एमालेको निम्तो मान्न नेकपा एसका अध्यक्ष र महासचिव नजाने, सम्मानित नेता जाने – Nepal Press

एमालेको निम्तो मान्न नेकपा एसका अध्यक्ष र महासचिव नजाने, सम्मानित नेता जाने

काठमाडौं । नेकपा एमालेले आज दसैँ-तिहारको अवसरमा आयोजना गरेको चियापानमा सो पार्टीबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका प्रमुख नेताहरूलाई पनि निम्तो गरिएको छ । तर, नेकपा एसका अध्यक्ष र महासचिव एमालेको चियापनमा उपस्थित नहुने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत थुप्रै नेताहरूलाई पत्रमार्फत् निमन्त्रणा गरेका हुन् । तर, उनीहरूलाई पार्टीगत हैसियतमा बोलाइएको छैन । स्रोतका अनुसार अध्यक्ष नेपाल र खनाललाई पूर्वप्रधानमन्त्री भनेर मात्र सम्बोधन गरिएको छ ।

पार्टीगत मान्यता दिन अझै आनाकानी गरिएकाले अध्यक्ष नेपाल र महासचिव भुसाल ओलीको निम्तोमा त्यति उत्साहित नदेखिएका हुन् । यद्यपि, पार्टी स्रोतले भने दुवै नेता उपत्यका बाहिर रहने भएकाले चियापानमा उपस्थित हुन नसक्ने बतायो ।

माधव नेपाल कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आयोजना गरेको चियापानको निम्तो मान्न भने सानेपा पुगेका थिए ।

‘अध्यक्ष नेपाल आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा भाग लिन रौतहट जाने पूर्वनिर्वाधित थियो । महासचिव पनि रुपन्देहीमा हुनुहुन्छ । अध्यक्ष र महासचिव नभएकाले यस विषयमा पार्टीको औपचारिक धारणा पनि बनेको छैन । अरु नेताहरूले आफ्नो स्वविवेकले निर्णय लिनुहोला,’ स्रोतले भन्यो ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने ओलीको निम्तो स्वीकार्दै च्यासल जाने तयारीमा छन् । उनी साढे दुई बजे चियापानमा पुग्ने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

कार्यक्रममा नेकपा एसनिकट पत्रकारहरूलाई पनि निम्ता गरिएको छ ।


प्रतिक्रिया

One thought on “एमालेको निम्तो मान्न नेकपा एसका अध्यक्ष र महासचिव नजाने, सम्मानित नेता जाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर