निजी क्षेत्रको मनोबल नबढाई अर्थतन्त्रमा सुधार कठिन छ: पुन – Nepal Press

निजी क्षेत्रको मनोबल नबढाई अर्थतन्त्रमा सुधार कठिन छ: पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मुलुको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभामा बिहीबार विशेष समयमा बोल्दै पुनले आर्थिक मन्दीको अवस्था अन्त्यका लागि विज्ञसहित सम्वद्ध क्षेत्रको सुझाव लिएर सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।

व्यवसायीहरुमा व्याप्त असुरक्षाका कारण बजारमा माग नहुँदा बैंकहरुमा रकम थुप्रिएर बसेको उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्रीसेमत रहेका पुनले सरकारले निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्ने बताए ।

‘पछिल्लो समय आर्थिक मन्दीको अवस्था छ । मन्त्रिपरिषद् र अर्थ मन्त्रालयले त्यसबारे बोल्नुपर्छ । बाह्य क्षेत्र राम्रै रहे पनि आन्तरिक रुपमा अर्थतन्त्र चलायमान हुन सकेको छैन’, पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उठाउने काम गर्नुपर्छ । निजी क्षेत्रसहित सरोकारवाला सबैको सुझाव लिएर लगानीकर्तामा रहेको डर हटाउन सरकारले पहल गर्नुपर्छ ।’

सांसद पुनले दशैं, तिहार र छठ जस्ता प्रमुख चाडपर्व नजिकिए पनि विगतका वर्षहरुमा जस्तो आयात नहुनुको कारण खोज्न सरकारलाई आग्रह गरे । शेयर बजार र घरजग्गाको कारोबारमा सुस्तता आएको, साना लगानीकर्ता टाट पल्टिएको र ठूला लगानीकर्ता पनि समस्यामा परेको उनको भनाइ थियो ।

उनले चाडपर्वमा कालोबजारी र अभाव रोक्न र सहज रुपमा उपभोग्य सामान पाउने अवस्था बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेका सीप र धन नेपालको विकासमा लगाउन नीतिहरुमा आवश्यक लचकता अपनाउन जरुरी रहेकोमा जोड दिए ।

संविधानको व्यवस्थाअनुसार हालै जारी भएको नागरिकता विधेयकले गैरआवासीय नागरिकताको व्यवस्था गरेको भए पनि व्यवहारिक जटिलता देखिएकाले त्यसमा सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यताअन्तर्गत राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्थाले संसारभर छरिएका नेपालीलाई नेपालमा लगानीको वातावरण बनाएको बताए ।

‘गैरआवासीय नेपालीले नेपालमा लगानी गरिहेका छन् । थप लगानी गर्न चाहेका छन्’, उनले भने, ‘अमेरिकासहित केही देश र नेपालको करसम्बन्धी व्यवस्थामा मेल नखाएका कारण दोहोरो कर तिर्नुपर्ने अवस्था छ’, पुनले भने, ‘ती देशसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सरकारले युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराइसकेको र नेपाल ल्याउन परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल पठाएको भन्दै उनले सरकारको प्रशंसा गरे ।

इजरायलमा रहेका थप नेपालीको सुरक्षा र इच्छुकहरुको नेपाल फिर्ती सहज बनाउन पुनले माग गरे । संसारकै सबैभन्दा बलियो हवाई सुरक्षा तथा बलियो सेना र प्रभावकारी गुप्तचरी भएको इजरायलमा भएको आक्रमणलाई सामान्य रुपमा लिन नहुने पुनले बताए ।

युद्धको अवस्थामा रहेको देशमा भएका नागरिकको सुरक्षा गर्नु र सुरक्षित देश फिर्तीको वातावरण बनाउनु चुनौतीपूर्ण भए पनि सरकारले आफ्नो दक्षता प्रदर्शन गरेकामा उनले धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर