दुई पटक अवसर गुमाएको भन्दै कोशी कांग्रेसमा चरम असन्तुष्टि, दलको नेता फेर्न कसरत – Nepal Press

दुई पटक अवसर गुमाएको भन्दै कोशी कांग्रेसमा चरम असन्तुष्टि, दलको नेता फेर्न कसरत

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशमा संसदीय दलको नेता फेर्ने कसरत सुरु भएको छ । दुई-दुई पटक मुख्यमन्त्री भएर पनि विश्वासको मत लिन नसकेको तथा संसदीय दलको नेतृत्व गर्न नसकेको भन्दै असन्तुष्ट समूहले दलको नेता फेर्न कसरत थालेका हुन् । अहिले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा उद्धव थापा छन् ।

कोशीमा कांग्रेसका २९ सदस्यमध्ये संसदीय दलको नेताको निर्वाचनमा थापाले १८ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी केदार कार्कीले ९ र अर्का प्रतिस्पर्धी अमृत अर्यालले २ मत पाएका थिए । संसदीय दलको नेता भएपछि उनी गठबन्धनबाट दुई पटक मुख्यमन्त्री बने । तर, सरकार टिकाउन नसकेको भन्दै थापाप्रति आन्तरिक आलोचना बढेको छ । उनी कृष्ण सिटौलानिकट हुन् ।

सिटौलानिकट भए पनि उनले कांग्रेस सभापति शेरबहादुर देउवानिकटका सांसदहरूको साथ पाएका थिए । देउवाका उम्मेदवार अमृतले २ मतमात्रै पाएका थिए । पछिल्लो समय शेखर समूहका सांसदहरूले दलको नेता फेर्नुपर्ने दबाब दिइरहेका छन् । यसमा देउवाकै सांसदको पनि साथ छ ।

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री तथा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले संसदीय दलको नेताले निकास दिनुपर्ने बताए ।

उनले भने, ‘उहाँले संसदीय दलको नेताबाट राजीनामा दिएर निकास दिनु पर्छ । उहाँले नैतिकताको आधारमा दलको नेतामा बसिरहन सुहाउँदैन ।’

थापाले दुई-दुई पटक मुख्यमन्त्री हुँदा पनि विश्वासको मत लिन र सरकार टिकाउन नसकेको कार्कीको आरोप छ ।

उनले नेपाल प्रेससँग भने, ‘यसले पार्टीभित्र र जनमानसमा कांग्रेसप्रति नकारात्मक भाव उत्पन्न भएको छ । दलको नेताले जतिसक्दो चाँडो निकास दिनु पर्छ । दलभित्र कुनै छलफल नगरी एकलौटी ढंगले काम गरिरहनुभएको छ ।’

थापा संसदीय दलको नेता मात्रै नभई प्रदेशको सभापति पनि भएकाले कांग्रेसलाई बलियो बनाउन दलको नेताबाट राजीनामा दिएर पार्टीको गतिविधिमा ध्यान दिनुपर्नेमा उनको जोड छ ।

थापा तत्कालीन सभामुख बाबुराम गौतमलाई समेत हस्ताक्षर गराएर आफ्नो पक्षमा बहुमत पुगेको भन्दै उनी मुख्यमन्त्रीको दाबीका लागि गएका थिए । सर्वोच्चले साउन ११ गते थापाको नियुक्ति बदर गरिदिएको थियो । त्यसपछि सभामुखलाई राजीनामा गराएर थापा पुन: मुख्यमन्त्री बने ।

तर, भदौ ४ गते विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरेका इस्राइल मन्सुरीको भोट प्रयोग गरेपछि उनी पुन: विवादित बने । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको मुद्दाको फैसलाउपर सर्वोच्चले भदौ २१ गते थापालाई पदमुक्त गरी कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो ।

‘यी दुवै घटनामा संसदीय दलभित्र छलफल भएन । माथिको निर्णय भन्दै दलको नेताले सभाध्यक्षलाई मत हाल्न लगाउने निर्णय भएको सुनाउनुभएको थियो । यस्तो अपरिपक्क निर्णय कसको थियो अहिलेसम्म हामीलाई थाहा छैन । यस्तो अपरिपक्क निर्णय गर्न कसले सुझाएको हो ? दललाई जानकारी गराउन पर्दैन ? यस्तो केटाकेटी पाराले संसदीय दल अगाडि बढ्न सक्दैन’, कार्की भन्छन् ।

बहुमतका लागि सभामुखलाई हस्ताक्षर गराउँदा पनि दलभित्र छलफल नभएको कार्कीले बताएका छन् । कांग्रेसकै अर्का सांसद अमृत अर्याल सर्वोच्चले २ पटकसम्म मुख्यमन्त्रीको नियुक्ति बदर गर्नुले कांग्रेसको साख गिरेको बताउँछन् ।

‘कांग्रेस संविधान र लोकतन्त्रको रक्षा गर्ने पार्टी हो । यी पार्टीले २-२ पटक संविधान मिच्दा देशैभर कांग्रेसको बारेमा राम्रो सन्देश गएन । यी दुवै निर्णय हुँदा संसदीय दलको बैठकमा कुरा भएन । सभाको अध्यक्ष गर्नेलाई मतदान गराउने विषयमा मैले असहमति जनाएको थिएँ’, अर्याल सुनाउँछन् ।

अर्यालले सभाका अध्यक्षलाई मत हाल्न लगाउने विषयमा सत्ता गठबन्धनको बैठकमा भएको प्रसङ्ग सुनाउँदै भने, ‘माथिबाटै निर्णय भएर आएको हो भने कांग्रेसको हिमायती भएका कारणले भोट त हाल्छु तर सुझाव दिनका लागि बोलाइएको हो भने सभा अध्यक्षले मत हाल्नु संवैधानिक होइन भनेर भनेको थिएँ ।’

अर्यालले दलको नेता फेर्ने विषयमा बैठकमा कुरा गर्ने बताए ।

‘अहिलेसम्म संसदीय दलको नेता उद्धवजी नै हो । भोलि को हुन्छ र के हुन्छ दलको बैठकले टुङ्गो लगाउँछ’, उनले भने ।

थापानिकट प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले दलको नेता फेर्ने विषयमा कुरा नभएको बताए । बाहिर आएका कुराले अर्थ नराख्ने उनको प्रष्टोक्ति छ ।

संसदीय दलका नेता उद्धव थापाले भने सभामुखलाई हस्ताक्षर गराएर बहुमत सिद्ध गर्ने सभाअध्यक्षलाई मतदाता गर्न लगाउने निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको भएको बताउँदै आएका छन् । उनले माथिको निर्णय भएको भन्दै दुवै पटक आफ्नो दोष नभएको स्पष्टीकरण दिइरहेका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीको शपथका बेला पत्रकारसँग कुरा गर्दै उनले दुई-दुई पटक मुख्यमन्त्रीको नियुक्ति खारेजी हुँदा समेत आफूलाई कुनै पछुतो नभएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर