मुख्यमन्त्री र स्वास्थ्यमन्त्री अमेरिकामा : लुम्बिनीका १३ अस्पतालमा अध्यक्ष मनोनयन – Nepal Press

मुख्यमन्त्री र स्वास्थ्यमन्त्री अमेरिकामा : लुम्बिनीका १३ अस्पतालमा अध्यक्ष मनोनयन

कार्यवाहक मुख्यमन्त्रीले कर्णालीवासीलाई लुम्बिनीमा अध्यक्ष बनाएको भन्दै माओवादीभित्र रडाको

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा रहेको समयमा प्रदेशमा रहेका १३ सरकारी अस्पतालमा अध्यक्ष मनोनीत भएका छन् ।

सरकारले राजनीतिक भागबन्डाको आधारमा अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरेको हो । सत्तारूढ दलहरू नेपाली कांग्रेसलाई ६, नेकपा माओवादी केन्द्रलाई ४ र अन्य साना दललाई ४ वटा अस्पतालको अध्यक्ष दिएर सत्तारुढ दलको दलहरूको भागबन्डामा सरकारले अस्पताल विकास समिति अध्यक्ष मनोनयन गरेको हो ।

कांग्रेसबाट लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवनप्रसाद वझा, प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखाँची अस्पतालमा लीलाधर बस्याललाई अध्यक्षमा मनोनीत भएका हुन् ।

माओवादीले दाङको राप्ती प्रादेशिक, नवलपरासीको परासी, पाल्पा, रुकुम पूर्वको अस्पतालको अध्यक्ष पाएको हो । कपिलवस्तुमा जसपाले पाएको हो ।

कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा. अनन्तकुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुम पूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई नियुक्त गरेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा दीपक शाहलाई नियुक्त गरिएको छ ।

यसअघिको मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका अध्यक्षहरूलाई गत कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले हटाइएको थियो।

कात्तिक १ गते बसेको लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठनको गठन आदेश खारेज गर्ने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समितिहरूको गठन आदेश खारेज गरेको थियो।

२४ दिनदेखि खाली रिक्त रहेका अस्पताल विकास समितिका अध्यक्षहरूमा यही कात्तिक २३ गते बसेको कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले नियुक्ति गर्ने निर्णय गरेको र सबै दलको सहमतिमा टुंगाइएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेले जानकारी दिए ।

अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली, २०८० को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम स्वास्थ्य मन्त्रालयको कार्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको छ । नियुक्ति बारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित अस्पताललाई बोधार्थ पठाइएको छ ।

कर्णालीवासीलाई राप्ती प्रादेशिकको अध्यक्ष बनाएको भन्दै माओवादीमै रडाको

माओवादी कोटामा दाङको राप्ती प्रादेशिक अस्पतालको अध्यक्ष अर्को प्रदेशका व्यक्तिलाई बनाएको भन्दै स्थानीय नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । कार्तिक १९ गतेदेखि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी दुई वटा कार्यक्रममा सहभागी हुन अमेरिकामा छन् ।

उनले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिएका छन् । कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले आफ्ना नजिकका मान्छेलाई पार्टी निर्णय विपरीत अस्पताल विकास समितिको अध्यक्ष बनाएको आरोप लागेको छ ।

मास्कीले आफ्नो भान्जी ज्वाइँ नाता पर्ने दीपक शाहलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको आरोप छ । कर्णाली प्रदेशको सल्यान जिल्ला घर भएका शाहलाई अस्पताल विकास समितिको अध्यक्ष बनाइएको छ ।

२०७९ मा शारदा नगरपालिका १५ मा वडा अध्यक्षमा माओवादी केन्द्रबाट चुनाव लडेका थिए । तर, उनी तेस्रो भएका थिए । हाल दाङको बबई गाउँपालिका-४ तोकेर मनोनयन पत्र दिइएको छ ।

माओवादीका स्थानीय नेता कार्यकर्ताले स्वास्थ्य मन्त्रालयमा शाह यहाँको स्थानीय नभएको भन्दै रोक्न दबाब दिएका थिए । तर माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले भने शाह दाङकै बासिन्दा भएको पार्टी रेकर्डमा रहेको बताए ।

उहाँ हाम्रो पार्टीको रेकर्डमा दाङको बासिन्दा हो, पार्टीबाट निर्णय भएर मनोनयन हुनुभएको हो अरू पनि आकांक्षी हुने कुरा स्वभाविक हो । मनोनयनको विरोधमा पार्टीमा केही निवेदन परेको छैन’ उनले भने, ‘हिजोका स्थायी घर जहाँ परे पनि अहिले उहाँ दाङकै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर