भारतीय सांसद मोइत्राले घुस लिएर संसदमा प्रश्न सोधेको आरोप, कसरी जोडिए ‘घायल प्रेमी’ ? – Nepal Press

भारतीय सांसद मोइत्राले घुस लिएर संसदमा प्रश्न सोधेको आरोप, कसरी जोडिए ‘घायल प्रेमी’ ?

काठमाडौं । नरेन्द्र मोदी सत्ताको तीखो आलोचना गरेर संसदमा धेरै मन्त्रीहरुलाई समेत असिनपसिन पार्ने एक भारतीय प्रभावशाली सांसद अहिले विवाद र छानबिनको घेरामा छिन् । कडा सवाल गर्ने प्रष्ट वक्ता र आकर्षक व्यक्तित्वका कारण मिडियामा छाइरहने त्रृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा अहिले कठघरामा छिन् र उनको आफ्नै पार्टीले पनि बचाउ गरेको छैन ।

मोइत्रामाथि व्यापारी व्यवसायीसँग पैसा लिएर संसदमा प्रश्न गर्ने गरेको गम्भीर आरोप लागेको छ । अहिले उनीमाथि लागेको आरोपको छानबिन भइरहेको छ र यो प्रमाणित भएमा लोकसभा सदस्य पद नै खारेज हुनसक्छ ।

उनीमाथि भारतीय चर्चित र विवादास्पद कारोबारी गौतम अडानी र उनका व्यापारिक कम्पनीहरुमाथि निशाना बनाएर लगातार संसदमा प्रश्न गरेको र त्यो गरेबापत अर्को व्यापारिक घरानाबाट घुस लिने गरेको आरोप छ ।

मोइत्रामाथि यो आरोप सत्तारुढ भारतीय सांसद निशिकान्त दुबेले लगाएका थिए । उनीहरुबीच यसअघि पनि सदनमा नोकझोक हुने गरेको थियो । मोइत्राले आफूमाथिका आरोप अस्वीकार गरेकी छन् । यसबारेमा जाँच कमिटी बनिसकेको छ ।

मोइत्रामाथि रियल स्टेटदेखि ऊर्जालगायत विभिन्न क्षेत्रमा कारोबार गर्न हीरानन्दानी समूहका सीईओ दर्शन हीरानन्दानीले अडाणी समूहको बारे संसदमा प्रश्न सोध्न घुस लिने गरेको आरोप लागेको छ । हीरानन्दानीले हालै सो दाबी गरेका थिए ।

संसदको आचारसंहिता समितिले निशिकान्त दुबेले महुआ मोइत्रामाथि लगाएको आरोप र उजुरीमाथि छानबिन गरिरहेको छ । यता मोइत्राको पार्टी त्रृणमूल कांग्रेसले जाँच कमिटीको रिपोर्टपछिमात्र केही भन्न सकिने भन्दै उनको प्रतिरक्षा गर्न अस्वीकार गरेको छ ।

दिदी ममता बनर्जीको दल त्रृणमूल कांग्रेसकी सांसद मोइत्रा संसदमा निकै प्रभावशाली मानिन्छिन् । तर, यस पटक उनीमाथि गम्भीर आरोप लागेको छ र पार्टीले समेत प्रतिरक्षा नगरेपछि उनी एक्लै परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोइत्राले भने आफू जाँच कमिटीको सामना गर्न तयार रहेको भन्दै आफ्नो चरित्र हत्याको प्रयास भएको बताएकी छन् । उनले यस्ता आरोपबाट चुप लागेर अडानीका मुद्दा उठाउन नछाड्नेसमेत बताएकी छन् ।

भारतमा गौतम अडानी विवादास्पद व्यापारी हुन् । राहुल गान्धीलगायत विपक्षीले समेत मोदी र अडानीबीचको सम्बन्धमाथि प्रश्न उठाउँदै भारतीय जनताको अर्बौं रुपैयाँ व्यक्तिलाई दिइएको बताउँदै आएका छन् ।

घायल प्रेमीका कारण विवाद

मोइत्राविरुद्ध लोकसभा अध्यक्षसमक्ष उजुरी दिने बीजेपी सांसद दुबेले आफूलाई जय अनन्त देहाद्राइ नामका वकिलले आरोप पुष्टि हुने प्रमाण दिएको जिकिर गरेका छन् ।

दाहाद्राइ उनै पात्र हुन्, जसलाई महुआ मोइत्रा आफ्ना ‘जिल्टेड एक्स’ अर्थात निराश पूर्वप्रेमी बताउने गर्छिन् । जिल्डेट एक्स भन्नाले एउटा रोमान्टिक सम्बन्ध अकस्मात र नराम्रो ढंगले अन्त्य भएपछिको पूर्वप्रेमी वा प्रेमिका भन्ने बुझिन्छ ।

ती वकिलले पछिल्ला दिनमा मोइत्रामाथि उनको घरमा पालेको कुकुर हेनरीको अपहरण गरेको आरोपसमेत लगाएका थिए ।
मोइत्राले भने आफ्ना निराश पूर्वप्रेमीको बयानका आधारमा बीजेपीले आफूलाई ‘बदचलन’ (चरित्रहीन) महिला साबित गर्न चाहेको बताएकी थिइन् । अडानीमाथि प्रश्न उठाउन नदिन आफूमाथि चरित्रको प्रश्न उठाइने गरेको उनको भनाइ थियो ।

को हुन् मोइत्रा ?

यसअघि पश्चिम बंगालको विधायक बनेकी मोइत्रा सन् २०१९ को आमनिर्वाचनबाट पहिलोपटक केन्द्रीय संसदमा पुगेकी हुन् । उनको जन्म असाममा भएको थियो भने कोलकातामा अध्ययन गरेकी उनी अमेरिकाबाट पढाइ सकेर फर्किएकी थिइन् ।

बेलायतमा केही वर्ष काम गरेर सन् २००९ मा भारत फर्केकी मोइत्रा पश्चिम बंगालबाट राजनीतिमा लागेकी थिइन् । उनी २०१६ मा विधानसभा सदस्य भएकी थिइन् । २०१९ मा कृष्णानगर सीटबाट उनी केन्द्रीय संसदमा निर्वाचित भइन् ।

केन्द्रीय संसदमा आएपछि ४९ वर्षीय उनी आफ्नो भाषण, व्यक्तित्व र भाजपा सत्ताविरुद्ध प्रश्न उठाएर राष्ट्रिय व्यक्तित्व बनिन् । उनी केन्द्रीय संसदमा आफ्नो पहिलो भाषणबाटै राष्ट्रियमात्र नभएर अन्तर्राष्ट्रिय मिडियाको नजरमा परेकी थिइन् ।

सन् २०१९ जुनमा संसदमा पहिलोपटक भाषण गर्दै बीजेपीका कारण संविधान खतरामा रहेको र भारतमा फाँसीवादको शुरुआती लक्षण देखिएको बताएकी थिइन् । मोदी सरकारका कारण भारतमा पछिल्लो समय जातीय तथा धार्मिक घृणा फैलिएर फाँसीवादको अभ्यास भइरहेको छ ।

उनको भाषणमा तत्कालै भाजपा सांसदहरुले आपत्ति जनाएका थिए भने त्यही बेलादेखि उनी बीजेपी र दक्षिणपन्थी शक्तिहरुको निशानामा थिइन् । सामाजिक सञ्जालमा उनको लाइफ स्टाइल र निजी जिन्दगीको बारेमा समेत प्रशस्त प्रश्नहरु उठाइने गरेको छ ।

उनी कहिले सिगार र स्याम्पेन पिएको तस्विर सोसल मिडियामा राखेर चर्चामा आउँछिन् भने कहिले उनका महँगा कपडा र पर्समाथि समेत प्रश्न उठाइने गरिन्छ ।


प्रतिक्रिया

2 thoughts on “भारतीय सांसद मोइत्राले घुस लिएर संसदमा प्रश्न सोधेको आरोप, कसरी जोडिए ‘घायल प्रेमी’ ?

  1. Even if cash was transferred, it may be some dues from the other industrialist and not for asking questions in the parliament and it is just an allegation and not proved by any body yet! So, BJPs should not be happy just for charging allegations for their leader’s conspiracy with an infamous industrialist in defaming the name of India! INDIA leaders should stand with Mahua and not back off from her to attack gang of Hindu Extremist Leaders!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर