कांग्रेस महासमिति निर्वाचन : एक पूर्व मन्त्री र तीन पूर्व सांसद पराजित – Nepal Press

कांग्रेस महासमिति निर्वाचन : एक पूर्व मन्त्री र तीन पूर्व सांसद पराजित

डोटी । नेपाली कांग्रेस महासमिति सदस्यमा चुनाव लडेका एक पूर्व मन्त्री र तीन पूर्व सांसद पराजित भएका छन् । बुधवार डोटीमा महासमिति सदस्यका लागि भएको निर्वाचनको परिणाम अनुसार पूर्व मन्त्री भक्तबहादुर बलायर पराजित भएका छन् ।

बलायर २०४८, २०५१ र २०५६ गरी ३ पटक लगातार साबिकको डोटी जिल्ला निर्वाचन क्षेत्र–१ बाट निर्वाचित भएका थिए । उनी दुई पटक मन्त्री समेत भए । बलायरले समानुपातिकतर्फ खस आर्य कोटामा उम्मेदवारी दिएका थिए ।

लामो समयसम्म कांग्रेस डोटीको सभापति भएका पूर्व सांसद यज्ञराज पाठकले पनि महासमिति सदस्यमा पराजय भोग्नु प¥यो । पाठक २०६३ सालको अन्तरिम व्यवस्थापिका–संसदमा मनोनीत सांसद हुन् ।

अर्का पूर्व सांसद भरतबहादुर खड्का पनि महासमिति सदस्यमा निर्वाचित हुन सकेनन् । २०४३ सालमा तत्कालीन जिल्ला पञ्चायतको सभापति भएका खड्का २०४९ सालमा कांग्रेसबाट जिल्ला विकास समिति उपसभापति भएका थिए । २०५४ सालमा फेरि जिल्ला विकास समिति सभापति भएका खड्का दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक कोटामा सभासद् बनेका थिए ।

२०७४ सालको निर्वाचनमा डोटी प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट प्रदेश सभा सदस्य जितेका खड्काले महासमितिमा भने हारको सामना गर्नु पर्‍यो । पाठक र खड्का दुवैले खलातर्फको कोटामा उम्मेदवारी दिएका थिए ।

२०६४ साल र २०७० सालको निर्वाचनबाट समानुपातिक सभासद् बनेकी कल्पना सोवको पक्षमा पनि नतिजा आएन । उनले समानुपातिक तर्फ दलित कोटामा उम्मेदवारी दिएकी थिइन् ।

त्यसो त पूर्वी चौकी गाउँपालिकाका बहालवाला अध्यक्ष रामप्रसाद उपाध्यायले पनि पराजयको सामना गर्नु पर्‍यो । संकटकालमा लामो समय कांग्रेसको कार्यवाहक जिल्ला सभापति रहेका उपाध्यायले खुलातर्फबाट महासमिति सदस्यमा उम्मेदवारी दिएका थिए ।

को को विजयी भए ?

११ पदका लागि २१ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनमा समानुपातिकतर्फ दलित कोटामा लालबहादुर बिक निर्वाचित भएका छन् । खुलातर्फ जीत बहादुर खड्का, सीताराम जोशी, लोकेन्द्र बहादुर शाही, पुष्प कुमार शाही र पदमराज जोशी विजयी भएका छन् ।

खुला महिला कोटामा धौली देवी रावल र प्रसिस महरा विजयी भएकी छन् । समानुपातिक खस आर्य कोटाको महिलातर्फ मिनादेवी विष्ट विजयी भएकी छन् ।

समानुपातिक कोटाको खस आर्य पुरुष तर्फ सोपान सिंह बोहरा र लक्ष्मण बहादुर सिंह विजयी भएका छन् । सिंह जिल्ला समन्वय समितिका प्रमुख पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर