हिजो कोतपर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति अहिले शान्तिको कुरा गर्दैछन् : प्रचण्ड – Nepal Press

हिजो कोतपर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति अहिले शान्तिको कुरा गर्दैछन् : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले भने, ‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै अहिले शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ । त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।’

प्रचण्डले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताए ।

अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठेरो अवस्थामा थियो । तर, सरकारको मेहनतका कारण अर्थतन्त्र सङ्कटमुक्त भएको छ । विदेशी मुद्राको सञ्चिती, राजस्व सङ्कलन र परिचालन, पर्यटक आगमन, विप्रेषणलगायत क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं ।’

सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै उनले सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत् बैठकको आयोजना गर्ने बताए ।

लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल, अन्तरक्रिया र संशोधन हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “हिजो कोतपर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति अहिले शान्तिको कुरा गर्दैछन् : प्रचण्ड

  1. यस्ता वाहियात कुरा गर्ने त देशको प्रधानमन्त्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर