भरतपुर अस्पतालमा त्रुटि नै त्रुटि, के भन्छन् मेसु ? – Nepal Press

भरतपुर अस्पतालमा त्रुटि नै त्रुटि, के भन्छन् मेसु ?

चितवन । करिब महिना दिन अघि भरतपुर अस्पतालमा विपन्न नागरिक कोषको बजेट छुट्याइए भन्दा धेरै सुविधा लिने बिरामी आएका भन्दै अस्पताल प्रशासनले एउटा निर्णय सार्वजनिक गर्यो ।

जसमा भनिएको थियो, ‘अब अस्पतालमा विपन्न सेवा लिन चाहनेले फोटोसहितको विवरण सार्वजनिक गर्न तयार भएर आउनुपर्छ ।’ मकवानपुरको एक विपन्न बिरामी महिलाको फोटो नागरिकता नम्बरसहित सार्वजनिक गरिएपछि अस्पताल प्रशासनले आलोचना पनि खेप्नुपर्यो ।

त्यसपछि अस्पताल सुधारको आइडिया लिने र सुधार गर्ने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडलले निबन्ध प्रतियोगिता नै गराए । उनले सुझाब राम्रो भएको भन्दै पुरस्कृत तथा सुझाव सार्वजनिक समेत गरे ।

अस्पतालमा भीड नियन्त्रण, टिकट व्यवस्थापन, कुरुवा टोकन लगायतका केही कामहरु अघि बढाएको सार्वजनिक गर्दै आएको छ । व्यवस्थापकीय काम सार्वजनिक गरिरहँदा अस्पतालले बिरामीको स्वास्थ्यमा भएका गम्भीरखालका त्रुटिहरु सार्वजनिक भइरहेका छन् ।

मंगलबार भरतपुर अस्पतालमा गर्भ जाँच गराउन गएकी भरतपुर १६ कि सावित्री शर्मा पौडेललाई डाक्टरले रगत परीक्षणको लागि लेखिदिए ।

उनले भरतपुर अस्पतालकै ल्याबमा रगत परीक्षण गर्न दिइन् । दिउँसो पौने १ बजे जाँच गर्न दिएको रक्त समूह ओ पोजेटिभ भएको अस्पतालको ल्याबले रिपोर्ट दियो । त्यो रिपोर्ट पाएपछि उनलाई जाँच गर्ने डाक्टरले परिवारका सदस्यको रगत समूहबारे जानकारी लिए ।

तर, यसअघि जाँच गराउँदा आफ्नो रगतको समूह ओ पोजेटिभ नआएको उनले बताइन् । परिवारका सदस्यको पनि उक्त रगत समूह नभएपछि डाक्टरले अरु कुनै ल्याबमा रगत जाँच गरेर आउन सुझाए ।
सोहीअनुसार उनले अस्पताल बाहिरको ल्याबमा गएर सोही दिन पौने ४ बजे रगतको नमुना दिइन् ।

उक्त रिपोर्टमा भने शर्माको रगत समूह ए नेगेटिभ आयो ।

रिपोर्ट देखेर अलमलमा परेका डाक्टर भन्छन्, ‘अस्पतालको ल्याब नै विश्वसनीय भएन । उनको शल्यक्रियाबाट सुत्केरी गराउनुपर्ने अवस्था छ ।’ १६ असोजको लागि डाक्टरले समय दिएका छन् । तर, डाक्टर आफैं अलमलमा छन् कि, कुन समूहको रगत तयारी अवस्थामा राख्न भनौं ! उनले गलत समूहको रगत पर्यो भने महिलाको ज्यानै जोखिममा पर्ने समेत बताए ।

यो मात्रै होइन, भरतपुर २३ की टीकामाया पाठकलाई पनि अस्पतालले ठगेको छ ।

५७ वर्षीया पाठक हाडजोर्नी सम्बन्धी समस्या लिएर असोज ६ गते भरतपुर अस्पताल पुगेकी थिइन् । उनले आफूलाई भएको समस्या अस्पतालको हाडजोर्नी विभागमा देखाइन् ।

त्यसपछि डाक्टरले रगत, एक्सरे लगायतका ६ प्रकार जाँच सहितको लिष्ट दिएर उनलाई ल्याबमा जान लेखिदिए । पाठक स्वास्थ बीमा कार्यक्रममा सहभागी छिन् । भरतपुर अस्पतालमा बीमामार्फत उपचारमा आउन बिरामी धेरै हुने हुनाले लामो लाइन हुने गरेको छ ।

बिहानै अस्पताल आएकी उनले ६ गते दिनभर लगाएर रगत दिएर घर गइन् । रिपोर्ट आउन ढिला हुने भनेपछि पर्सिपल्ट जाँच गराउन गएकी उनलाई ल्याबले रिपोर्ट दिएन । उल्टै नयाँ टिकट काटेर फेरि डाक्टरकोमा जानुपर्यो । पाठककी छोरा विकास पाठक भन्छन्, ‘ममीलाई पहिलो दिनको रिपोर्ट नदिएर अर्को फेरि रगत जाँच गर्न बिल काट्न लगाएछन् ।’

एक दिनको फरकमा अस्पतालले ६ वटा उही जाँच गर्न लगायो । ९ गते १ हजार ९२५ रुपैयाँको बिल तिरेकी उनले उही जाँचको लागि पर्सिपल्ट असोज ८ गते रिपोर्ट थप गरी दुई हजार १५ रुपैयाँको बिल कटाएर पठायो । रगत पनि पुनः लिएपछि उनले आफू ठगिएको थाहा पाइन् ।

आफू ठगिएकोबारे बिरामीहरुले सार्वजनिक रुपमा गरेका पोष्टहरुमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेल अनावश्यक स्टन्ट भन्छन् । उनले आफूलाई समस्या परेपछि तत्काल प्रशासनमा सम्पर्क राख्नुको सट्टा सामाजिक सञ्जालमा राखेर स्टन्ट गर्दै आएका आरोप लगाएए ।

चितवनको भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । अस्पतालमा ६ सय शैय्या रहेको छ । चितवन र यस आसपासका १३ जिल्लाका रेफरल अस्पतालको रुपमा रहेको यस अस्पतालमा दैनिक दुई हजार ५०० जनासम्म बिरामी आउने गरेका अस्पतालको तथ्यांक छ । यद्यपि प्रभावकारी सेवा दिन नसक्दा अस्पताल प्रशासनले बिरममीहरुबाटै आलोचना खेप्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर