नेपाली छाला जुत्ता दक्षिण एसियामै गुणस्तरीय र सस्तो छ : उपाध्याय (भिडिओ) – Nepal Press
नेपाल टक

नेपाली छाला जुत्ता दक्षिण एसियामै गुणस्तरीय र सस्तो छ : उपाध्याय (भिडिओ)

काठमाडौं । ललितपुरको जाउलाखेलमा असोज १० गतेदेखि जुत्ता चप्पल मेला चलिरहेको छ । चाडपर्वलाई लक्षित गरेर मेला कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा के कस्ता जुत्ता चप्पलहरु पाइन्छन्, सामान्य बजारमा किन्नुभन्दा मेलामा चुत्ताचप्पल किन्दा कति छुट हुन्छलगायतका प्रश्न मेला आयोजक तथा नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायसँग हामीले सोधेका छौं । मेलामा ग्राहकले के कसरी फाइदा उठाउन सक्छन्, देशलाई जुत्ता चप्पलमा आत्मर्निभर बनाउन के के गर्नुपर्छ भन्नेबारे उनै नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायसँग नेपालप्रेसकर्मी राजाराम न्यौपानेले गरेको कुराकानी नेपाल टकमाः

– जुत्ताचप्पल मेलामा ग्राहकको के कस्तो प्रतिक्रिया आइरहेका छन् ?

दशैं लक्षित जुत्ताचप्पल मेला असोज १० गतेमात्रै उद्घाटन भएको हो । गत शनिबार भने व्यापार उल्लेखनीय भयो । चाडपर्व लक्षित मेला भएकाले दशैं लक्षित डिजाइन र त्यसैअनुसार छुट राखेर हामीले मेला सञ्चालन गरिरहेका छौं ।

– अघिल्लो वर्षका व्यापार मेलासँग तुलना गर्दा यस वर्षको व्यापार कस्तो छ ?

समग्रमा हेर्दा व्यापार १० प्रतिशत कम भएको छ । कोरोनाभन्दा पछिका दुई वर्ष व्यापार अलि कम भयो । त्योभन्दा पनि यो वर्ष कम छ । जिल्ला बाहिरबाट आउने ग्राहकहरुको संख्या एकदमै कम छ । हाम्रा डिलर, पसलवाला र एजेन्टहरु नै प्रभावित छन् । उनीहरुकै न्यून कारोबार भएकाले बजार त्यति चलायमान छैन ।

– जुत्ताचप्पल कम बिक्री हुनुमा नेपालीहरुले विदेशी जुत्ताचप्पल रोजेको कि माग नै घटेको हो ?

अहिलेको हिसाबले जुत्ताचप्पल र लुगाकपडा खपत गर्ने युवा पुस्ता बाहिर गएको भन्ने छ । त्यसैअनुसार हामीले पनि महसुस गरेका छौं । जुन खर्च गर्ने वर्ग हुन्छ, जसले खाने, रमाउने, जुत्ता फेर्ने जमात नै बाहिर भएको कारणले समग्र क्षेत्र नै प्रभावित भएको हामीले अनुमान गरेका छौं ।

– मेलामा के कति ब्राण्डका जुत्ताचप्पल पाइन्छ ?

मेलामा आउँदा ११ वटा कम्पनीका उत्पादनहरु प्रदर्शनमा राखेका छौं । त्यसमा प्रत्यक्ष उद्योगबाट उपभोक्तासँग सामान पुग्छ । हामीले बीचका बार्गेनरलाई मिचेर डाइरेक्ट उपभोक्तालाई बिक्री गर्दैछौं । यसका साथै विज्ञापनमा गरिने खर्च पनि उपभोक्ताकै लागि दिन्छाैं ।

आगामी वर्षलाई गरेको डिजाइनका प्रोडक्टहरु नयाँ आर्थिक वर्ष सुरु भएपछि तयारी हुन्छ । मेलामा लन्चिङ पिरियडका जुत्ताहरु बिक्री वितरणमा राखिएका छन् । त्यसभित्र पनि प्रोडक्ट पहिचानका लागि छुट राखेर दिन्छौं । हामीले आफ्नो प्रोडक्ट पहिचानका लागि छुट दिइरहेका हौं । जसले गर्दा उपभोक्ताले त्यसको माग गरिरहोस् ।

– पसल र मेलामा जुत्ताचप्पलको मूल्यमा कति प्रतिशत फरक हुन्छ ?

ग्राहकले पसलमा गएर चुत्ताचप्पल किन्नुभन्दा मेलामा ५० प्रतिशत सस्तोमा पाउँछन् ।

– देश आर्थिक मन्दीतिर गएको अवस्थामा मेलामा सहभागीहरु कतिको आइरहेका छन् ?

विगतमा हामीले मेला गर्दा मानिसहरुको भीड लाग्ने गर्थ्यो । त्यो लहर अहिले छैन । मेला महोत्सवमा मात्रै होइन, समग्र बजारमै यस्तो वातावारण देखिएको छ । सबैतिर चहलपहल देखिएको छैन ।

– मेलामा नयाँ ब्राण्डहरु कुन कुन छन् ?

मेलामा नाम चलेका ब्राण्डहरु नै छन् । मेलामार्फत नयाँ लन्चिङ र ब्राण्डिङ गरेर आउनुभएको छ । विदेशी ब्राण्डका नामहरु राखेर बेच्नेहरुलाई स्वदेशी ब्राण्ड बेच्नुपर्छ भनेर प्रेरित गरिरहेका छौं । त्यस्ता ब्राण्डहरु पनि अहिले दर्ता गरेर मेलामा सहभागी भइरहेका छन् ।

– मेलामा के कति ग्राहकहरु आउने र व्यापार हुने अपेक्षा गर्नुभएको छ ?

एक महिना २० दिनसम्म चलने मेलामा करिब तीन लाखभन्दा धेरै अवलोकनकर्ताको अपेक्षा गरिएको छ । करिब ८ करोडको कारोबार गर्ने लक्ष्य लिइएको छ ।

– जुत्ताचप्पल मेला भन्नेबित्तिकै भृकुटीमण्डपमा हुन्छ भन्ने एक खालको छाप छ । भृकुटीमण्डपमा हुने मेला ललितपुरमा गर्दा के फरक पाउनुभयो ?

भृकुटीमण्डपको सानो चौरलाई मेलाको गुणगान गरिदिनु भयो । त्यहाँ ३६५ दिन नै मेलाको नाममा पसल गरिरहँदा मेला भन्ने शब्दलाई बिगारिदिनु भएको छ । किनभने १२ महिना लाग्ने त मेला हुँदैन । मेला भनेको त कुनै समय अवधिभित्र गर्ने हो । भृकुटीमण्डप एउटा भेटघाटको थलो बनिसकेकाले पनि मानिसहरुको चाप बढी हुन्छ । हामीले ललितपुरमा गरेको मेला त्योभन्दा फरक हो । नयाँ ठाउँमा आयोजना गरिएको पनि छ । यसलाई नेपाली उत्पादनहरुको थलोको रुपमा पनि विकास गर्न सहयोग पुग्छ । नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नु नै हाम्रो मुख्य उद्देश्या हो ।

– ग्राहकले कस्तो खालका उत्पादनहरु रुचाइरहेका छन् ?

ग्राहकहरु ३ किसिमका छन् । एउटा मास, जसले हजारदेखि दुई हजारसम्मको जुत्ता किन्ने गर्छ । एउटा क्लास छ, जसले तीन हजारभन्दा महँगो र राम्रो क्वालिटीको सबै कुरा पहिचान गरेर किन्ने गर्छ । अर्को साधारण जनता छन् । जसलाई आवश्यकता परिपूर्ति गर्न डिजाइन पनि चाहिँदैन, राम्रो पनि चाहिँदैन । वस, न्यून बजेटमा आफ्नो उपयोगिता पूरा गर्न खरिद गर्ने हुन्छ ।

– नेपालीहरुले स्वदेशी उत्पादन प्रयोग गर्न नखोजेका हुन् कि नेपाली उत्पादनले ग्राहकहरुलाई सन्तुष्ट बनाउन नसकेको हो ?

अहिले त्यस्तो भन्न मिल्दैन । अहिले आमनागरिकले नेपाली ब्राण्डका उत्पादनहरु लगाएर हिँडेका हुन्छन् । मेला महोत्सव गर्दा नेपाली उत्पादनप्रति आकर्षण भएको कारणले नै जुनसुकै ठाउँमा उपभोक्ताहरुको भीड लाग्ने हुन्छ । एउटा मेला भएपछि अर्को मेला लगाउन सफल भएका छौं । त्यसकारण नेपाली उत्पादनप्रति आकर्षण नभएको भन्न मिल्दैन ।

नेपाली उत्पादनले अन्तर्राष्ट्रिय स्तरका उत्पादनसँग प्रतिपस्र्धा गरिरहेको छ । विदेशबाट आउने जुत्ताचप्पलभन्दा गुणस्तरीय नेपालमै उत्पादन भइरहेको छ । दक्षिण एसियाका देशहरुमध्ये छालाको जुत्ताको मूल्य नेपालमै सबैभन्दा सस्तो रहेको छ । हामीले बिक्री गरेको गुणस्तरीय छालाको जुत्ता अरु देशले त्यही मूल्यमा दिन सक्दैन । हामीले दक्षिण एसियामै सबैभन्दा सस्तो मूल्यमा गुणस्तरीय छालाको जुत्ता दिइरहेका छौं । हामी ६ महिनाको वारेन्टी दिन्छौं । हाम्रो जुत्तामा ६ महिनाभित्र सोल भाँच्चियो भने साटिदिन्छाैं । यस्तो सर्भिस नेपालमा मात्रै छ ।

– नेपाली जुत्ताचप्पल बाहिर निर्यात भइरहेको छ कि छैन ?

छालाको जुत्ता निर्यातमा अलि समस्या छ । फेब्रिक, स्पोर्टस्, गोल्डस्टारका उत्पादन केही मात्रामा विदेशमा बिक्री भइरहेका छन् । आर्थिक वर्ष २०७९/८० मा नेपालबाट निर्यात हुने वस्तुमा जुत्ता सबैभन्दा धेरै रहेको तथ्यांक छ ।

अहिले निर्यात घटेको छ । निर्यात कम हुनुमा हाम्रो माग कम भएको हो, हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेनौं । कतिपय कुरा भूकम्प र नाकाबन्दीले गर्दा असर पार्‍यो । त्यस्तै नयाँ कर प्रणाली जीएसटी अनि नोटबन्दीले भारतर्फको निर्यातमा कमी आयो ।

– नेपाललाई जुत्ताचप्पल उत्पादनमा आत्मनिर्भर बनाउन तपाईंहरुले के गर्दै हुनुहुन्छ । राज्यले के गरे सहज हुन्थ्यो ?

सरकारले हाम्रा कुरा सुन्दै नसुनेको, हेर्दै नहेरेको भन्न मिल्दैन । म अध्यक्ष हुँदा सरकारसामु पेश गरेका मागहरु सम्बोधन भएका छन् । भन्सार हदबन्दी बढाउनुपर्‍योभन्दा सरकारले त्यसलाई पनि सम्बोधन गरेको छ । सावर्जनिक खरिद ऐनमा २० प्रतिशत महँगो हुँदा पनि नेपाली वस्तु प्रयोग गर्ने भनेर ऐनमा उल्लेख गरेको छ । यी सबै कुरा कागजमा मात्रै आएर भएन । व्यवहारमा पनि लागू हुनुपर्‍यो ।

भन्सारमा व्यवसायीको सामान मूल्याङ्कन भएर पुग्दैन । केहीमात्र वास्तविक मूल्याङ्कन भएर आएको हुन्छ । अधिकांश चोरीपैठारी भएर आउँछ । खुला सिमाना भएकाले अधिकांश सामान भन्सारै नतिरी आइरहेको हुन्छ । चोरी पैठारी गरेर ल्याउँदा थोरै ल्याउँदा पनि धेरै नाफा पाउँछन् । त्यसको उल्टो प्रभाव हाम्रो बजारमा परेको छ । खुला सिमानामा चोरी पैठारीलाई नियन्त्रण गर्न सकियो भने हाम्रो बजार केही मात्रामा सुधार हुनसक्छ । यसलाई नियन्त्रण गर्दा बजारमा माग बढ्नसक्छ ।

अहिले हामीसँग वार्षिक खपत १० करोड जोर रहेको छ । त्यसमा साढे ६ करोड जोर नेपाली उत्पादन नै खपत हुने गरेको छ । जसमा साढे २ करोड जोर आयात भएको देखिन्छ । लगभग २ करोड जोर बजारमा नआइकन परिपूर्ति भएको देखिन्छ ।

– नेपालले चीनबाट आयात गरेको जुत्ता अमेरिका निर्यात गर्छ भनेर रोकेको रहेछ । खास कुरा के हो ?

त्यो सम्भावना भएर नै शंका गरेको हो । अहिले हामीले छालाका जुत्ता प्रस्ट रुपमा प्रतिस्पर्धा गर्न नसक्ने कारणले चीनबाट भारत भएर आउने गरेको छ । छाला र कतिपय कच्चापदार्थ भरतबाट ल्याउँछौं । त्यसैले हाम्रो उत्पादन मूल्य बढी हुने गरेकाले हामीले प्रतिस्पर्धा गर्न सकिरहेका छैनाैं । अमेरिकाले शंका गर्नु स्वाभाविक हो ।

– गाँजाको जुत्ताको पनि बेला बेला चर्चा हुने गरेको छ । गाँजाबाट नेपालमा जुत्ता बनिरहेको छ र ?

अल्लो, हिमपोकका रेसाबाट केही मात्रामा उत्पादन भइरहेका छन् । अहिले ब्राण्डिङ हुने प्रक्रियामा छ । अहिले नै ठूलो मात्रामा उत्पादन भएको देखिँदैन । गाँजाबाट बनेका वस्तुहरु स्याम्पल र गिफ्टको रुपमा बाहिर गएको देखिन्छ ।

– सरकारले दक्षिणकालीमा सबै जुत्ता उत्पादकलाई एकै ठाउँमा राख्ने भनेर एकपटक बजेटमा पनि हालेको थियो । त्यो प्रोजेक्ट कहाँ पुग्यो ?

त्यो औद्योगिक क्षेत्रको विकास भयो भने देशभरका उद्यमीहरुले एकै ठाउँमा व्यवसाय गर्नेछन् । पूर्वाधार निर्माण गर्नसक्ने क्षमता राख्छ । तर, दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्रभित्र एउटा औद्योगीक क्षेत्र विकास गर्ने भनेर निर्णय गरेर ७ र ८ नम्बर वडाभित्र एक हजार रोपनीभन्दा बढी जग्गा बिक्री वितरण गर्ने निर्णय गरेको छ । त्यस क्षेत्रभित्र उद्योगबाहेक अरुलाई जग्गा बेच्न नपाइने निर्णय नगरपालिकाले गरेको हो । त्यसमा ३०० रोपनी जग्गा उद्यमीहरुले खरिद गरिसकेका छन् । बाँकी जग्गा खरिद हुन बाँकी छ ।

जुन जग्गाधनीले बेच्न चाहे उनीहरुको जमिनमात्रै खरिद गरिएको छ । सो क्षेत्रको विकासका लागि बिजुली तथा पूर्वाधार विकासका लागि दुई वर्ष पहिला ५ करोड बजेट नगरपालिकालाई दिइएको थियो । जसमा सडक खन्ने काम भइसकेको छ ।

– नेपालमै जुत्ताचप्पल प्रयोगकर्ता बढाउनुबारे तपाईंहरुको योजना के छ ?

नेपाली व्यवसायीले उत्पादन गरेका नेपाली ब्राण्डका जुत्ताहरु गुणस्तरीय छन् । सस्तो मूल्यका साथै दक्षिण एसियाकै सस्तो मूल्यमा उपलब्ध छन् । अहिले अन्तर्राष्ट्रिय डिजाइनका जुत्ताहरु नेपालमै उत्पाादन हुने गरेका छन् ।

एउटा नेपालीले स्वदेशी उत्पादन लगाएर गर्व गर्ने उत्पादनले स्थान बनाइसकेको छ । अरु वस्तु प्रयोग गर्न नसके पनि प्रत्येक नेपालीले हिँड्दा एक जोर स्वदेशी उत्पादनको जुत्ता नै प्रयोग गर्नुपर्छ, गरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर