चिसोका कारण जाजरकोटमा आठ भूकम्प प्रभावितको मृत्यु, कठ्याङ्ग्रिँदै छन् प्रभावित – Nepal Press

चिसोका कारण जाजरकोटमा आठ भूकम्प प्रभावितको मृत्यु, कठ्याङ्ग्रिँदै छन् प्रभावित

जाजरकोट । चिसोका कारण जाजरकोटमा आठ जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका दीर्घ रोगी तथा बिरामी रहेकाहरू बढी प्रभावित भएका छन् ।

दीर्घ रोगी तथा बढी बिरामी भएकाहरू चिसोका कारण थप समस्यामा परेको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

अहिले सम्म आठ जानको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए ।

त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घ रोगी र वृद्ध वृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्ध वृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ।

आफ्ना २ बच्चाहरूमा स्वास्थ्य समस्या देखिएको आरती परियारले बताइन् । घर बस्न लायक भएको छैन । ‘यहाँ आएर बसेको पनि लामो समय भइसक्यो बच्चाहरु बिरामी भइरहेका छन् ’ उनले भनिन् ‘खोकी लागिरहेको सास फेर्न समस्या भइरहेको छ ।’

यस्तै समस्या चेतना विकले पनि सुनाइन् । उनले भनिन् ‘ २ बच्चाहरूलाई गारो भइरहेको छ । अझै केही दिन यहाँ बस्दा अझै समस्या हुने देखिन्छ ।’

१७ जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १५४ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । अहिले विस्थापित भएका अधिकांश खुल्ला आकाश मुनी त्रिपालको सहारामा बस्न बाध्य छन् । उनीहरूले अहिले सम्म राहत समेत पाउन नसकेको गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर