अब काेशीको मुख्यमन्त्री को ? यी हुन् दाबेदार – Nepal Press

अब काेशीको मुख्यमन्त्री को ? यी हुन् दाबेदार

प्रदेशसभाका सबै सदस्यलाई खुल्यो मुख्यमन्त्रीमा दाबी गर्ने बाटो

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेशको राजनीतिक कसरी अगाडि बढ्छ भन्ने विषय चासोका साथ हेरिएको छ ।

संविधानको धारा १६८(३) अन्तरत सबै भन्दा ठुलो दलको हैसियतले ३० दिन अघि मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै अव सरकार गठनको प्रक्रिया १६८(५)मा पुगेको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले ७ दिन भित्र सरकार गठनको आव्हान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गर्नुअघि आफूलाई राजीनामा दिएर पुन: संविधानको धारा १६८(२) अन्तरगत नै सरकार गठनको बाटो खोल्नु सुझाव आएको बताएका थिए ।

उनले भनेका थिए, ‘मलाई राजीनामा गरेर धारा १६८(२) अन्तरगत सरकार गठनको बाटो खोली दिनुस् भन्ने सुझाव आएको थियो । तर सरकार गठनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने व्याख्या भने सर्वोच्च अदालतले गर्छ ।’

उनले संविधानको रक्षाका लागि आफू दुई पटक सर्वोच्च गएकाले अबको सरकार गठनका लागि कसरी आव्हान हुन्छ भन्ने कुरा प्रदेश प्रमुखले गर्ने बताए ।

कोशी प्रदेशमा २०७९ साल पुस २४ गते हिक्मत कार्की पहिलो पटक १६८(२) अन्तरगत मुख्यमन्त्री भएका थिए ।

उनले असार १५ गते विश्वासको मत पाउन नसकेपछि असार २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुखको हस्ताक्षर सहित प्रदेश प्रमुखकोमा पुगेपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सभामुखको हस्ताक्षर गनेर मुख्यमन्त्रीमा नियुक्त भएपछि उनी विरुद्ध एमाले असार २२ गते सर्वोच्च गएको थियो ।

थापाको नियुक्ति बदरको माग सहित सर्वोच्च गएको एमालेको रिट उपर सर्वोच्चले सुनुवाइ गर्दै साउन १६ गते उद्धव थापालाई मुख्यमन्त्रीबाट पद मुक्त गरेको थियो । सोही दिन तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराउँदै दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

थापाले विश्वासको मत लिने बेलामा सभाअध्यक्षता गरेका इस्राइल मन्सुरीलाई विश्वासको मत हाल्न लगाएपछि पुन एमाले सर्वोच्च गएको थियो । सर्वोच्चले पुन उद्धव थापाको नियुक्ति बदर गरेपछि कार्की दोस्रो पटक भदौको २२ गते मुख्यमन्त्रीमा नियत भएका थिए ।

मुख्यमन्त्री बन्न कांग्रेसमा सांसदको लाइन

निरन्तर प्रक्रियामा जाने हो भने प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धरा १६८(५) अन्तरगत सरकार गठनको आव्हान गर्ने छन् ।

सो धारामा प्रदेश सभामा रहेका जुन सुकै प्रदेश सदस्यले बहुमत सिद्ध गरे मुख्यमन्त्रीमा नियुक्त हुने छन् । तर कोशी प्रदेशको अङ्क गणित हेर्ने हो भने अहिले सत्ता गठबन्धनसँग बहुमत पुग्ने छ ।

९३ सदस्य रहेको प्रदेश सभामा सत्ता गठबन्धनसँग ४७ सिट रहेको छ । यो सङ्ख्या बहुमत हो । तर सत्ता गठबन्धनमा अबको मुख्यमन्त्री को हो भन्नेमा विवाद छ ।

२९ सदस्य रहेको सत्ता गठबन्धनको सबै भन्दा ठुलो दल कांग्रेस भित्र मुख्यमन्त्री बन्नेमा ठुलो किचलो रहेको छ । दुई दुई पटक मुख्यमन्त्री बनेर पनि विश्वासको मत लिन नसकेको भन्दै दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्न नहुने आवाज दल भित्र रहेको छ ।

प्रदेश सभा सदस्य केदार कार्कीले नैतिकताका आधारमा उद्धव थापा मुख्यमन्त्री बन्न नहुने बताउँदै आएका छन् । उनले आफूसँग कांग्रेस प्रदेशसभा सदस्यहरूको बहुमत रहेको बताएका छन् । श्रोतका अनुसार उनले केही प्रदेश सभा सदस्यलाई आफ्नो पक्षमा हस्ताक्षर समेत गराइसकेका छन् ।

उनले नेपाल प्रेससँग भने अव संसदीय दलको नेता नै मुख्यमन्त्री हुनुपर्छ भन्ने रहेन त्यसो भएकाले म पनि मुख्यमन्त्रीको दावदारीमा रहनुलाई अनुचित मान्नु हुँदैन ।

उनी शेखर कोइराला समूहका नेता हुन् । संसदीय दलको नेताको निर्वाचनमा उनले ९ मत पाएका थिए ।

केही दिन अघि नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको बैठकमा अबको मुख्यमन्त्री को भन्ने विषयमा माइन्युट खोसा खोस भएको थियो । संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीको रूपमा आफ्नो पक्षमा निर्णय लेख्न भनेका थिए ।

अन्य प्रदेश सभा सदस्यले भने कांग्रेसको नेतृत्वमा सरकारमा जानु पर्ने निर्णय लेख्न भनेका थिए । यही विषयमा विवाद भएपछि माइन्यूट खोसा खोस भएको कांग्रेसका एक प्रदेश सभा सदस्यले बताए ।

विवाद बढ्दै गएपछि थापाले चाहे अनुसारको निर्णय भने गर्न सकेनन् । उनी कृष्ण सिटौला निकटका नेता हुन् ।

संस्थापन पक्षमा रहेका सिटौला समूहका थापा दुई दुई पटक मुख्यमन्त्री भए पनि उनले आफ्नै कारण विश्वासको मत नपाएकाले अव अरूले पनि चान्स पाउनु पर्ने संस्थापन पक्षकै नेताहरूले दाबी गर्दै आएका छन् ।

उद्धव थापा मुख्यमन्त्री बन्ने परिस्थिति नआए संस्थापन पक्षका नेता हिमाल कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सम्भावना रहेको छ । उनी अहिले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उप नेता हुन् ।

उनी पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् । अहिले उनलाई पनि कोशी प्रदेशको मुख्यमन्त्रीको आकाङ्क्षीको रूपमा हेरिएको छ ।

उनले अहिले नै मुख्यमन्त्री भई हाल्ने अवस्था नरहेको बताए । उनले भने, अहिले म दौडमा छैन । हेरौँ परिस्थिति के आउँछ ? उनले नेपाल प्रेससँग भने परिस्थिति बने पछाडि नहट्ने बताए ।

यस्तै विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली समेत मुख्यमन्त्री बन्ने दौडमा रहेका छन् । उनी पनि यसका लागि लविङ्गमा लागेका छन् । तर कोशी प्रदेशमा कोइराला समूह र संस्थापन पक्षका बिचमा चरम गुटबन्दी हुँदा कांग्रेसले अव बन्ने सरकारमा मुख्यमन्त्रीको साझा उम्मेदवार बनाउन चर्को छ ।

शेखर समूहका कार्कीले आफूहरूको कुरा नसुनिए नेताहरूको निर्देशन विपरीत पनि उभिन सक्ने चेतावनी दिँदै आएका छन् ।

मध्यावधि टार्न माओवादी नेतृत्वको सरकार आङ्वो

हिक्मत कार्कीले राजीनामा दिएसँगै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मध्यावधि रोक्न माओवादीको नेतृत्वमा सरकार गठन हुनु पर्ने बताएका छन् । उनले सत्ता गठबन्धनले माओवादीलाई मुख्यमन्त्री दिनु पर्ने बताए ।

उनले नेपाल प्रेससँग कुरा गर्दै भने, मध्यावधि रोक्ने हो भने माओवादीको नेतृत्वमा सरकार गठन हुनु पर्छ ।’

सत्ता गठबन्धनको साझेदार दलहरू कांग्रेसलाई दुई-दुई पटक मुख्यमन्त्रीमा समर्थन गरेकाले अव माओवादीलाई समर्थन गर्नु पर्ने बताए ।

आङ्बोले काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए । उनले काँग्रेस नेतृत्वको सरकारले दुई पटक विश्वासको मत नपाएर उपधारा ३ हुँदै ५ मा पुगेको भन्दै अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने निष्कर्ष रहेको बताए ।

उनी मुख्यमन्त्री बाहेक मन्त्री बनेर माओवादीको नेतृत्व गरेर सरकारमा नजाने सर्तमा संसदीय दलको नेतामा छानिएका थिए ।

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमले आफ्नो पनि मुख्यमन्त्रीमा दाबी रहेको बताए ।

उनले सहमति जुटे आफू पनि मुख्यमन्त्रीको उम्मेदवार रहेको बताए ।

उनले भने, ‘दलको नेता भएकाले मौसम कमरेडको दाबी हुनु स्वभाविक हो । सभामुख भएकाले मेरो पनि दाबी रहन्छ ।’

एमाले पनि पुन: सरकारको नेतृत्व गर्ने तयारीमा

संविधानको धारा १६८ को ३ अन्तरगतको सरकारको नेतृत्व गरेका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिए पनि पुन धारा ५ अन्तरगत सरकारको गठनको तयारीमा लागेको छ ।

एमालेसँगको गठबन्धनमा रहेको राप्रपा सहितको सरकार गठनमा एमाले रहे पनि उसलाई अहिले नै बहुमत भने छैन । २ सिट कम भएको एमालेले अन्य दलसँगको सहकार्यमा बहुमत पुर्‍याउनका लागि कसरत गरिरहेको एमालेले जनाएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले सम्भावनाहरू बाँकी रहेको बताए ।

जे पनि हुन सक्छ उनले भने आन्तरिक तयारी भइरहेको छ । संविधानको धारा १६८(३) अन्तरगत मुख्यमन्त्री बनेका कार्कीले ५ अन्तरगत सरकारको नेतृत्व गर्न पाउने की नपाउने भन्ने विषयमा विवाद उब्जिदा एमालेले भने यस बारेमा केही बताएको छैन ।

१६८ को उपधारा ३ बमोजिम विश्वासको मत नपाएमा वा विश्वासको मतको प्रक्रिया छोडेर राजीनामा दिएमा कार्कीले उपधारा ५ बमोजिमको मुख्यमन्त्री दाबी गर्न नपाउने भएका बहस सुरु भएको छ । फैसलालाई सरसरती हेर्दा कार्कीले नेतृत्व  गर्न नपाइने जस्तो देखिन्छ । तर अहिले नै हामी यसै हो भन्ने अवस्थामा पुगेका छैन । एक प्रदेश सभा सदस्यले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि त्यस विरुद्ध परेको रिटको फैसलामा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको व्याख्याका आधारमा बहस सुरु भएको हो ।

२०७८ साल असार २८ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको संवैधानिक इजलासले सो फैसला गरेको थियो।

इजलासले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त नगरेको वा निजले सो प्रक्रिया परित्याग गरेको कारणबाट उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति हुने अवस्थामा निजले दाबी पेस गर्न नमिल्ने फैसला गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत नलिई उपधारा (५) बमोजिमको प्रधानमन्त्रीको दाबी पत्र राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर सहितको दाबी पेस गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले भने दोहोरो दाबी परेको नाममा प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

त्यस विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले संवैधानिक व्याख्या गर्दै प्रतिनिधिसभा पुनः स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।

कार्कीको विकल्पमा को ?

एमाले संसदीय दलका नेता हिक्मत कार्कीको विकल्पमा एमालेबाट मुख्यमन्त्री को भन्ने अहिले नै निष्कर्ष निस्कन सकेको छैन । उनी पछि कोशी प्रदेश सभामा सबै भन्दा सिनियर नेता हुने तिलकुमार मेन्याङ्वो । अहिलेको स्वास्थ्य मन्त्री रहेका मेन्याङ्गलो पोलिट ब्युरो सदस्य समेत हुन् ।

कार्की मुख्यमन्त्रीको लाइनमा नभए उनी मुख्यमन्त्रीको दौडमा हुने छन् । यस्तै खोटाङका पाँचकर्ण राई पनि मुख्यमन्त्रीको लाइनमा छन् । उनी यस अघि संविधान सभा सदस्य भइसकेका छन् भने उनी पनि पोलिटब्युरो सदस्य हुन् ।

राप्रपाको बार्गेनिङ पावर बढ्यो

कोशी प्रदेश सभामा ६ सिट सदस्य रहेको राप्रपा सरकार गठनका लागि कि फ्याक्टर हो । उसले सत्ता गठबन्धनलाई साथ दिए सरकारले निरन्तरता पाउने छ ।

तर अहिले नै राप्रपाले कता समर्थन गर्ने ? भन्ने निर्णय गरिसकेको छैन । राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले एमालेसँगै रहने की नरहने भन्ने विषयमा छलफल भइरहेको बताए ।

उनलाई यस अघि पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको थियो । सत्ता गठबन्धनलाई दिगो सरकार बनाउन राप्रपाका साथ चाहिएको छ ।

यसका लागि उनलाई पनि मुख्यमन्त्रीको रूपमा अघि सार्ने सम्भावना छ । तर सिटौलाले अहिले सम्म उनले मुख्यमन्त्रीका लागि आफूहरूलाई जनमत नभएको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर