कार्यालय सहयोगीलाई जबरजस्ती करणीपछि गर्भपतन गराउने तथ्यांक कार्यालयका हाकिम २५ हजार धरौटीमा छुटे – Nepal Press

कार्यालय सहयोगीलाई जबरजस्ती करणीपछि गर्भपतन गराउने तथ्यांक कार्यालयका हाकिम २५ हजार धरौटीमा छुटे

चितवन । कार्यालय सहयोगीलाई पटक पटक बलात्कार गरेको अभियोग लागेका जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी २५ हजार धरौटीमा रिहा भएका छन् ।

भण्डारीले पटक पटक बलात्कार गरेपछि बसेको गर्भ पतन गर्ने क्रममा अत्यधिक रक्तश्राव भएपछि ज्यानकै जोखिममा परेकी उनले प्रहरीमा भनेको घटना विवरण अदालतमा फेरेपछि त्यही बयानलाई आधार मानेर जिल्ला अदालत चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले मंगलबार भण्डारीलाई २५ हजार रुपैयाँमात्र लिएर धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।

गएको बैशाखदेखि महिनावारी रोकिएकी कार्यालय सहयोगीलाई गत भदौ १२ गते भण्डारीले आफूलाई नचिन्ने मेडिकलमा गएर गर्भपतन गराउन दबाब दिएका थिए । उनले भरतपुर अस्पताल रोडमा रहेको प्रगति पोलिक्लिनिकमा गएर गर्भपतन गराएकी थिइन् ।

तर, अत्यधिक रक्तश्रावपछि उनको गर्भपतन गराउने डाक्टर सुनिल आचार्यले भरतपुर अस्पताल पुर्‍याएका थिए । बिरामीको कुरुवासमेत नभएपछि सोधपुछ गर्दा भरतपुर अस्पतालको एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) मार्फत उनको घटना बाहिर आएको थियो ।

भदौ १५ गते भरतपुर अस्पतालको प्रसूति वार्डमा भेट हुँदा ३५ वर्षकी कार्यालय सहयोगी महिलाले घटनाबारे विस्तारमा कुरा गर्दै नेपाल प्रेससँग भनेकी थिइन्, ‘पटक पटक शारीरिक सम्पर्कको लागि बाध्य बनाए । अरु कसैलाई भनेमा कामबाट निकालिदिने धम्की दिने गर्थे ।’ (उनसँग गरिएको कुराकानी अडियो रेकर्ड समेत सुरक्षित छ।)

यही कुरा बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय चितवनमा बलात्कारको अभियोगमा भण्डारीविरुद्ध उनका भाइले जाहेरी दिएका थिए । प्रहरीले २४ दिनसम्म अनुसन्धान गरेर तयार गरेको मिसिलसहित असोज ८ गते जिल्ला अदालत चितवनमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता भएको थियो ।

तर, सुनुवाइका क्रममा कार्यालय सहयोगीले प्रहरीमा दिएको घटना विवरणभन्दा फरक अहिलेसम्म जबरजस्ती रुपमा भण्डारीले शारीरिक सम्पर्क नगरेको, सहमतिमा पनि सम्पर्क नभएको, गर्भपतन गराउनसमेत नभनेको र आफू उपचाररत रहँदा भाइले थाहै नदिइ जाहेरी दर्ता गरिदिएको बयान दिइन् ।

उनको बयानमा आफ्नो गर्भ भण्डारीसँग नभइ अरु नै व्यक्तिको रहेको र आफूले उक्त व्यक्तिको पहिचान खोल्न नचाहेको समेत उल्लेख गरेकी छन् ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले सोही बयानलाई आधार मानेर भण्डारीलाई २५ हजार रुपैयाँ धरौटी माग गरेर तारेखमा छोड्ने आदेश दिएको जानकारी दिए ।

प्रगति पोलिक्लिनिकलाई अनुसन्धानको दायरामै ल्याइएन

चितवनका अस्पतालहरुमा अनुमतिसमेत नलिइ अवैधानिक गर्भपतन लिने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । तर, अस्पतालहरुको निगरानी र अनुसन्धानमा भने सम्बन्धित निकायले चासो दिने गरेका छैनन् ।

भण्डारीले बलात्कार गरेको आरोप लगाएकी महिलाले पनि भिडियो एक्सरेका क्रममा १६ हप्ताको गर्भ रहेको भनी डाक्टरले भनेको बताएकी थिइन् । प्रहरीलाई दिएको जाहेरी र बयानमा पनि उनले सोही कुरा उल्लेख गरेकी छन् ।

तर, जिल्ला प्रहरी कार्यालय चितवनले प्रगति पोलिक्लिनिकले अवैधानिक गर्भपतन गराउँदा महिलाको ज्यान जोखिममा परेकोबारे अनुसन्धान गरेको छैन । न अभियोगमा सरकारी वकिलको कार्यालयले अवैधानिक गर्भपतनको बारेमा थप अनुसन्धान गर्न लगाएको छ । त्यसबारे मुद्दा मिसिलमा पनि कतै उल्लेख छैन ।

यद्यपि, महिलाको गर्भपतनमा संलग्न डाक्टर सुनिल आचार्यले प्रहरीलाई दिएको बयानमा आफूले १२ हप्ताको गर्भ औषधि खुवाएर पतन गराएको र २० हजार रुपैयाँ शुल्क लिएको उल्लेख गरेका छन् ।

तर, अनुसन्धान मिसिलमा महिलाको गर्भ कति हप्ताको थियो भन्ने भिडियो एक्सरे रिपोर्ट संलग्न गरिएको छैन । गर्भतपन गराउने संस्था प्रगति पोलिक्लिनिक गर्भपतनको लागि सूचीकृत हो, होइन पनि कागजात संलग्न छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर