गतवर्ष अख्तियारले गर्‍यो १८ हजारभन्दा बढी उजुरी फर्छ्यौट (भिडिओ) – Nepal Press

गतवर्ष अख्तियारले गर्‍यो १८ हजारभन्दा बढी उजुरी फर्छ्यौट (भिडिओ)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी उजुरीहरुको फर्छ्यौट गरेको छ ।

आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजार ७९९ वटा उजुरीको स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको बताएको हो । सोमबार आयोगमा पत्रकार भेटघाट गर्दै सो कुराको जानकारी दिइएको हो । आयोगले आफ्नो तेत्तिसौँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । सो प्रतिवेदनका अनुसार आयोगमा आर्थिक वर्ष २०७९/८० मा २० हजार ९०५ उजुरीहरु प्राप्त भएका थिए ।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट ७ हजार १६२ उजुरीहरु जिम्मेवारी सरेर आएका थिए । कारबाही गर्नुपर्ने कुल उजुरीहरु २८ हजार ६७ वटा रहेकोमा त्यसैमध्येबाट १८ हजार ७९९ वटा उजुरीको फस्र्यौट भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार १ हजार १३३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको छ । त्यस्तै, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानूनबमोजिम अन्य कारबाहीका लागि लेखि पठाइएको उनले जानकारी दिए । प्रारम्भिक छानविनको क्रममा रहेका ९ हजार २६८ उजुरी आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएको उनले बताए ।

आयोगले आर्थिक वर्ष २०७९/८० मा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेश भएका कुल ८७८ उजुरीहरु उपर आयोगबाट ९३७ वटा निर्णय भएकोमा १६२ वटा आरोपपत्र दायर गरेको छ । त्यस्तै ६५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा संवद्ध निकायहरुलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको जनाइएको छ ।

विशेष अदालतमा दर्ता भएका १६२ वटा आरोपत्रहरु मध्ये गैरकानूनी लाभ हानीसँग सम्बन्धित ६४ वटा, घुस/रिसवतसँग सम्बन्धित ३२ वटा, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीसँग सम्बन्धित २७ वटा, गैरकानूनी सम्पती आर्जनसम्बन्धी १३ वटा, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ८ वटा, राजस्व चुहावटसम्बन्धी ७ वटा र विविध विषयका ११ वटा रहेको बताएको छ । उल्लेखित आरोपपत्रबाट कुल ७६६ जनालाई प्रतिवादी बनाई एक अर्ब, सतहत्तर करोड, अन्ठाउन्न लाख, छयालिस हजार, चार सय सैँतीस रुपैयाँ मागदाबी लिइएको प्रवक्ता दाहालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *