ताराध्वजको ‘उमेर किर्ते’मा संसदको चासो, कांग्रेस सांसदले भने- सेनामा दुःखद परिस्थिति निर्माण हुँदैछ – Nepal Press

ताराध्वजको ‘उमेर किर्ते’मा संसदको चासो, कांग्रेस सांसदले भने- सेनामा दुःखद परिस्थिति निर्माण हुँदैछ

काठमाडौं । नागरिकतामा उमेर किर्ते गरेको आरोप लागेका उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्न सिफारिस भएकोमा संसदले चासो राखेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा परेको उजुरीमाथि सांसदहरुले अनौपचारिकरुपमा चासो राखेका छन् ।

पाण्डेको बढुवा सिफारिसका लागि जारी भएको सूचनाको एक साताको म्याद सकिएसँगै सांसदहरुले सेनाका जर्नेलको उमेर विवादबारे चासो राखेका हुन् । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडासँग समेत यसबारेमा सदस्यहरुले सोधेका छन् ।

यसैबीच नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले नेपाली सेनामा भइरहेको उमेर विवादले दुःखद परिस्थिति निर्माण भइरहेको बताएका छन् । सामाजिक संजालमा पछिल्ला उमेर प्रकरणका समाचारबारे प्रतिक्रिया दिँदै सांसद बजगाईले उमेरको राजनीतिको श्रृंखलाले नपाली सेनाको शान्ति र अमनचयन खल्बल्यादिएको र अत्यन्त दुःखद परिस्थिति निर्माण भइरहेको बताएका छन् ।

यसबारेमा सांसदहरुले संसदमा समेत कुरा उठाउने भएका छन् । २ वर्ष उमेर घटाएर नागरिकता बनाई जागिर खाएको र भावी सेनापतिको लाइनमा राख्न उनलाई तत्कालै उपरथीबाट रथीमा बढुवा गर्न लागिएको प्रमाणसहित नेपाल प्रेसले पहिलोपटक खुलासा गरेको थियो ।

सैनिक मुख्यालयले असोज ३० गते सरोजप्रताप राणाको अवकाशपछि रिक्त हुन लागेको रथी पदमा बढुवा सिफारिसका लागि युद्धकार्य विभागका प्रमुख पाण्डेको नाम सिफारिस गरेको ७ दिने सूचना प्रकाशित गरेको थियो । यो सैनिक ऐनवमोजिमको सूचना हो ।

यो ७ दिनकै बीचमा पाण्डेले सरकारी कागजात किर्ते गरेको र उमेर घटाएर नागरिकता बनाई जागिर खाएको प्रमाणसहित प्रधान सेनापति शर्मासहित प्रधानमन्त्री,रक्षा र संसदको राज्य व्यवस्था तथा सुशासन समितिलगायतका निकायमा लिखित उजुरी परेको थियो ।

ताराध्वजले कसरी गरे किर्ते ?

नेपाल प्रेसलाई प्राप्त ‘अति गोप्य’ प्रमाणसहितको उजुरीमा उपरथी पाण्डेले २०४३ सालमा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुने बेला २ वर्ष उमेर घटाएर नागरिकता बनाएको पाइएको छ । जबकी उनका अरु सरकारी कागजातमा अर्कै जन्म मिति छ ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र,क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षण नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख छ । उनले २०३८ सालमा एसएलएसी पास गरेका हुन् ।

तर नागरिकतामा भने २०२३ साल मंसिर १३ गते बनाइएको छ । २०४२ सालमा नागरिकता परिवर्तन गरेर उमेर सच्याएको पाइएको छ । त्रिभुवन विश्वविद्यालयले दिएको आधिकारिक विवरणमा उनको जन्म मिति २०२१ मघ १२ छ ।

पाण्डे २०४३ सालमा सेनामा भर्ति हुने बेला उनको नागरिकतामा उमेर घटाइएको उजुरीमा उल्लेख छ । २०२१ म जन्मिएका पाण्डेले २०४३ मा जागिर खाने बेला २२ वर्ष नाघेको हुनाले २१ वर्ष मुनीको उमेर हदका कारण नागरिकतामा उमेर घटाइएको हो ।

पाण्डेमाथि मुलुकी अपराध संहिता र सैनिक ऐन २०६३ बमोजिम किर्तेमा कारवाहीको माग गर्दै परेको उजुरीउपर छानविन हुन्छ कि पाण्डेलाई सेनापति बनाउने योजनाबमोजिम रथीमा पदोन्नति गरिन्छ ? अहिलेको मुख्य प्रश्न यो बनेको छ ।

निजामति तथा जंगी नियम अनुसार नागरिकता र शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजमा व्यक्तिको उमेर फरक परे वा विवाद भएमा जुन पहिलो जन्म मिति हो त्यसैलाई कायम गर्ने व्यवस्था छ । नेपाली सेनामा यसअघि पनि उमेर विवादमा सोही विधिबाट धेरै जर्नेलले पहिलो जन्म मितिका आधारमा अवकाश पाएका छन् ।

पाण्डेको हकमा बलजफ्ति गर्न खोजिएपछि विवाद बढेको छ ।

याे पनि पढ्नुस्: ‘उमेर कीर्ते’ गरेर प्रधान सेनापति बन्ने प्रयासमा पाण्डे, रथी बढुवा सिफारिसविरुद्ध प्रमाणसहित उजुरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर