अमेरिका प्रकरणले महिला आयोगमा तनाव, सदस्यलाई ‘डियर’ लेखिएको भन्दै अध्यक्षको आपत्ति – Nepal Press

अमेरिका प्रकरणले महिला आयोगमा तनाव, सदस्यलाई ‘डियर’ लेखिएको भन्दै अध्यक्षको आपत्ति

काठमाडौं । करिब एक महिनाअघि राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णाकुमारी पौडेलले इमेलबाट प्राप्त एउटा अंग्रेजी पत्र प्रिन्ट गरेर अध्यक्ष कमला पराजुलीसामु तेर्स्याइन् ।

‘के हो यो ?’ पराजुलीले वाल्ल पर्दै सोधिन् ।

‘अध्यक्षज्यू, मलाई अमेरिका अध्ययन भ्रमणका लागि एउटा पत्र आएको छ । आयोगले तुरुन्तै निर्णय गर्नुपर्यो,’ पौडेलले भनिन् ।

पत्र आएको थियो अमेरिकाबाट । अमेरिकाको सिकागोस्थित स्मार्ट सिटिज टेक्नोलोजी सम्पोजियम एन्ड एक्जिविसनको लेटरहेडमा आएको पत्रमा स्मार्ट ग्रीड अब्जर्भरका एडिटर डेनियल कोरानले हस्ताक्षर गरेका थिए । अध्यक्ष पराजुलीले यसो पढिन् । आयोगकी सदस्य पौडेललाई गरिएको सम्बोधन भने पराजुलीलाई चित्त बुझेन । पत्रमा पौडललाई ‘डियर’ लेखिएको भन्दै उनले आपत्ति जनाइन् ।

पराजुलीले पौडेललाई सोधिन्, ‘आयोगकी सदस्यलाई आउने पत्रमा ‘डियर’ किन लेखियो । ‘अनरेवल’ लेख्नुपर्ने होइन ? यस्तो डियर–सियर भनेर आएको पत्रकै आधारमा तपाईंलाई अमेरिका पठाउने निर्णय गर्न सकिँदैन ।’

पराजुलीलाई सम्झाउने कोशिष गर्दै पौडलले भनिन्, ‘जसरी आए पनि आयो । यस्तो अवसर पाएको बेला गुमाउनु त भएन नि । फेरि म व्यक्ति जाने होइन । आयोगको प्रतिनिधि भएर जाने हो । म एक्लै पनि जाने होइन । आयोगका अन्य कर्मचारी साथीहरुलाई पनि बोलाइएको छ ।’

पत्रमा पौडेलसँगै उनकै निजी सचिव मेगेन्द्र न्यौपाने र आयोगमा कार्यरत उपसचिव अञ्जु ढुंगानालाई पनि निम्तो गरिएको थियो ।

पौडेलले थप सुनाइन्, ‘म मात्र जाने हो र ? राष्ट्रिय दलित आयोगका अध्यक्षज्यू पनि जानुहुन्छ । दलित आयोगले त बैठक बसेर निर्णय नै गरिसक्यो । हाम्रोमा चाहिँ किन रोक्ने ?’

पौडेलले धेरै दवाव दिएपछि अध्यक्ष पराजुली सकसमा परिन् । पत्रको विश्वसनीयतामा उनलाई शंका थियो । तर, ‘डियर’ लेखिएकै आधारमा अस्वीकृत गर्ने कुरा पनि भएन ।

त्यसपछि पराजुलीले सोधिन्, ‘त्यसो भए भ्रमण खर्च चाहिँ कसले स्पोन्सर गर्छ ?’

अमेरिकाबाट आएको पत्रमा भ्रमणको खर्च सम्वन्धित व्यक्तिहरु आफैंले व्यहोर्नुपर्ने स्पष्ट उल्लेख थियो ।

पराजुलीको प्रश्नपछि पौडेलले अर्को पत्र निकालिन्, जुन थियो संखुवासभाको चिचिला गाउँपालिकाले पठाएको ।

पत्र देखाउँदै भनिन्, ‘हामीलाई लैजाने सबै खर्चको व्यवस्थापन यो गाउँपालिकाले गर्ने भएको छ । आयोग आफैले खर्च गरेर कहिल्यै पठाउन सक्ने होइन । यसरी अरुले खर्च गरेर लैजान लागेको बेला पनि जान नपाउनु ?’

यसरी सदस्य अध्यक्ष र सचिवबीच तीव्र विवाद भयो । अन्तमा अध्यक्ष पराजुली गलिन् । उनले टिप्पणी उठाएर ल्याउन निर्देशन दिईन् । त्यसपछि पौडेलले कर्मचारीको सहयोगमा टिप्पणी उठाएर अध्यक्षलाई पेश गरिन् । उक्त टिप्पणीमा ‘कानून बमोजिम गर्नु–गराउनु’ भनेर फाइल महिला–बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइयो ।

तर, दुवै मन्त्रालयले टिप्पणी उठाएको फाइलबाट यो प्रक्रिया अघि बढ्न नसक्ने जवाफ दियो । त्यसपछि पौडेलले फेरि निर्णय नै गर्न थप दवाव दिइन् । पराजुली निर्णय गराउन वाध्य भइन् । तर, गाउँपालिकाको खर्चमा दुई आयोगका पदाधिकारीसहितको टोली अमेरिका जाने समाचार मिडियामा आएसँगै पराजुली र पौडेलबीच फेरि तनाव सुरु भयो ।

यो पनि पढ्नुहोस्ः छोरासहित अमेरिका भासिन गाउँपालिका अध्यक्षको भयानक किर्ते

समाचार सार्वजनिक भएलगत्तै पौडेलले पराजुलीमाथि शंका गरिन् ।

उनले ठाडै भनिन्, ‘यो समाचार कसरी बाहिर आयो ? यसमा पक्कै पनि तपाइको नै संलग्नता छ । यस्तो किन गर्नुभयो ?’

पराजुलीले जवाफ दिइन्,‘समाचार बाहिरिए पनि यदि यो काम कानूनसम्मत हो भने किन चिन्ता लिनुपर्यो ? यदि मलाई नै आरोपित गर्ने हो भने म पत्रकार सम्मेलन नै गरेर सबै बताइदिन्छु ।’ त्यसपछि पौडेल चुप भइन् ।

स्रोतका अनुसार दलित आयोगका अध्यक्ष विश्वकर्मालाई भ्रमण टोलीमा समावेश गर्नमा पनि पौडेल कै हात छ । अहिलेसम्म भारतबाहेक विदेश घुम्ने मौका नपाएका र पासपोर्टसमेत नबनाएका सोझा अध्यक्ष विश्वकर्मा गाउँपालिकाको खर्चमा अमेरिका जाने भनेपनि फुरुक्क परेका थिए । उनले आयोगको वैठक बोलाएर तुरुन्त निर्णय गराए । तर, सबै कुरा बुझेपछि उनी ब्याक भइसकेका छन् ।

आयोगकी अध्यक्ष पराजुलीसमक्ष सुरुमा गाउँपालिकाले नै सबै लाग्ने खर्च व्यहोर्ने बताएकी सदस्य पौडेल अहिले भने आफ्नो बोली फेरिरहेकी छन् । उनी निकटका कर्मचारीका अनुसार अहिले उनी भिसा पाउन सजिलो होस भनेर मात्र गाउँपालिकालाई निर्णय गर्न लगाएको तर लाग्ने खर्च सबै जाने व्यक्ति आफैले व्यहोर्ने बताउँछिन् ।

‘आयोगले एक पैसा पनि तिर्न पर्दैन । स्पोन्सरमार्फत स्मार्ट सीटी अध्ययनका लागि जाने हो । सबै खर्च स्पोन्सरले नै गर्ने हो । मेरा त छोराछोरी अमेरिकामै छन्, चाहेको बेला जान पाइहाल्छु । मसँग जाँदा दलित आयेगका अध्यक्ष र गाउँपालिका अध्यक्षले पनि अमेरिका देख्न पाउँछन् । त्यसैले गइदिन लागेकी हुँ,’ उनको भनाइ उदृत गर्दै एक कर्मचारीले भने ।

तर, आयोगकी अध्यक्ष पराजुलीले सूचना लिक गरेर यो विषयलाई विवादित बनाएको पौडेलको आरोप छ ।

उनी निकट एक कर्मचारी भन्छन्, ‘भित्रको निर्णय बाहिर अध्यक्षज्यूले नै सार्वजनिक गरेको हो । सदस्य पौडेलले उपसचिवको नेतृत्वमा छानविन समिति गठन गर्ने भन्नुभएको छ । आयोगमा धेरैभन्दा धेरै एनजीओका कर्मचारी पनि कार्यरत रहेकाले उनीहरुको योजना पनि हुन सक्छ । त्यो सबै अध्ययनपछि सार्वजनिक हुन्छ ।’

उनले थपे, ‘कसैले स्पोन्सर गरेर घुमाउन लैजान्छु भन्दा त जान पाउनुपर्यो नि । आयोग आफैले पठाउन सक्ने होइन । आयोगका कर्मचारी पनि जान पाउँछन् भने किन नपठाउने ?’

आयोगकी सदस्य पौडेलले एक– दुई दिनमा म पत्रकार सम्मेलन गरेर यस बारेमा सार्वजनिक गर्ने सोच बनाएको पनि ती कर्मचारीको भनाइ छ ।

आयोगकी सदस्य पौडेल पनि अब अमेरिका नजाने मनस्थितिमा पुगिसकेकी छन् । अमेरिका जानेभन्दा पनि यो समाचार र गोप्य डकुमेन्ट कसरी बाहिर आयो भन्ने अनुसन्धानमा उनी केन्द्रीत हुने स्रोतको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर