‘छक्का पञ्जा ४’ र ‘झिङ्गेदाउ’ अब भिडियोपसलमा – Nepal Press

‘छक्का पञ्जा ४’ र ‘झिङ्गेदाउ’ अब भिडियोपसलमा

काठमाडौं । व्यवसायिक रूपमा सफल साथै दर्शकले निकै रुचाएका दुई चलचित्र ‘छक्का पञ्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटीटी प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज भएको छ ।

नेपालीहरूको महान चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो । रिलिज भएका यी दुई चलचित्र अहिलेको लागि नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

दसैँ नजिकिँदै गर्दा विदेशमा रहेका दर्शकबाट ‘छक्का पञ्जा ४’ र ‘झिङ्गेदाउ’को माग उच्च भएपछि चलचित्र रिलिज गरिएको भिडियोपसलका संस्थापक निश्चल पाण्डे बताउँछन् ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ देखि ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई फोरके गुणस्तरमा पनि चलचित्र हेर्न सकिनेछ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

यता कलाकार तथा निर्मातासमेत रहेका दीपकराज गिरी र दीपाश्री निरौला पनि चलचित्र ‘छक्का पञ्जा ४’ हेर्न दर्शक निकै आतुर रहेको बताउँछन् । हरेक दिनजसो चलचित्रको डिजिटल रिलिजबारे प्रश्न आउने हुँदा अब भने दर्शकले घरमा नै परिवारसँग बसेर चलचित्रको मज्जा लिनसक्ने दीपक-दीपा सुनाउँछन् ।

हेमराज बीसीले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा ४’ मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायतको अभिनय छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको ‘झिङ्गेदाउ’मा भने केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

सन् २०१७ देखि सञ्चालनमा रहेको ‘भिडियोपसल’मा यसअघि कबड्डी ३, जात्रैजात्रा, प्रसाद, साइँलीलगायतका चलचित्र रिलिज भइसकेका छन् । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *