महिला आयोगकी सदस्य पौडेलको दोस्रो अमेरिका काण्ड, नियमविपरीत भ्रमणको साढे ७ लाख भुक्तानी गर्न दबाब – Nepal Press

महिला आयोगकी सदस्य पौडेलको दोस्रो अमेरिका काण्ड, नियमविपरीत भ्रमणको साढे ७ लाख भुक्तानी गर्न दबाब

काठमाडौं । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णाकुमारी पौडेलले कानूनविपरीत विदेश भ्रमणको खर्च माग दाबी गरेकी छन् । भ्रमण आदेश स्वीकृतविना नै उनी अमेरिकाको एक सम्मेलनमा भाग लिन भने पुगेकी थिइन् ।

खर्च कसले व्यहोर्ने भन्ने निर्क्यौलविनै पुगेर फर्किएकी उनले ७ लाख ३० हजार २१३ रूपैयाँ माग गर्दै आयोगमार्फत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसम्म प्रस्ताव पेश गरेकी छन् । आयोगका कर्मचारीले पनि कानूनत: भ्रमण खर्च उपलब्ध गराउन नमिल्ने राय सुझाव दिँदासम्म सदस्य पौडेलले माथिबाटै चाँजोपाँजो मिलाइसकेको भन्दै सचिवदेखि कर्मचारीसम्मलाई दबाबमा पारेको बताइएको छ ।

महिला आयोगकी सचिव पार्वती अर्यालले आयोगले यसमा कुनै पनि निर्णय गर्न सक्ने अवस्था भएकाले प्रक्रियाका लागि मन्त्रालयमा पठाएको नेपाल प्रेसलाई बताइन् ।

सचिव अर्यालले भनिन्, ‘माथि कुरा गरिसकेको छु, सीधै अघि बढाउनुस् भनेर भनेकोले आयोगले अघि बढाएको हो । हामीले सहजीकरण मात्र गरेका हौं । आयोगसँग बजेट नभएका कारण निकासा दिन सकिने अवस्था छैन ।’

आयोगकी अध्यक्ष कमला पराजुलीले पौडेल अमेरिका भ्रमणमा गएको कुरा फेसबुकमा फोटो देखेपछि मात्र थाहा पाएको बताउँछिन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘उहाँ अमेरिका गएको मैले सामाजिक सञ्जालमा तस्बिर देखेर थाहा पाएकी हुँ । फर्किएको एक हप्तापछि उहाँको सहयोगीले भ्रमण आदेश स्वीकृतिका पेश गर्नुभएको थियो । खर्चको स्रोत उल्लेख नभएकाले स्वीकृत गर्ने कुरा भएन ।’

आयोगले मन्त्रालयमा पेश गरेको बारेमा भने आफूलाई केही थाहा नभएको उनले बताइन् ।

आयोगकी सदस्य पौडेलले भने यस विषयमा खासै बोल्न चाहिनन् । आफूले ऐनमा टेकेर आयोगमा निवेदन दिएको र त्यसैअनुसार मन्त्रालयमा पेश भएको उनको जिकिर छ ।

भ्रमण आदेश स्वीकृत गराउनुभएको थियो कि थिएन ? उनले हाल उपत्यका बाहिर भएकाले फर्किएपछि सबै विवरण उपलब्ध गराउने बताइन् ।

पौडेलले भनिन्, ‘ऐन कानूनमा टेकेर नै निवेदन दिएको हो । ऐनलाई मन्त्रिपरिषद्ले काट्दैन । पर्सि फर्किएपछि सबै विवरण उपलब्ध गराउछु ।’

मन्त्रालयका सचिव दिनेश भट्टराईले भने आफूसँग यसबारे कुनै विवरण तथा प्रस्ताव आइनसकेको बताए । तर, मन्त्रिपरिषद्ले नै खर्च नव्यहोर्ने निर्णय गरिसकेको अवस्थामा अब थप निर्णय नहुने उनको भनाइ छ ।

पौडेलले मुख्यसचिव बैकुण्ठ अर्यालको नाम लिएर खर्च उपलब्ध गराउन सकिने भनेकाले मन्त्रिपरिषद्‍मा प्रस्ताव पुर्‍याउन दबाब दिइरहेकी छन् ।

यस्तो छ घटनाक्रम

संयुक्त राष्ट्र संघीय महिलाको स्थिति सम्बन्धी आयोग (सीएसडब्ल्यू) को ६८औं सम्मेलन मार्च ११-२२ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा सम्पन्न भयो । सम्मेलनमा भाग लिन सचिव सुरेन्द्रराज आचार्य नेतृत्वको २५ सदस्यीय टोली जाने फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्‍यो ।

भ्रमण टोलीमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमल पराजुली, सदस्य कृष्णाकुमारी पौडेल, विद्याकुमारी सिन्हा, सचिव पार्वती अर्याल र उपसचिव सीता निरौला पनि थिए । बैठकले मन्त्री र सचिवको खर्चमात्रै सरकारले व्यहोर्ने निर्णय गरेको थियो । खर्च नव्यहोर्ने निर्णयपछि आयोगकी अध्यक्ष पराजुली, सदस्य सिन्हा र उपसचिव निरौला सम्मेलनमा गएनन् । तर, सदस्य कृष्णाकुमारी पौडेलले आफैं खर्च व्यहोर्ने भन्दै सम्मेलनमा भाग लिन पुगिन र आफ्नै खर्च गरेर फर्किइन् पनि ।

फर्किएको करिब एक महिनापछि उनले मन्त्रिपरिषद्को निर्णयविपरीत वैशाख २ गते भ्रणममा भएको खर्च उपलब्ध गराइदिन माग गरेकी हुन् । जसमा भ्रमण खर्च ४ लाख ७८ हजार ३१३ रूपैयाँ र हवाई टिकटको २ लाख ५२ हजार दाबी छ ।

हेर्नुहोस् पौडेलको निवेदन र बिल भरपाइ

आयोगका लेखा अधिकृत श्रीभद्र गौतमले आयोगमा स्वीकृत कार्यक्रम अन्तर्गत वैदेशिक भ्रमण खर्चको रकम भुक्तानीसँग सम्बन्धित वार्षिक बजेट विनियोजन नभएकोले सोझै भुक्तानी गर्ने निर्णय हुन सक्ने अवस्था नभएको टिप्पणी सचिवसमक्ष पेश गरे । कानून शाखा प्रमुख उपसचिव लक्ष्मी शर्माले भ्रमण खर्च नियमावली २०६४ को व्यवस्था उल्लेख गर्दै दैनिक भत्ता, भ्रमण खर्च, पकेट खर्च तथा भैपरी आउने खर्च जस्ता कुन-कुन सुविधा पाउने हो त्यो खुलाई भ्रमणमा खटाउनु अघि नै निर्णय गर्नुपर्ने राय दिइन् । साथै उनले निर्णय नभई आफूखुसी भ्रमणमा गएकोमा वा पठाएकोमा भ्रणमबाट फर्केपछि गरेको दाबी बमोजिम त्यस्तो खर्च नदिइने व्यवस्था रहेको पनि उल्लेख गरिन् ।

प्रशासन शाखा प्रमुख उपसचिव भुपेन्द्र पाण्डेले भ्रमण खर्च नियमावली २०६४ बमोजिम मन्त्रिपरिषद् तथा अर्थ मन्त्रालय पठाउन उपयुक्त हुने भन्दै निर्णयार्थ सचिवसमक्ष पेश गरे । त्यसपछि आयोगका लेखा अधिकृत श्रीभद्र गौतमले हस्ताक्षर गरेको पत्र महिला मन्त्रालयमा पेश भयो । गौतमले थप आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गर्न पठाइएको बताए ।

यसअघि पनि काण्डमा मुछिएकी थिइन् पौडेल

दुई वर्षअघि छोरासहित अमेरिका भासिन संखुवासभाको चिचिला गाउँपालिकाका तत्कालीन अध्यक्ष नुर्वु शेर्पाले गरेको एक कीर्तेमा पौडेल मुछिएकी थिइन् । महिला आयोगबाटै महिलामाथि अन्याय भएको सिन्धुलीका पीडित रमिला पुलामीको मुद्दामा पनि उनको नाम जोडिएको थियो ।

यो पनि पढ्नुहोस्-अमेरिका प्रकरणले महिला आयोगमा तनाव, सदस्यलाई ‘डियर’ लेखिएको भन्दै अध्यक्षको आपत्ति

आयोगकी सदस्य पौडेलले आफ्नो घर काठमाडौंमा हुँदाहुँदै पटक-पटक घर भाडा लिन पाउनुपर्ने भन्दै सचिव र कर्मचारीसँग माग गर्दै आएकी छन् । उनले आयोगको बैठकमा समेत घरभाडा लिन पाउनुपर्ने एजेण्डा प्रस्तुत गरेकी थिइन् । उनको प्रस्ताव पारित भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *