प्रधानमन्त्री प्रचण्डले भने झैं नागढुंगा-नौबीसे सुरुङ मार्ग निर्माण गर्दा स्थानीय समस्यामा परेकै हुन् ? – Nepal Press

प्रधानमन्त्री प्रचण्डले भने झैं नागढुंगा-नौबीसे सुरुङ मार्ग निर्माण गर्दा स्थानीय समस्यामा परेकै हुन् ?

काठमाडौं । जनतासँग माओवादी अभियानको पहिलो कार्यक्रममा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो चन्द्रागिरी नगरपालिकाको २ नम्बर वडामा पुगे । हरेक नेता एउटा वडामा जानुपर्ने निर्णयअनुसार शनिबार प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरी नगरपालिका २ को कार्यक्रममा सहभागी भएका थिए । उनी बोल्दाबोल्दै नागढुंगा-नौबीसे सुरुङ मार्गका आयोजना प्रमुख नवीनमान श्रेष्ठसँग मोबाइलमा कुरा गरे ।

कार्यक्रममा प्रधानमन्त्रीलाई जनार्दन शर्माले आयोजना प्रमुख श्रेष्ठ फोनमा छन् भन्दै दिएपछि प्रचण्डले आफू चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा आएको र यहाँका जनताले सुरुङ मार्गबाट पीडित भएको गुनासो गरेको भन्दै एक साताभित्र समस्या समाधानको उपायसहित आफूलाई रिपोर्ट दिन निर्देशन दिएका थिए ।

प्रचण्डले वडा नम्बर २ सुरुङ मार्गबाट सबैभन्दा धेरै प्रभावित रहेको र सुरुङ खन्दाको आवाजले घरहरु चर्किएको बताएका थिए ।

आयोजना प्रमुख श्रेष्ठले नागढुंगा-नौबीसे सुरुङ मार्ग निर्माणका क्रममा चर्केको घरको तथ्यांक पुनः संकलनको काम सुरु भएको बताए ।

उनले नेपालप्रेससँग भने, ‘हामीले पहिले पनि चर्केका घरहरु मर्मत गरेका थियौं । हिजो प्रधानमन्त्रीले फोन गरेर ७ दिनभित्र सुझावसहितको प्रतिवेदन लिएर आउनु भन्नुभएको छ । त्यसैअनुसार सुरुङ मार्ग निर्माण गर्दा चर्केका र क्षति पुगेका घरहरुको विवरण संकलन गर्ने कार्य सुरु भइसकेको छ । ६५ वटा घर पुराना नै थिए । भने अन्य कति घर चर्केको छ ? हामी हेरेर प्रतिवेदन बनाएर प्रधानमन्त्रीलाई बुझाउँछौं । चन्द्रागिरी नगरपालिकाको १ र २ नम्बर वडामा पानीका मुहान सुकेको कारणले करोडौं खर्च गरेर ट्ंयाकरबाट पानी ल्याएर वितरण गरिरहेका छौं ।’

धेरै खर्च गरेर २ पटक बोरिङ गर्दा पनि पानी नआएपछि ट्ंयाकरबाट पानी ल्याएर वितरण गरेको श्रेष्ठले बताए ।

साउन २२ गते नागढुंगा-नौबीसे सुरुङ मार्गको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’ भएको थियो । केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा उक्त सुरुङ मार्गको शिलान्यास गरेका थिए ।

शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरु भएको थियो । तर, कोरोना, लकडाउन र मुआब्जालगायतका अवरोधले सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको छ ।

सुरुङ मार्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने आयोजनाले जनाएको छ । आयोजनाले जग्गा अधिग्रहणबापत साढे ५ अर्ब रूपैयाँ मुआब्जा वितरण गरिसकेको छ । सुरुङ मार्ग ‘सुरुङ र सडक गरी कुल ५.१३ किलोमिटर लामो तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जाने बताइएको छ । यस मार्गमा सुरुङको कुल लम्बाइ २.६८८ किमि र सडकको लम्बाइ २.४५ किमि हुनेछ ।

निर्माण सम्झौताअनुसार सुरुङ मार्ग प्रवेश गर्न त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनीबेसीको सिस्नेखोलाबाट ५६५ मिटर पक्की सडकसमेत बनाउनुपर्ने छ ।

सुरुङमार्ग बनेपछि नौबीसे-थानकोटको झण्डै ८ किलोमिटर लम्बाइसँगै झण्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा गरिएको छ । कुल २२ अर्ब रूपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबीसे सुरुङमार्गको निर्माण ठेक्का लिएको हो ।

सरुङ निर्माणमा जापान सरकारको करिब १६ अर्ब रूपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानी रहेको छ । धादिङको धुनीबेंसी नगरपालिकाको सिस्ने खोलाबाट सुरू हुने सुरुङ मार्ग काठमाडौंको चन्द्रागिरी नगरपालिका बलम्बुमा अन्त्य हुनेछ ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्डले भने झैं नागढुंगा-नौबीसे सुरुङ मार्ग निर्माण गर्दा स्थानीय समस्यामा परेकै हुन् ?

  1. प्रचन्डको यो एउटा नाटक हो !!
    कुनै पनि आयोजनाका राम्रा नराम्रा २ पक्ष हुन्छन सरकारले सम्बोधन गर्छ, एउटा राष्ट्रिय गौरबको आयोजनाको बिषयमा यत्ती उम्लिनु र यसलाई उछाल्नु किन पर्‍यो !?
    प्रचन्डको यो अभियान मुख्यत जनमानसमा अर्को प्रकारको भ्रम, गुमराह र दुबिधा बित्रिश्णा जगाउने कर्म हो !! आफुले यो यो गरें भनेर देखाउने केही छैन अनी पहिले भएका मुख्यत ओली सरकारले गरेका कामलाई कसरी हुन्छ नराम्रो देखाएर ‘हिरो’ पल्टिने एउटा चतुरे दाउपेच, ‘छट्टु स्याल’ को अर्को रुप !! सजग होउ जनता ‘mcc’ को मतियार, ‘नागरिकता ब्यापारी’ द्वन्द उध्योगी ‘प्रचन्ड’ को भ्रमको जालोमा नफस !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर