टेकोमा अड्याइएको संस्कृत विश्वविद्यालयको भवन- ८ वर्षसम्म न भत्क्यो न बन्यो – Nepal Press

टेकोमा अड्याइएको संस्कृत विश्वविद्यालयको भवन- ८ वर्षसम्म न भत्क्यो न बन्यो

काठमाडौं । काठमाडौंको वसन्तपुरमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन २०७२ वैशाख १२ को महाभूकम्पमा परेर आंशिकरूपमा क्षति पुग्यो । उक्त भूकम्पपछि देशभर पुनर्निर्माणको लहर चल्यो, बस्तीबस्तीमा नयाँ नयाँ घर बनेका छन् । तर, उपत्यकाका धेरै घरझैँ यो भवन पनि टेकोका भरमा अडिएको छ ।

८ वर्षदेखि जीर्णरूपमा उभिइरहेको भवन पुनर्निर्माण हुन त सकेन, आसपासका वासिन्दा र बाटो हिँड्नेहरूलाई त्राहीत्राही छ ।

काठमाडौं महानगरपालिका-२३ मा पर्ने यो भवन वरपरका वासिन्दा भन्छन्, ‘कहिले यो घर भक्तिएर आफ्नै टाउकोमा पर्छ थाहै छैन । भुइँचालो आयो भने, भाग्ने ठाउँ पनि हुँदैन ।’

भूकम्पलगत्तै स्थानीयले भवन भत्काउन माग गर्दै महानगरपालिकासमक्ष निवेदन दिएका थिए । तर, भत्काउने वा बनाउने विषयमा नियामक निकाय अन्योल देखिन्छ ।

भवन चारैतिबार लगाइएको टेकोमा अडिएको छ । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पको धक्काले इँटाहरू बाहिर निस्किएको छ ।

भवन बनाउने कि भत्काउने विषयमा नगरपालिकासँग छलफल भइरहेको वडा सदस्य गोपाल नापितले बताए ।

नापितले भने, ‘वडाले नगरपालिकासँग पहल गरेर बनाउने कोसिस गरिरहेको छ । नगरपालिकाले स्वीकृत नदिएसम्म हामीले भत्काउ मिल्दैन । पहिले पनि गर्छु भन्दाभन्दै यस्तै भयो । अहिलेका मेयरले गर्छु भनेका छन् हेरू के हुन्छ यस्तै छ ।’

२०४३ सालमा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयलाई प्रशासनिक कामकाज सञ्चालनका लागि वसन्तपुरमा अनुमति प्रदान गरियो । त्यो अनुमतिसम्बन्धी कागजपत्र भने केही नरहेको संस्कृत विश्वविद्यालयका सामान्य प्रसाशन महासाखा प्रमुख गिरीराज शर्मा अधिकारी बताउँछन् ।

अधिकारिका अनुसार तत्कालीन व्यवस्थाले ‘आफू गरी खा’ भन्ने मौखिक अनुमति प्रदान गरिएको थियो ।

उनले भने, ‘दाङ प्रमुख कार्यालयकै सम्पर्क कार्यालयका रूपमा वसन्तपुरको भवन सञ्चालन गर्दै आएका थियौं । ०७२ सालमा भएको भूकम्पपछि भवन आंशिक क्षति भयो । त्यसको लगत्तै त्यहाँ रहेको कार्यालयलाई व्यवस्थापन गर्न नसकिने भएकोले दाङमा सारियो । त्रिवि विश्वविद्यालयले पनि लिखित मान्यता नदिएकोले भवनलाई सार्ने भनियो । हामीले भवन बनाउन सक्ने अवस्था थिएन ।

महानगरपालिकालाई भवन निर्माणका लागि बारम्बार पत्राचार गरिएको सुनाउँदै उनले बजेट छुट्याएको भनिएपनि विविध कारण देखाएर बजेट अपुग भएको भन्दै काम अघि नबढेको सुनाए ।

महानगरपालिकालाई पुरातात्विक विभागले पत्र पठाइसकेको र विश्वविद्यालयको भवन भत्काउन अथवा बनाउनेबारे सुझावका लागि समिति बनाइएको महानगरले जनाएको छ । समितिको प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाइने बताइएको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *