युवा संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो अधिवेशन पश्चिम नवलपरासीमा – Nepal Press

युवा संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो अधिवेशन पश्चिम नवलपरासीमा

रुपन्देही । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो अधिवेशन पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ । कात्तिक १८ र १९ गते सुनवलमा प्रथम प्रदेश अधिवेशन गर्न लागिएको युवा संघले परासीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सुनवल नगरपालिका–२ बत्रौलीस्थित रि–वर्न होटलमा आयोजना हुने पहिलो प्रदेश अधिवेशनको लागि पूर्व तयारी तीव्र रुपमा भइरहेको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश आयोजक कमिटीका संयोजक पृत्तम पौडेलले जानकारी दिए । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३२४ प्रतिनिधि सहभागी हुनेछन् । बुधबारसम्ममा सबै जिल्लामा प्रतिनिधि छनौट भइसक्ने संयोजक पौडेलले बताए । अधिवेशनले ६ जना पदाधिकारीसहित ८७ सदस्यीय प्रदेश कमिटी चयन गर्ने युवा संघले जनाएको छ ।

अधिवेशनबाट प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई सहसचिव र कोषाध्यक्षसहितको कमिटी चयन गर्ने संयोजक पौडेलले बताए । कात्तिक १८ गते हुने प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेत, राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेबे, महासचिव सुमन पुरीलगायतका पदाधिकारी आउने तय भएको छ भने प्रमुख अतिथि केही दिनमै टुंगो लाग्ने युवा संघले जनाएको छ ।

नवलपरासीमा हुने प्रदेश अधिवेशनलाई मध्यनजर गर्दै परासीमा सचिवालय स्थापना गरिएको छ । मनमोहन स्मृत्ति भवनमा स्थापना गरिएको प्रदेश अधिवेशन सचिवालयको युवा संघका महासचिव पुरीले उद्घाटन गरे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव पुरीले युवा संघको लुम्बिनी प्रदेश अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न हुने र नयाँ सन्देश प्रवाह हुने जनाए । उनले अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गर्दै मुलुकको समृद्धि नै अबको मूख्य लक्ष्य भएकाले राष्ट्रिय युवा संघ अब समृद्धिको अभियान लिएर नवयुवाको बीचमा जाने उल्लेख गरे ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको युवा संघ लुम्बिनी प्रदेश आयोजक कमिटी सह–संयोजक सुरज खरेलले बताए । उनका अनुसार ११३ सदस्यीय आयोजक कमिटीका स्वतः प्रतिनिधि हुनेछन् भने १०९ पालिका र जिल्ला कमिटीबाट २११ गरी ३२४ प्रतिनिधिसहित पर्यवेक्षक तथा अतिथि गरी साढे तीन सय बढीले अधिवेशनमा सहभागिता जनाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर