अनमोलको आदत : ‘रावायण’ कै लागि पूजा शर्मासँग पनि १० लाख लिएर फर्काएका थिए – Nepal Press

अनमोलको आदत : ‘रावायण’ कै लागि पूजा शर्मासँग पनि १० लाख लिएर फर्काएका थिए

पूजा भन्छिन्- अर्कोतिर भिड छ भन्दैमा सत्य मर्दैन

काठमाडौं । चलचित्र ‘रावायण’ का निर्माताले दिएको उजुरीमा पक्राउ परेका नायक अनमोल केसी दुई दिन हिरासत बसेपछि छुटेका छन् । तर, यो विषय अझै सेलाइसकेको छैन । अहिले चलचित्रकर्मीहरुबीच अनमोलको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा तर्कवितर्क भइरहेको देखिन्छ ।

आपसी कुराकानीबाट मिलाउनुपर्ने केसलाई प्रहरीमा पुर्याउनु गलत भएकोमा अधिकांश चलचित्रकर्मी सहमत छन् । तर, अनमोलले पनि आफ्नो शैलीमा सुधार गर्नुपर्ने कतिपयको धारणा छ ।

अनमोलले चलचित्रमा काम गर्ने भनेर अग्रीम भुक्तानी लिएपश्चात निर्णयबाट ब्याक भएको यो पहिलोपटक होइन । उनले बढीजसो बुवा भुवन केसीको दबाबमा एड्भान्स लिएर चलचित्र साइन गर्ने गरेका छन् । तर, स्क्रिप्ट चित्त नबुझेर वा सेड्यूल नमिलेर छोड्ने गर्छन् । चलचित्र छोड्ने भएपछि एड्भान्स रकम तत्काल फिर्ता गर्ने गरेका छन् ।

रावायणको केसमा भने उनले एड्भान्स लिए पनि लिखित एग्रिमेन्ट गरिसकेका थिएनन् । त्यसैले उनलाई पैसा फिर्ता गर्न सजिलो भयो । अनमोलले निर्मात्री सुप्रिया कटुवालको बैंक खातामा १० लाख जम्मा गरिदिएका थिए, उनको जानकारी बेगर नै ।

रोचक के भने ‘रावायण’का लागि एड्भान्स लिएर रकम फिर्ता गरेको अनमोलको यो दोस्रोपटक हो । यसअघि नायिका तथा निर्मात्री पूजा शर्मासँग यही चलचित्रमा काम गर्ने भनेर उनले साइनिङ अमाउन्ट १० लाख नै लिएका थिए । अनमोलकी नायिका बन्न पूजा निकै उत्साहित भएकी थिइन् । यो चलचित्रको निर्माण पूजाले र निर्देशन सुदर्शन थापाले गर्ने तयारी थियो । चलचित्रको नाम खुलासा गरिएको थिएन, तर स्क्रिप्ट यही नै थियो ।

अनमोलले चलचित्रको तयारीका लागि केही समय मागेका थिए । तर, उनले बिस्तारै मनस्थिति बदले । यसबीचमा पूजा र सुदर्शनले पटक-पटक भेट्न खोज्दा पनि उनले भेटेनन् । अन्ततः चलचित्र गर्न नसक्ने भन्दै पूजासँग लिएको १० लाख फिर्ता गरिदिए । यस विषयमा पूजा असन्तुष्ट भए पनि सार्वजनिकरुपमा केही बोलेकी छैनन् । अनमोलल पूजासँग आफ्नो अनस्क्रिन केमेस्ट्री नमिल्ने भनेर काम नगर्ने निर्णय गरेको बुझिएको छ ।

अनमोलले नगर्ने भएपछि पुजा पनि मौन बसिन् । त्यसपछि सुदर्शनले यही नामको चलचित्र विकास बोर्डमा दर्ता गरेर निर्माणका लागि अघि सरेका हुन् । पत्नी सुप्रियालाई उनले निर्मात्री बनाएका छन् । आफैंले निर्माण गर्ने भएपछि सुदर्शनले फेरि अनमोललाई नै अफर गरे । मौखिक समझदारी पनि भयो । तर अनमोल फेरि पनि साइनिङ अमाउन्ट लिएर पछि हटे ।

यस विषयमा आज पूजाले सामाजिक सञ्जालमा अनमोलप्रति घुमाउरो असन्तुष्टि पोखेकी छन् । उनले पाथिभारा मन्दीरमा पुगेर सो चलचित्रको स्क्रिप्ट पुजा गरेको तस्विर र भिडिओसमेत राखेर यो क्षण कहिल्यै बिर्सिन नसक्ने बताएकी छन् ।

पूजा लेख्छिन्, ‘अर्कोतिर भिड छ भन्दैमा सत्य मर्दैन, अझै प्रमाणसहित निर्माण पक्ष ठगीएको/धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोली जसलाई पनि पर्न सक्छ । कुराले मात्र होइन, व्यवहारले प्रोड्यूसर बचाऔं । कोही पनि अन्यायमा नपरोस ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *