मधेशका ३६ वटा पालिकाले अझै ल्याउन सकेन बजेट, कतै मेयर-उपमेयरको टकराव, कतै अधिकृतको बदमासी – Nepal Press

मधेशका ३६ वटा पालिकाले अझै ल्याउन सकेन बजेट, कतै मेयर-उपमेयरको टकराव, कतै अधिकृतको बदमासी

जनकपुरधाम । असार दोस्रो साताभित्र स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने कानूनी व्यवस्था छ । तर, मधेश प्रदेशका ३६ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । समयमा बजेट नआउँदा दैनिक कार्यालय सञ्चालनमा समस्या देखिएको छ ।

बजेट नल्याउनेमा सप्तरीका सात, सिरहाका चार, धनुषाका चार, महोत्तरीको एक, सर्लाहीका चार, रौतहटका आठ, बाराका दुई र पर्साका ६ पालिका छन् । वार्षिक बजेट नल्याउने पालिकाहरुमा विकास निर्माणका काम ठप्प छन् । कर्मचारीहरुले तलब पाएका छैनन् ।

भदौ दोस्रो सातासम्म पनि बजेट ल्याउन नसक्नुनको मुख्य कारण गाउँ तथा नगरसभामा राजनीतिक दलबीचको किचलो तथा प्रमुख र उपप्रमुखबीचको मनमुटाव देखिन्छ ।

धनुषाको मिथिला नगरपालिकामा जनप्रतिनिधिको टकरावले बजेट ल्याइए पनि कार्यान्वयनमा आउन सकेको छैन । यहाँका मेयर महेन्द्र महतो र उपमेयर सुनितासिंह बुढाथोकीबीच मनमुटाव छ ।

मेयर महतो नेपाली कांग्रेस र उपमेयर बुढाथोकी नेकपा एमालेबाट निर्वाचित छन् । उनीहरुबीच बोलचालसमेत छैन ।

मेयर महतोले साउन १७ मा बहुमत सदस्यको हस्ताक्षरबाट बजेट पारित गरे । तर, उपमेयरले बजेट कार्यान्वयन नगर्न साउन १८ मै उच्च अदालत जनकपुरमा मुद्दा दिइन् । अदालतबाट स्टेअर्डर जारी भएपछि बजेट कार्यान्वयन नभएको नपाका एक कर्मचारीले बताए ।

बाराको सिम्रौनगढ नगरपालिकामा पनि मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा रहेकाले नगरसभा हसन सकेको छैन । उपमेयर नजमु शेहरले बजेट ल्याउन कुरा मिलाइरहेको बताइन् । उनले भनिन्, ‘अब कुरा मिलिसक्यो । छिट्टै बजेट ल्याउँछौं ।’

कतिपय पालिकामा प्रमुख प्रशासकिय अधिकृत नभएकाले पनि बजेट ल्याउन सकस छ । प्रमुख प्रशासकीय अधिकृत रहेको र विनाजानकारी लामो समयदेखि अनुपस्थित रहेकाले धेरै पालिकाले बजेट ल्याउन सकेका छैनन् ।

धनुषाको कमला नगरपालिकाले पनि लामो समय अधिकृत अनुपस्थित हुँदा बजेट ल्याउन सकेको छैन । कमलाका अधिकृत ओमप्रकाश महतो विगत डेढ महिनादेखि कार्यालयमा अनुपस्थित छन् ।

कमलाका मेयर विशेश्वर यादव भन्छन्, ‘असार मसान्तको अन्तिममै अधिकृत काठमाडौं लाग्नुभयो । बीचमा एक पटक आउनुभयो । तर, दुई दिनमै फेरि हिँड्नुभो । दुई दिनअगाडि मात्रै उहाँ आउनुभएको छ । उहाँकै कारण बजेट ल्याउन सकेको छैन ।’

असार १० गते नै नीति तथा कार्यक्रमको उद्घाटनसत्र गरेको तर त्यतिबेला वडाध्यक्षहरुले असार मसान्तपछि गर्ने भन्दा अहिलेसम्म बजेट ल्याउन नसकिएको उनले बताए । मेयर यादवले अधिकृत आएलगत्तै बोर्ड बैठक राख्न भनेको र अब छिट्टै बजेट ल्याउने बताए ।

सप्तरीको राजविराज नगरपालिकाको हालत पनि कमला जस्तै छ । मेयर भीमराज यादव भ्रष्टाचार मुद्दामा ठोषी ठहर भएपछि निलम्बनमा परेका छन् । अहिले उपमेयर इसरत परविनले नगरपालिकाको नेतृत्व सम्हालेकी छन् ।

उपमेयर परविनले हाकिम असारमै काठमाडौं गएको र पछि उनको सरुवा भए पनि नयाँ हाकिम नआउँदा बजेट ल्याउन नसकेको बताउँछिन् । उनले भनिन्, ‘असार २४ मै हाकिम काठमाडौं जानुभयो । हामीलाई जानकारी पनि दिनुभएन । सम्पर्क गर्दा आउने भने पनि चीन भ्रमणमा जानुभयो ।’

अधिकृतको कारणले असारमै काम सम्पन्न गरेका धेरै उपभोक्ताले निकासा नपाएको र अहिले आफू तनावमा परेको उपमेयर परविनले सुनाइन् । अधिकृतले मनपरी गर्दा पनि सरकारले कारबाही नगर्दा ठूलो समस्याको सामाना गर्नुपरेको उनको गुनासो छ ।

आँखा पाक्ने रोगका कारण सिरहाको कल्याणपुर नगरपालिकाले बजेट ल्याउन सकेन । कल्याणपुरका मेयर रामपुकार साह भन्छन्, ‘आँखा पाकेपछि मलाई सञ्चो भएन । वडाध्यक्षका परिवारका सदस्यहरुको पनि आँखा पाक्यो । कर्मचारीले पनि सहयोग गरेन । त्यसैले अहिलेसम्म बजेट ल्याउन सकेनौं ।’

बजेट समयमै ल्याउनुपर्ने भए पनि समस्या भएको भन्दै उनले भदौभित्रै बजेट ल्याउने तयारी गरेको बताए । जनप्रतिनिधिहरुबीच विवाद नरहेकाले बजेट छिट्टै ल्याउने उनको दाबी छ ।

बजेट पेश नभएका पालिकाहरुः

१) कञ्चनरुप नगरपालिका, सप्तरी
२) राजविराज नगरपालिका, सप्तरी
३) हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी
४) छिन्नमस्ता गाउँपालिका, सप्तरी
५) महादेवा गाउँपालिका, सप्तरी
६) रुपनी गाउँपालिका, सप्तरी
७) बलान बिहुल गाउँपालिका, सप्तरी
८) कल्याणपुर नगरपालिका, सिरहा
९) औरही गाउँपालिका, सिरहा
१०) नवराजपुर गाउँपालिका, सिरहा
११) भगवानपुर गाउँपालिका, सिरहा
१२) मिथिला नगरपालिका, धनुषा
१३) औरही गाउँपालिका, धनुषा
१४) कमला नगरपालिका, धनुषा
१५) धनौजी गाउँपालिका, धनुषा
१६) सोनमा गाउँपालिका, महोत्तरी
१७) बलरा गाउँपालिका, सर्लाही
१८) हरिवन नगरपालिका, सर्लाही
१९) हरिपूर्वा नगरपालिका, सर्लाही
२०) चन्द्रनगर गाउँपालिका, सर्लाही
२१) गरुडा नगरपालिका, रौतहट
२२) कटहरी नगरपालिका, रौतहट
२३) गढीमाई नगरपालिका, रौतहट
२४) देवाही गोनाही नगरपालिका, रौतहट
२५) फतुवा विजयपुर नगरपालिका, रौतहट
२६) माधवनारायण नगरपालिका, रौतहट
२७) मौलापुर नगरपालिका, रौतहत
२८) यमुनामाई गाउँपालिका, रौतहट
२९) सिम्रौनगढ नगरपालिका, बारा
३०) आदर्श कोतवाल गाउँपालिका, बारा
३१) धोबनी गाउँपालिका, पर्सा
३२) पकाहा मैनपुर गाउँपालिका, पर्सा
३३) पर्सागढी नगरपालिका, पर्सा
३४) बिन्दवासिनी गाउँपालिका, पर्सा
३५) सखुवा प्रसौनी गाउँपालिका, पर्सा
३६) जिराभवानी गाउँपालिका, पर्सा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *