधिकारीले भने–हामीले ३० हजार प्लस मान्छे दुर्गा प्रसाईकोमा आउन सक्ने अनुमान गरेका थियौं तर १० हजार पनि पुगेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर