आर्थिक मन्दीका बेला भरतपुर भ्रमण वर्ष २०२४ को तयारी, के छन् मुख्य चुनौती ? – Nepal Press

आर्थिक मन्दीका बेला भरतपुर भ्रमण वर्ष २०२४ को तयारी, के छन् मुख्य चुनौती ?

चितवन । देशकै तेस्रो पर्यटकीय गन्तव्य अन्तर्गत रहेको चितवनमा रहेको एक स्थानीय तह भरतपुर महानगरले क्षेत्र सन् २०२४ लाई भ्रमण वर्षको रूपमा मनाउन लागेको छ ।

चितवनमा घुम्न आउने पर्यटक मुख्य गरी रत्ननगर नगरपालिका अन्तर्गत रहेको सौराहामा बढी पुग्ने गर्दछन् । सौराहा नाकाबाट बढी निकुञ्ज घुम्न पर्यटक भित्रिने गरेका छन् ।

निकुञ्जको प्रवेश द्वार भरतपुरको तीन ठाउँबाट रहेपनि सौराहा क्षेत्रबाट नै बढी पर्यटक भित्रिने गरेका छन् । तुलनात्मक रूपमा भरतपुरका विभिन्न गन्तव्यमा कम मात्रै पर्यटकहरू आउने गरेको अवस्थामा भरतपुर महानगरले आफ्नो पालिका अन्तर्गतका पर्यटकीय क्षेत्रहरू प्रचार गर्न भ्रमण वर्षको तयारी गरेको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सात लाख पर्यटक महानगरमा भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागेको जानकारी दिइन् ।

चितवन नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ लगायत लोपोन्मुख जनावरहरू पाइन्छन् । तिनै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पर्यटकहरू आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जको राजस्व संकलनको मुख्य स्रोत पनि निकुञ्ज घुम्न आउने पर्यटक नै हुन् ।

महानगरअन्तर्गत पनि निकुञ्जको क्षेत्र पर्दछ । विश्व रामसार सूचीमा सूचीकृत बीस हजारी ताल लगायतका पर्यटकीय क्षेत्रहरू भरतपुर नगरपालिका भित्र छन् । तर, निकुञ्जको पूर्वी भेगमा रहेको सौराहालाई चितवनमा घुम्न आउने पर्यटकले गन्तव्य क्षेत्र बनाउने गरेका छन् ।

भरतपुर महानगरपालिकाकी प्रमुख दाहाल भन्छिन्-— हामीले पनि विशेष गरी देखाउने भनेको निकुञ्ज नै हो । महानगरले मनाउन लागेको भ्रमण वर्ष २०२४ मा महानगरले आफ्नो सीमाभित्रका पश्चिम भेगमा रहेका निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका जगतपुर, मेघौली, पटिहानी लगायतका क्षेत्रका प्राकृतिक स्थलहरू प्राथमिकतामा राखिएका छन् । एकसिंगे गैँडा, बाघ, हात्ती लगायतका जनावर पर्यटकले सजिलै हेर्न पाउने गरी भरतपुर १३, मा वन्यजन्तु उद्धार केन्द्र बनाउने तयारी समेत महानगरले गरेको छ । जहाँ निकुञ्ज प्रवेश नगरेपनि पर्यटकले वन्यजन्तुको अवलोकन गर्न सक्नेछन् ।

महानगरका पर्यटन विज्ञ विश्व सुवेदीका अनुसार भरतपुर महानगरको सीमाना क्षेत्रमा पर्ने मेघौली, जगतपुर र पटिहानी क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या भ्रमण वर्षमा दुई लाख बढी पुर्‍याउने लक्ष्य राखिएको छ । यसअघि यी नाकाबाट वार्षिक ३० हजार जनाको हाराहारीमा मात्रै पर्यटक यी नाकाबाट निकुञ्ज भित्रिने गरेका छन् ।

भरतपुर महानगरमा धार्मिक पर्यटक आउने मुख्य थलो देवघाट धाम पनि छ । त्यसैगर नारायणी नदी किनार पनि यहाँको पर्यटकीय स्थल हो । महानगरले आफ्नो पहाडी क्षेत्र चौकीडाँडालाई पनि पर्यटकीय गन्तव्यको रूपमा पहिचान गरेको छ । स्थानीय व्यक्तिहरूसँग समन्वय गरी होमस्टे बनाउने तयारी गरिएको पनि प्रमुख दाहालले जानकारी दिइन् ।

यसैगर भरतपुरको वडा नम्बर १ मा रहेको दयालो बंगला बन्द अवस्थामा रहेको छ । तत्कालीन राजा महेन्द्रले २०२६ सालमा निर्माण गरेका बैगलामा राजाहरु चितवन आउँदा बस्ने गर्थे । यही दरबारमा तत्कालीन राजा महेन्द्रको निधन पनि भएको थियो । अहिले नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगलालाई महानगरले संरक्षणमा ल्याएर पर्यटकीय क्षेत्र बनाउने तयारी गरिरहेको छ ।

महानगर प्रमुख दाहालले पहिलो चरणको छलफल चलिरहेको जानकारी दिँदै नियमानुसार नेपाल ट्रष्टलाई भाडा तिरेर सञ्चालनमा ल्याउने तयारी भएको उनले जानकारी दिइन् ।

महानगरले यीनै मुख्य क्षेत्रसहित आफ्नो पालिका आसपासका ३१ गन्तव्यलाई पर्यटकीय क्षेत्रको रूपमा पहिचान गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले १८ करोड ऋण बाँकी राखेर अलपत्र छोडेको गौतमबुद्ध रंगशाला पनि पर्यटकीय क्षेत्रमा सूचीकृत गरेको छ ।

भरतपुरको १५ र १६ नम्बर वडामा समेटिएको रंगशालाको कानूनी प्रक्रिया पुरा नगरी काम गरिएको कारण विनियोजित बजेटबाट ऋण तिर्न समेत नसकेको जानकारी दिँदै दाहालले अब ऋण तिर्ने प्रक्रिया, संरक्षण र निर्माण कार्य पनि अघि बढ्ने बताइन् ।

भ्रमण वर्ष सम्पन्न गर्न ६ करोड लागत

सन् २०२४ भित्र महानगरभित्र सात लाख पर्यटक भित्र्याउन करिब ६ करोड खर्चको अनुमान महानगरले गरेको छ ।

स्थानीय, प्रदेश र संघीय सरकारसमेतको खर्च लगानी गरेर महानगरभित्र पर्यटक भित्र्याउन भ्रमण वर्ष सुरु गर्न लागिएको महानगरका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

उनका अनुसार यस वर्ष भ्रमण वर्षभर महानगरले आफ्नै बजेटबाट ३ करोड ७० लाख खर्च गर्ने तयारी गरेको छ । ३ करोड जति रकम बागमती प्रदेश सरकारले दिने आश्वासन पाएको पनि जानकारी दिइन् । भने ७० लाख रुपियाँ नेपाल पर्यटन बोडले महानगरलाई पठाइसकेको उनले जानकारी दिएकी छिन् ।

सडक सञ्जाल मुख्य समस्या

चितवनको नारायणगढ क्षेत्रको सडक अहिले अस्तव्यस्त अवस्थामा रहेको छ । ६ लेनको सडक निर्माण कार्य समयमा पुरा हुन नसक्दा नारायणगढ हुँदै यात्रा गर्ने यात्रुहरुले समस्या भोग्ने गरेका छन् ।

नारायणगढ मुग्लिन सडक खण्ड र समय समयमा पहिरोले बिथोल्ने नारायणगढ मुग्लिन सडक पनि समस्याका रूपमा रहेको महानगरले पहिचान गरेको छ । पोखरा हुँदै चितवन जोड्ने मुख्य राजमार्ग पनि निर्माणको अवस्थामा रहेको छ ।

दाहाल भन्छिन्- हामीले यहि सडकको कारण पनि २०८० मा भ्रमण वर्ष सुरु गर्न नसकेर ६ महिना धकेलिएको हो । अबको बाँकी समयमा ६ लेनको सडक निर्माण पूरा गर्ने प्रतिवद्धता पाएका छौँ । अन्य सडकको निर्माण भने चाँडो सकाउन र यातायात सहजताका लागि धुलो उँड्न कम गराउन पानी हाल्ने लगायतका काम गर्न समन्वय गर्नेछौँ ।

उनले आर्थिक मन्दीको बेलामा थालिएको भ्रमण वर्षको तयारी चुनौतीपूर्ण भएको समेत बताउँदै सबै पक्षबाट सहयोगको लागि पनि अनुरोध गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर