१० बजे कार्यालय पुगेर १५ मिनेट योग गर्न भ्याइँदैन ? समय व्यवस्थापन कसरी गर्ने यी वडा सचिवलाई सोधौँ – Nepal Press

१० बजे कार्यालय पुगेर १५ मिनेट योग गर्न भ्याइँदैन ? समय व्यवस्थापन कसरी गर्ने यी वडा सचिवलाई सोधौँ

चितवन । गत बुधबार गृह मन्त्रालयले सबै महाशाखालाई सम्बोधन गरेर एउटा निर्देशन जारी गरेको छ । जसमा अधिकृतस्तरका सबै कर्मचारीलाई बिहान सवा १० बजेभित्र कार्यालय पुगेर अनिवार्य रुपमा १५ मिनेट योगाभ्यास गरेर मात्र आफ्नो कार्य जिम्मेवारी थालनी गर्न भनिएको छ ।

योगाभ्यासको निर्देशन सार्वजनिक भएपछि सामाजिक सञ्जालहरुमा कार्यालयमा योग गर्ने नगर्ने भन्नेबारे सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणीहरु आइरहेका छन् । कर्मचारीले कसरी समय व्यवस्थापन गर्न सक्लान् भन्ने प्रश्नहरु पनि आएका छन् । तर चितवनमा एक यस्ता कर्मचारी छन्, जो १० बजे होइन साढे ९ बजे नै कार्यालयमा योगाभ्यास थालनी गर्न पनि तयार हुन्छन् ।

नेपाल सरकारले बिहानको १० बजेदेखि कार्यालय समय सुरु हुने समय तोकेको छ । निजामती सेवा नियमावलीले महिनाको ३ दिनसम्म १५ मिनेट ढिलो गरी कार्यालय पुग्न पाउने सुविधा पनि निजामती कर्मचारीलाई दिएको छ । होइन भने समय पालना नगरेको कारबाही हुन्छ ।

तर, भरतपुर महानगर अन्तर्गतका निजामती कर्मचारी चन्द्रकान्त कोइराला योगाभ्यासलाई समय नपुग्ने चिन्ता छैन । अधिकृतस्तर छैठौँ तहका उनी अहिले भरतपुर १६, का वडासचिव हुन् ।

आज आइतबार ९ बजेर २७ मिनेट जाँदा भरतपुर १६ कार्यालयमा पुगिसकेका कोइराला इलेक्ट्रोनिक हाजिरीको स्वीच अन गर्दै भेटिए । यो उनको एक दिनमा मात्रै काम भने होइन । २४ वर्षदेखि निजामती सेवामा रहेका ४६ वर्षीय कोइराला हरेक दिन साढे ९ हुनुभन्दा अगाडि नै कार्यालय पुगिसक्छन् ।

सामान्यतया कार्यालयहरुमा सबैभन्दा अगाडि पुग्ने कर्मचारी कार्यालय सहयोगी हुन्छन् । तर, उनको कार्यालयमा कार्यालय सहयोगी र वडासचिव लगभग उस्तै समयमा पुग्छन् । कहिलेकाहीँ चाँडो पुग्दा सहयोगी पनि नपुगेको हुने भएकोले उनसँग कार्यालयको तीनवटा चाबी छ ।

‘गेटको, वडाध्यक्षको कार्यालय र मेरो कार्यालयको एउटा चाबी मैले पनि लिएको छु’, उनले भने, ‘कहिलेकाहीँ सहयोगी नआइपुग्दा बाहिर बस्नु नपरोस् भनेर तीन ठाउँको चाबी लिएको हुँ ।’

२०५६ सालमा डोल्पा जिल्ला प्रशासनमा खरिदार पदमा स्थायी नियुक्ति भएर सेवा प्रवेश गरेका उनी जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरका विभिन्न वडा अन्तर्गत रहेर सेवा गरेका छन् ।

तर, सेवा प्रवेशको २४ वर्षमा कुनै आकस्मिक र कार्यालयको काममा नै बाहिर बस्नुपर्ने अवस्थाबाहेक कार्यालय समयभन्दा ढिलो भएका छैनन् । उनको यो समय पालनाको चिनजान र सहकर्मी सबैले प्रशंसा गर्ने गर्छन् ।

२०७४ साल माघ १९ गतेदेखि भरतपुरको वडा नम्बर १४ मा वडा सचिव भएर काम गरेको उनी गत भदौ ६ गतेदेखि वडा नम्बर १६ पुगेका छन् । वडा नम्बर १४ का वडा अध्यक्ष राजेन्द्र साँखी भन्छन्, ‘उहाँबाट समयमा ढिलाइ भएको कहिल्यै अनुभव भएन ।’ अध्यक्ष साँखीले जिल्ला प्रशासन कार्यालयमा कार्यरत हुँदादेखिकै चिनजान भएका कोइराला समय पालनामा निष्ठ भएको बताए ।

कोइरालाले समयको पालनाको लागि बिहानी समयको चुस्त व्यवस्थापन गर्छन् । उनले आफ्ना बिहानी काम सुनाए, ‘बिहान ४ बजे मेरो मोबाइलको घण्टी बज्छ, अनि उठ्छु । बाथरुम जान्छु । घरमा एउटा कुकुर पालेको छु, १५ मिनेट उसलाई घुमाउँछु । त्यसपछि श्रीमतीलाई उठाउँछु । हामी आधा घण्टा हिँड्छौँ । ५ बजे घर फर्किएर ८२ वर्षको आमालाई औषधि खुवाउँछु । फ्रेस भएर साढे ६ बजेतिर चोकतिर निस्किन्छु । साथीहरुसँग समसामयिक विषयमा अपडेट हुन्छु । भान्छामा चाहिने चिजहरु किनेर ल्याउँछु । घर आएर खाना खाइवरी अफिसको लागि निस्किँदा बिहान सवा ९ हुन्छ । साढे ९ किलोमिटरको दुरीमा अफिस छ । मोटरसाइकलमा साढे ९ बजेसम्म आइसक्छु ।’

उनको समयको पालनाको प्रशंसा कार्यालय परिसरमा मात्रै होइन भरतपुर महानगरले नै पनि पहिचान गरेको छ । केही दिनअघि भएको वडा सचिवहरुको तालिममा समय पालनाकर्ताको उत्कृष्ट पुरस्कार नै पाएका थिए ।

भरतपुर १६ का वडाध्यक्ष अमृतराज हमाल समेत कोइरालाको समय पालना र कानूनको समेत पालनाबाट प्रभावित भएका छन् । ‘उहाँ कार्यालय आइपुग्न साढे ९ भन्दा ढिला हुँदैन, समयअघि हिँड्न हतार पनि हुँदैन’, अध्यक्ष हमालले भने, ‘समय मात्रै होइन पञ्जीकरण तथा सेवाग्राहीलाई दिने सेवामा चाहिने कानून पालनामा समेत उहाँ अपडेट हुनुहुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर