सभामुख घिमिरे र अष्ट्रेलियाका समकक्षी मिल्टन डिकबीच भेटवार्ता – Nepal Press

सभामुख घिमिरे र अष्ट्रेलियाका समकक्षी मिल्टन डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले बुधबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।

सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।

नेपाल र अष्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान-प्रदान गर्नुपर्नेमा जोड दिए ।

उनले उच्चस्तरीय भ्रमणले नेपाल र अष्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

अष्ट्रेलियामा संसदीय मैत्री समूह पुनःस्थापना भएकोमा खुशी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई थप गतिशील बनाउन विश्वास व्यक्त गरे ।

उनले युवा राजनीतिज्ञहरूको भ्रमण आदान-प्रदानले दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।

सभामुख घिमिरेले दुई देशबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौतामा यथाशीघ्र हस्ताक्षर हुन सके दुई देशबीचको व्यापार तथा लगानीले थप गति लिने विश्वास व्यक्त गरे ।

उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया महत्वपूर्ण गन्तव्य रहेको बताउँदै सभामुख घिमिरेले नेपाली विद्यार्थीहरुका लागि थप छात्रवृत्ति तथा अध्ययनपछि स्वदेशमै फर्कन प्रेरित गर्न आग्रह गरे ।

अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताए ।

सभामुख डिकले नेपालमा पनि अष्ट्रेलिया हेर्ने गरी संसदीय मैत्री समूह गठन भएकोमा स्वागत गदै कानून निर्माण, बजेट लगायतका नीतिगत विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर