ओली र बालेनलाई अरेली काँडाले घोचेको यो समय – Nepal Press

ओली र बालेनलाई अरेली काँडाले घोचेको यो समय

देशका कुन कुन ठाउँमा अरेली लहराको काँडा छ, त्यसले कति महिलापुरुषलाई च्वास्स, च्वास्स पार्‍यो, गीतकार नेत्र अर्याल र गायिका शान्तिश्री परियार नै जान्लान्, म जान्दिनँ । त्यसो त यस तीज गीतले मलाई खास आकर्षित गरेको पनि होइन । राजनीतिमा भने धेरैलाई च्वास्स पार्ने घटना विकसित भएकै छन् । अदालतले स्थायी राजनीति र समुन्नत राजनीतिक यात्रालाई घोचेकै छ । सबै भ्रष्टाचारका फाइल क्रमशः कमजोर बन्दैछन् । गृहमन्त्री र सचिवले आफ्नै तजबिजीमा, लेखापरीक्षण नै हुन नपर्ने गरी किन खर्च गरेनन् ? फ्रान्सेली कम्पनीलाई नेपालीको डाटा बेच्ने अघिल्ला गृहमन्त्री रवि लामिछानेको अभियानलाई पछिल्ला गृहमन्त्रीले किन रोकेको ? यस्तै मुद्दा अदालतमा गएछ भने पनि पक्कै गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुद्दा हार्नेछन् ।

रघुजी पन्त एक राजनीतिज्ञभन्दा पत्रकार र विश्लेषक बढी हुन् । तर, प्रधानमन्त्री प्रचण्डले चीनबाट फाइदा लिने मौका चुकाएको उनको टिप्पणी अध्यक्ष ओलीप्रति बफादार हुने चिन्तनमात्रै लाग्छ । चीनले दिने जति त दिइहाल्छ, नदिने कुरा रघुजी नै प्रधानमन्त्री भए पनि दिँदैन । उनलाई गजबले थाहा छ कि चीन चिसो छ । चिसो चीनले प्रचण्डलाई ऐतिहासिक स्वागत गर्नु, त्यत्रा सहमति गर्नु र पुराना नवीकरण गर्नु सामान्य त होइन । थाहा पाएर पनि विरोध गर्नु उनको पार्टी धर्म हो । डल्लुमा बसेर ललितपुरको राजनीति गर्छु भन्दा सधैं सेटब्याक खानुपरेको अनि जीवनभरि माधव नेपालबाट लाभ लिएर अन्तमा ओली शरण परेको उनको धरातल कसले बिर्सियोस् ?

लेखको सन्दर्भ भने अति महत्त्वाकांक्षी ओली र उनको नेतृत्वको पतनोन्मुख एमाले अनि धरातल नै नभएका काठमाडौं महानगरका मेयर बालेन शाहप्रति लक्षित छ । लुम्बिनी, गण्डकी र कर्णाली एमाले अधिवेशनमा अध्यक्ष ओलीका मानिस हारेकाले मात्रै होइन, इन्चार्ज महेश बस्नेतको इसारामा युवा संघको अराजक झुण्डले दुर्गा प्रसाईंलाई कालोमोसो दलेकाले मात्रै पनि होइन । उसका कैयौं नेता कार्यकर्ता सोह्र श्राद्धमा उपवास बसे वा हिन्दू राज्य पक्ष भए वा संघीयता खारेजी पक्ष भए भनेर पनि होइन । आनीबानीका आन्तरिक र बाह्य पक्षभन्दा धेरै राष्ट्रिय/अन्तराष्ट्रिय राजनीतिक बुझाइबाटै ओली एमाले टाढा हुँदैछ । त्यसैगरी भित्रभित्र जति मैला छाडे पनि उपरमा सफा गरें भन्ने भ्रम र सुविधा बालेनलाई दिनुपर्छ । तर, एक अभियन्ता ईःले १० दिन उभिएर हल्लाइदिन सक्ने बालेन सत्ता कति कमजोर धरातलमा टिकेको छ भन्ने सन्दर्भ पनि अरेली काँडा गीत भाइरल भए जसरी नै सावित भैसकेको छ ।

रघुजी पन्त एक राजनीतिज्ञभन्दा पत्रकार र विश्लेषक बढी हुन् । तर, प्रधानमन्त्री प्रचण्डले चीनबाट फाइदा लिने मौका चुकाएको उनको टिप्पणी अध्यक्ष ओलीप्रति बफादार हुने चिन्तनमात्रै लाग्छ । चीनले दिने जति त दिइहाल्छ, नदिने कुरा रघुजी नै प्रधानमन्त्री भए पनि दिँदैन ।

बालेन शाह नेतृत्वको काठमाडौं महानगर सत्ता पीडित सडक व्यापारीको पक्षमा सत्याग्रह गरेका सामाजिक अभियन्ता ईःको मागमा महानगर झुक्नुपरेसँगै मेयर बालेनका फुक्काफाल मनोमानीले ‘सेट्ब्याक’ खाएको छ । ईः त्यस्ता अभियन्ता हुन्, जसले बालेन जिताउने अभियानको समेत नेतृत्व गरेका थिए ।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत घन्काउँदै भोट असुल गरेका बालेनले धनीलाई मात्रै महानगरवासी देखेपछि त्यही गीतमा बालेन सत्ताविरुद्ध अभियान छेड्ने ईः उच्चतम राजनीतिक संस्कृतिका नयाँ पर्याय सावित भएका छन् । काठमाडौं महानगरको आँगनमा डेढ हप्तासम्म खुट्टा सुन्निनेगरी ईः उभिएपछि सडक व्यापारलाई व्यवस्थित गर्ने लिखित बाचा महानगर नेतृत्वले गरेको छ । त्यसैले अभियन्ता ईः बालेन सत्तालाई भुईं तहको चुनौती भएका छन् ।

अब महानगरका कैयौं निश्चित क्षेत्रमा, निश्चित समयमा सडक व्यापार गर्न पाइनेछ । कहाँ कहाँ, कुन समयमा पाइने छ, त्यसको गृहकार्य महानगर र ईःको कार्यदलले गर्दैछ । दशैंतिहार जस्ता चाड आधारित बजारलाई समेत लक्षित गरेर सडक व्यापार सहज गराइनेछ ।

बालेनका अन्धभक्तहरूले ईःलाई प्रायोजितसमेत भन्न भ्याएका थिए । उनी क्रिश्चियन भएको र उनले दूतावासहरूबाट रकम असुल गरेर बालेनविरुद्ध अभियान थालेको तथाकथित आरोप लगाउनेहरूले बालेनकै कानमा यो कुरा पुर्‍याएका थिए । तर, ‘मेरो विरोधमा भए पनि ईः त्यसरी गिर्ने मान्छे होइन’ भन्दै बालेन स्वयंले निकट र कर्मचारीबीच ईःको इमानदारीको बयान गर्नुपरेको थियो ।

बालेन शाह नेतृत्वको काठमाडौं महानगर सत्ता पीडित सडक व्यापारीको पक्षमा सत्याग्रह गरेका सामाजिक अभियन्ता ईःको मागमा महानगर झुक्नुपरेसँगै मेयर बालेनका फुक्काफाल मनोमानीले ‘सेट्ब्याक’ खाएको छ । ईः त्यस्ता अभियन्ता हुन्, जसले बालेन जिताउने अभियानको समेत नेतृत्व गरेका थिए ।

सडक व्यापारलाई व्यवस्थित गर्नु सट्टा गाडा, साइकलसहितका सामान र सडकका सामान हडप्ने महानगरले हड्पेका सामान फिर्ता गर्न सुरु गरिसकेको छ । बिग्रेका र हराएका सामानको क्षतिपूर्ति दिनुपर्ने मागलाई समेत सम्बोधन गर्ने प्रतिबद्धता महानगरले ईःसँग गरेको छ ।

चुनाव जितेपछि ‘राजा’ हुने व्यक्ति घमण्डका अगाडि अभियन्ता ईः सचेत युवा नमुना भएर देखापरेका छन् । यसले नयाँ पुस्ता केवल घमण्ड र पूँजी बजारको लहैलहैमा मात्रै होइन, राजनीतिक र निमुखा हितको मूल्य मान्यतामा समेत सचेत छ भन्ने देखाएको छ । उपरी आदर्श छाँट्ने बालेनलाई भुईंको आवाज बोक्ने ईः एक सशक्त र उदाउँदो नेतृत्व चुनौती हुन् ।

पुनश्च !

सन्दर्भबस अरेली र कुनै पनि काँडाले सबैलाई घोच्नसक्छ । यी दुई सन्दर्भले अहिले एमाले र बालेनलाई घोचेको छ । भैछाड्ने र अर्को उपाय नै नभएका विषयमा संस्था र मानिसहरू पहिल्यै हौसिनुहुँदैन । हौसिँदा आफैं उदाङ्गो हुनु त पर्छ नै, देश र जनता भ्रम तथा घाटामा पर्छ । दीर्घ सोच राजनीति गर्छु भन्नेहरूको अहं परिलक्ष्य हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *