पशुपतिप्रसाद- २ मा लर्खराएको भष्मे डन – Nepal Press

पशुपतिप्रसाद- २ मा लर्खराएको भष्मे डन

लौ फिल्म त सकिएछ– आर्थिक पत्रकार समाजका केन्द्रीय अध्यक्ष सुजन ओलीले भने ।
हैन साच्चै सकिएछ पो– पत्रकार गोकर्ण भण्डारीले थपे ।

म चाहिँ अझै पनि पर्दामा नियाल्दै रहेछु, भष्मे डन त्यो भिरबाट उठेर आउने प्रयासमा छ भनेर । किनभने हलको पर्दामा दुईवटा हातका पञ्जाहरू भिरबाट माथि उठिरहेका थिए ।

पर्दामा अक्षरहरूको लस्कर देखिन थालेपछि बल्ल म पनि झस्किएँ फिल्म त साँच्चै सकिएछ ।

०००

‘पशुपतिप्रसाद- २ भष्मे डन’ चरिकोटको हलमा चलेकै दिन हेर्ने योजना पत्रकार जीवन लामा, गोकर्ण भण्डारी र मैले झण्डै एक हप्ताअघि देखि बनाएका हौं । कार्तिक- ४ अर्थात फूलपातीको दिन फिल्म चल्ने भएकोले म त्यो दिन बिहानै सातदोबाटो चोकमा निस्किए । जीवन लामा कतै घुम्न गएकोले ऊसँग भेट भएन । दसैँको लागि घर आएका आर्थिक पत्रकार समाजका केन्द्रीय अध्यक्ष सुजन ओली र गोकर्ण भण्डारीसँग चोकमा भेटेपछि हामी कफी पिएर हलतिर लाग्यौं ।

लेखक मास्के ।

‘पशुपति प्रसाद- २ भष्मे डन’ यसरी सुरू भयो कि प्रत्येक दृष्य र संवादपछि अब के होला भन्ने जिज्ञासा लागि नै रहने । यसका लेखक दीपेन्द्र के खनालले पशुपतिप्रसाद- ३ को तयारी फिल्मको सुरूदेखि नै गरेको प्रष्ट हुन्छ । खगेन्द्र लामिछानेले ‘पशुपतिप्रसाद- २ भष्मे डन’ को कथा लेख्दै गर्दा नै अर्को सिक्वेलको परिकल्पना गरिसकेका रहेछन् । खुलेरै भन्दा लेखक खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनाल मिलेरै दर्शकलाई कौतुहलताको कुतकुतीमा हुत्याउँदै पशुपतिप्रसाद- ३ हेर्ने वातावरण बनाउँदै छन् ।

पत्रकार सुजन, गोकर्ण र मैले फिल्म चल्दा चल्दै हलमै घोषणा गर्‍यौं अब पशुपतिप्रसाद- ३ आउँछ, आउँछ । नाम चाहिँ के राख्ने हो फिल्म निर्माण टीमले हामीसँग सल्लाह मागे त्यतिबेलै भन्ने छौं ।

एउटा कुरा प्रष्ट भनौं, अब भष्मे डनको क्रेज चाहिँ रहँदैन । पशुपति प्रसादमा विपीन कार्कीले भष्मे डन पात्रमा जसरी न्याय गर्न सकेका थिए ‘पशुपतिप्रसाद- २ भष्मे डन’ मा त्यो रफ्तार देखिएन । कतै फिल्मको नाममै भष्मे डन जोडिएपछि विपीन कार्कीलाई आफूले निभाएको पात्रको चरित्रमा न्याय गर्ने बेला डर त पैदा भएन ? प्रश्न कलाकार विपीन कार्कीतिरै । तर, अब पशुपतिप्रसाद- ३ मा भष्मे डन चाहिँ नजोडौं, सुझाव छ ।

भष्मे डन, पशुपतिप्रसाद- २ मा अलि बढी काल्पनिक, अलिबढी बनावटी र अलिबढी असहज लागेका हुन् की ! दर्शकले आशंका गर्न पाए नि । फेरि पनि सिंगो फिल्ममा भष्मे डन पात्रकै अब्बलता प्रष्ट छ । अब दर्शकले विपीन कार्कीसँग अलि बढीनै अपेक्षा गर्न थालेका छन्, त्यसैले भष्मे डन पात्रमा उनको भूमिकामा थोरै प्रश्न उठाएका छन् । तर, उनले भष्मे डन पात्रमा प्रस्तुति र पहिरनको हिसाबले कहीँ कतै अन्याय गरेका भने छैनन् ।

त्यसो त अभिनयको हिसाबले सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रवीन्द्रसिंह बानियाँ सबै ठीक छन् । तर, पात्रअनुसारको अभिनयमा सौगात मल्ल पनि चुकेका हुन् की ? अनि वर्षा शिवाकोटीलाई भूमिकामै अन्याय गरिएको हो कि ? यो पनि लेखक र निर्देशकसमक्ष जिज्ञासा बनेको छ दर्शकको ।

जे होस् फिल्मको प्रस्तुति र कथावस्तु समसामयिक तथा दमदार लाग्दछ । ‘पशुपतिप्रसाद’ भित्र पशुपतिनाथ मन्दिरमा पीडासँग विवशता खोज्ने पशुपतिप्रसाद, भष्मे डनजस्ता पात्रले जीवन तन्काउन गरेको संघर्ष उतार्न सफल खनाल र लामिछाने ‘पशुपतिप्रसाद– २ भष्मे डन’ मा जीवन तन्काउन बालबालिकाको लागि गरिने सौदा, आफ्नाबाट पाइने धोखाजस्ता विषय दर्शकमाझ पुर्‍याउन सफल भएका छन् ।

बाबु-आमाविनाको छटपटी र छोरा–छोरीको मायामा पीडितको नियति तथा पीडकको नियतले फिल्मका पात्रहरूलाई चलाएको छ । आफ्नाको लागि गरिएको दुष्कर्म र आम्दानीको लागि गरिएको दुष्कर्मले आखिर परिणाम त एउटै ल्याउँदो रहेछ नि । भष्मे डन (विपीन कार्की) ले बाबु चिन्न र नागरिकता बनाउन पैसा जोहो गर्नु थियो । कालीबहादुर (सौगात मल्ल) ले मृत्यु भएको छोरीको शव अस्पतालबाट निकालेर सांस्कृतिक परम्पराअनुसार सदगद गरी छोरीको मुक्तिको लागि पैसाको जोहो गर्नु थियो ।

दुवैलाई पैसा चाहिएको, दुवैको पीडा उस्तै र दुवैको पैसा कमाउने नियत उस्तै । फिल्मको कथामा नेपालीले भोगिरहेको नागरिकता समस्या र अधिकांश स्वास्थ्य संस्थाले गरिरहेको लुटको खेतीलाई बडो उर्वर ढङ्गले प्रस्तुत गर्न सकेका छन् निर्देशक दीपेन्द्र के खनालले र आम नेपालीले सधैँ भोगिरहेको पीडालाई बडो मार्मिक ढङ्गले उधिन्न सकेका छन् लेखक खगेन्द्र लामिछानेले ।

डनगिरीमा रमाउने जमातलाई पनि गतिलो शिक्षा छ ‘पशुपतिप्रसाद– २ भष्मे डन’ मा । डनगिरीमा आफ्नैबाट चाहिँ कति सुरक्षित हुन सकिन्छ वा अरुको पसिनामा मस्ति गर्ने कर्मले अन्तत: कता लान्छ भन्ने जवाफ छ ‘पशुपतिप्रसाद– २ भष्मे डन’ मा ।

‘पशुपतिप्रसाद- २ भष्मे डन’को कथाले सिक्वेल खोजेकै हो । यसका केही उदाहरण–

दुर्गामाता बस्ने कोठामा के छ ? जहाँ माया साटिएको मुटु भष्मे डनले समेत इन्ट्री पाउँदैनन् । भष्मे डनका मु– बोला बाउले बालगृह चलाउने संस्था प्रमुखसँग किन पैसाको कुरा गरिरहेका छन् ? भष्मे डनसँग छलिएर । भष्मे डनको बुबासँग भेट हुने र नागरिकता पाउने कुरा कैले हुन्छ ? कालीबहादुरको छोरीको मृत्यु कसरी भयो ? उनको छोरी अस्पताल कसरी पुगिन् ? र उनकी श्रीमती चाहिँ कहाँ छिन् ? उनको श्रीमतीलाई छोरीको मृत्यु भएको खबर छ कि छैन ? भष्मे डन र कालीबहादुर भिरबाट कसरी बचेर निस्कन्छन् ? उनीहरू बीच कुराकानी हुन्छ कि हुदैन ? आपसमा पीडा साटेर दुष्कर्मको विरुद्ध संयुक्त प्रतिवाद गर्छन् कि गर्दैनन् ?

उल्लेखित उदाहरणको जवाफले नै सिक्वेल मिलाउँछ पशुपतिप्रसाद- ३ को लागि । त्यो सिक्वेलअनुसार कथावस्तु कसरी अगाडी बढ्छ, कुन-कुन पात्र आवश्यक पर्छन् र पुशपतिप्रसाद प्रकरणको अन्त्य कसरी हुन्छ त्यसको जिम्मा दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेलाई ।

अहिले यति भनौं ‘पशुपतिप्रसाद- २ भष्मे डन’ एउटा सन्देशमूलक तथ्य कथाको छाया चित्र हो । यसले नेपाली समाजमा विभिन्न क्षेत्र र व्यवसायमार्फत भित्रिँदै गरेको विकृतिलाई उजागर गरेको छ । नेपाली फिल्मी क्षेत्रमा यसले नयाँ रेकर्ड बनाउन सकोस् शुभकामना !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *