प्रिन्सिपल सर्राफको हत्या प्रेमिकाको ब्वाइफ्रेन्डले गरेको खुलासा, ३ जना पक्राउ – Nepal Press

प्रिन्सिपल सर्राफको हत्या प्रेमिकाको ब्वाइफ्रेन्डले गरेको खुलासा, ३ जना पक्राउ

दाङ । बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार प्रेसर गरेका थिए । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।

एसपी काफ्लेका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् ।

सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटना संलग्न दुईजना पुरूष र एकजना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेकाको परिचय नखुलाएको प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *