गठबन्धनमा भएको सहमति कांग्रेसको केदार कार्की समूहले नमान्ने, मुख्यमन्त्रीमा दाबी यथावत – Nepal Press
कोशी प्रदेश

गठबन्धनमा भएको सहमति कांग्रेसको केदार कार्की समूहले नमान्ने, मुख्यमन्त्रीमा दाबी यथावत

विराटनगर । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अगाडि सार्ने निर्णय गरे पनि केदार कार्कीको समूहले उक्त निर्णय अमान्य भएको बताएको छ । कार्कीले मुख्यमन्त्रीमा आफ्नो दाबी यथावत् भएको बताए ।

पूर्वआन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका कार्कीले अझै मुख्यमन्त्रीको दाबी नछाड्दा गठबन्धनमा समस्या देखिएको छ । कार्की शेखर पक्षका हुन् । उनीलगायत निकटका सांसद रणनीति बनाउन छलफलमा व्यस्त छन् । कार्की कांग्रेसका ७ देखि ९ जना सांसदको हस्ताक्षरसहित एमालेसँगको सम्पर्कमा रहेको स्रोतले बताएको छ ।

कार्कीनिकटका एक सांसदले पनि आफूहरूले दाबी नछाडेको बताए ।

ती सांसदले नेपाल प्रेससँग भने, ‘नेतृत्वले माओवादीका संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारे पनि हाम्रो उम्मेदवार केदार कार्की हो । विराटनगर आएपछि थप रणनीति बनाउँछौ । नेतृत्वले भन्दैमा मान्ने अवस्थामा छैनौं ।’

संविधानको धारा १६८ (३) अन्तर्गत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तरगत सरकार गठनको भोलि साँझसम्मको समय दिएका छन् ।

सत्ता गठबन्धनको आज बालुवाटारमा बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए । उनले कांग्रेसभित्रको विवाद मिलिनसकेको भए पनि अन्तिममा कांग्रेस एक हुने दाबी गरे ।

एमाले भने यदि बहुमत पुर्‍याउने संख्या लिएर आउनेलाई मुख्यमन्त्रीमा सहयोग गर्ने रणनीतिमा छ । काम चलाउ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गठबन्धनका कोही पनि सांसद बहुमत पुर्‍याउने सदस्य लिएर आए एमालेले सहयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर