हावाहुरीसहितको पानीले पाकेको धानमा क्षति (भिडिओ) – Nepal Press

हावाहुरीसहितको पानीले पाकेको धानमा क्षति (भिडिओ)

रूपन्देही । किसानको खेतमा भित्राउन तयारी धान सोमबार राती आएको हावाहुरीसहितको पानीले ठूलो क्षति पुराएको छ ।

लुम्बिनी प्रदेशका तराईका जिल्लामा अधिकांश किसानको धान पाकेको थियो । केही दिनअघि मनसुन सकिएको समाचार पाएपछि केहीले धान काटेको खेतमै चुटिएको छ ।

रुपन्देहीमा धान खेतीमा ठूलो क्षति पुगेको छ । राती साढे ९ बजेतिर आएको तीव्र गतिको हावाहुरीसहितको पानीले काट्नका लागि तयारी अवस्थामा रहेको धानमा क्षति पुगेको हो ।

सोमबार राति वर्षासँगै चलेको लगातारको तीव्र गतिको हावाहुरीले पाकेर काटेको धान, पाक्नै लागेको र पसाएर फुल्दै गरेका धानबाली ध्वस्त पारेको छ ।

पाक्न लागेको बेला चलेको हावाहुरीले परालसँगै लडाएर धान खेत सोत्तर बनाएको कृषकहरुले गुनासो गरेका छन् ।

रुपन्देहीका विभिन्न स्थानमा हावाहुरीले धानखेतीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव प्रसाद अर्यालले जानकारी दिए ।

उनले पसाएर फुल खेल्दै गरेको हरियो धानमा बढी क्षति पुर्याएको जानकारी दिए । क्षतिको विवरण भने आइनसकेको प्रमुख अर्यालले जानकारी दिए । पाक्ने बेलाको धान ढलेपछि कृषकहरु चिन्तित छन् ।

हावाहुरीका कारण सोमबार रातीदेखि विद्युतसमेत प्रभावित भएको छ । हावाहुरीले विभिन्न ठाउँमा पोल ढाल्नुका साथै तार चुडालेका कारण विद्युतको मर्मत कार्य जारी रहेकाले विद्युत प्रवाह गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण नयाँ मिल वितरण शाखाले जनाएको छ ।

सोमबारको पानीसहितको हावाहुरीले रूपन्देहीसहित बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासीका किसानको धान खेतीमा क्षति पुगेको छ ।

प्रदेश कृषि मन्त्रालयले ती जिल्लामा क्षति भएपनि विवरणमा आइनसकेको जनाएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले काटेको धानमा धेरै क्षति भएको र सबै जिल्लाका ज्ञान केन्द्रबाट क्षतिको विवरण मागिएको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *