समानुपातिकबाट सांसद बनाउँदा संविधानको ठाडो उल्लंघन गरियो: सभापति लामिछाने – Nepal Press

समानुपातिकबाट सांसद बनाउँदा संविधानको ठाडो उल्लंघन गरियो: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले संविधानको मर्मविपरीत धनाढ्य व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताएका हुन् ।

उनले महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरु नियुक्त भइरहेको बताए । सबै समूहबाट वर्षौंदेखि राजनीतिमा स्थापित भइसकेको शक्तिशाली व्यक्तिहरु नै समानुपातिकबाट सांसद हुनु संविधानको ठाडो उल्लंघन भएको सभापति लामिछानेको भनाइ छ ।

‘जनजातिको नाममा धनाढ्य व्यक्तिहरु जसको उपस्थिति ब्राण्डेड लुगा लगाएर पछिल्लो सीटमा बस्ने, आउने जानेबाहेक हामीले देख्न पाएका छैनौं । नीति निर्माणमा उहाँहरुले मनमनै योगदान दिनुभएको छ होला । त्यो देख्न पाएको छैन’, उनले भने, ‘शक्तिशाली राजनीतिक दलका परिवारका सदस्यहरु महिलाका कोटामा आएका छन् । दलित, मधेसी, थारु, मुस्लिमलगायतका समूहबाट पनि शक्तिशाली व्यक्तिहरु वर्षौंदेखि राजनीतिमा छन् र वर्षौंदेखि स्थापित भइरहेकाहरु नै आएका छन् । पटक पटक मन्त्री भएका नेता यही प्रणालीबाट सांसद भएका छन् । संविधानको ठाडो उल्लंघन भएको हामी सबैलाई थाहा छ ।’

सभापति लामिछानेले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै त्यसका निम्ति आफूहरु सांसदको रुपमा भूमिका खेल्न तयार रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर