पारिश्रमिक बढाउन माग गर्दै बङ्गलादेशमा तयारी पोशाक श्रमिकहरु उत्रिए सडकमा – Nepal Press

पारिश्रमिक बढाउन माग गर्दै बङ्गलादेशमा तयारी पोशाक श्रमिकहरु उत्रिए सडकमा

ढाका । सरकारले गरेको पारिश्रमिक वृद्धि प्रस्ताव अत्यन्त कम भएकाले उचित पारिश्रमिकको माग गर्दै बङ्गलादेशका सयौं तयारी पोशाक श्रमिकले आइतबार जुलुस निकालेका छन् । गत महिना सुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या बढेर चार पुगेको छ ।

एक दशकमा सबैभन्दा खराब श्रमिक अशान्तिले बङ्गलादेश स्तब्ध छ । न्यूनतम पारिश्रमिक तीन गुणाले बढाएर २३ हजार टाका (२०८ अमेरिकी डलर) बनाउनुपर्ने माग गर्दै हजारौं श्रमिक प्रहरीसँगको झडपमा परेका छन् । प्रदर्शनका क्रममा सयौं कारखाना क्षतिग्रस्त भएका छन् ।

बङ्गलादेशको तीन हजार ५०० तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्छन् ।

तर, यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ । यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार ३०० टाका (७५ अमेरिकी डलर)बाट सुरु हुन्छ ।

सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६.२५ प्रतिशतले वृद्धि गरेको थियो । श्रमिकहरूले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् । पारिश्रमिकको वृद्धि प्रस्तावपछि तिनीहरूको विरोध प्रदर्शन बढ्दै गएको छ र यस अवधिमा कम्तीमा ७० कारखानामा तोडफोड गरिएको छ । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर